बढी मोबाइल चलाउनेलाई मोटोपनको खतरा

पछिल्लो समय मोटोपनबाट पीडित मानिसको संख्या विश्वभर बढ्दै गएको विभिन्न अध्ययनले देखाएका छन् । मोटोपन रोग नै नभए पनि यो विभिन्न रोगको कारण बन्ने सक्ने चिकित्सकहरू बताउँछन् । त्यसैले शरीरको तौल वा मोटोपन बढ्नु मानिसका लागि टाउको दुखाइ हुने गरेको छ ।

मोटोपन मानिसको जीवनशैलीसँग सम्बन्धित समस्या हो । यसका धरै कारणमध्ये मोबाइलको अत्यधिक प्रयोग पनि हुन सक्ने पाइएको छ । दिनभर ५ घण्टा मोबाइल प्रयोग गर्दा मोटोपन बढ्ने सम्भावना ४३ प्रतिशतसम्म बढ्न सक्ने क्यालिफोर्नियाको सिमोन बोलिभोर युनिभर्सिटीको अध्ययनले देखाएको हो । मोबाइलमा व्यस्त रहँदा शारीरिक गतिविधि नहुनु र धेरै खानेकुरा खाइनु यसको मुख्य कारण भएको अध्ययनमा उल्लेख छ ।

उक्त अध्ययनमा १ हजार विद्यार्थी सामेल थिए । २०१८ को जुन महीनादेखि डिसेम्बरसम्म यो अध्ययन गरिएको थियो । यसअनुसार मोबाइल अत्यधिक प्रयोग गर्ने विद्यार्थी पेय पदार्थ, फस्ट फुडलगायत खाना खान्छन् । साथै अभ्यास कम गर्छन् । ‘यसले मानिसको ‘मेटाबोलिज्म’ सुस्त हुनुका साथै अनिद्राको समस्या बढाउँछ,’ अध्ययनमा भनिएको छ, ‘जसले स्वाभाविक रूपमा तौल बढ्न थाल्छ ।’

शोधकर्ता तथा हृदयरोग विशेषज्ञ प्रोफेसर मिरेरी मेन्टिला–मोरोनका अनुसार मानिसको हातमा मोबाइल भइरहनुले उनीहरूको स्वास्थ्य बिगार्ने संकेत गर्छ । यस्तै लगातार मोटोपन बढ्दा मुटुको रोग लाग्न सक्छ । अध्ययनमा पाइएअनुसार २५ प्रतिशत विद्यार्थी धेरै तौलका थिए, जो प्रतिदिन ५ घण्टाभन्दा बढी समय मोबाइल चलाउँथे ।

टेक्सासका राइस युनिभर्सिटीका अनुसार फोनको अत्यधिक प्रयोग गर्ने मानिसलाई फास्ट फुड दिने हो भने उनीहरूमा आफूमाथिको नियन्त्रण कम हुन्छ । यसअघि सन् २०१६ हार्वर्ड चेन स्कुलको अध्ययनले पनि मोबाइलमा धेरै समय बिताउँदा मोटोपन बढ्ने तथ्य सार्वजनिक गरेको थियो । एजेन्सी





error: Content is protected !!