डोल्पालीलाई सडक नाँसो सुम्पिएर फर्कीयो सेना

हेमन्त केसी
जाजरकोट ,  ११८ किलोमिटर सडकको ट्याक खोलेर लक्ष्य पुरा भएको भन्दै डोल्पाबाट सेना फर्कीन सुरु गरेको छ ।
करिव १५ वर्ष सडक निर्माणमा खटिएको सेनाले लक्ष्य पुरा भएको भन्दै फर्कन सुरु गरेको हो । सेनाले सडक अव हस्तान्तरण गर्न लागेको निर्माण कार्यदलका प्रमुख विश्ववन्धु पहाडीले बताउनुभयो ।
सल्यानको सल्लीवजार बाट जाजरकोट सम्म सेनाले निर्माण गरेको बाटोमा पिच समेत भईसकेको छ । बाँकी जाजरकोटको पासागाडदेखि दुनैसम्मको ११८ किलोमिटर सडक आयोजना सफलतापूर्वक निर्माण पूरा गरेर आयोजना नै विभागलाई हस्तान्तरण गर्न लागिएको सडक निर्माण कार्यदल प्रमुख कर्णेल विश्वबन्धु पहाडीले जानकारी दिनुभयो ।
तत्कालीन विषम परिस्थिति र भौगोलिक विकटता भए पनि सरकारले सेनालाइ दिएको जिम्मेवारी पूरा गर्दै डोल्पालीको भाग्यरेखाका रुपमा रहेको उक्त सडक आयोजना पूरा गरी विभागलाई हस्तान्तरण गर्न लागिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो , “सडक निर्माणको क्रममा थुपै्र चुनौती व्यहो¥यौँ, विकासको मुख्य पूर्वाधारको रुपमा रहेको सडक निर्माणमा दिनरात खटिँदै ज्यान हत्केलामा राखेर सरकारले सेनालाई दिएको जिम्मेवारी पूरा गरेको छ ।’
डोल्पालाई राष्ट्रिय सडक सञ्जालमा जोड्दै नेपाल, चीन र भारत जोड्ने त्रिदेशीय व्यापारिक नाकाका रुपमा विकास गर्न यो सडकको निर्माण थालनी गरिएको हो । रणनीतिक महत्व बोकेको सो सडक २०६५ सालमा जाजरकोटको पासागाडदेखि निर्माण शुरु गरेर डोल्पा सदरमुकाम दुनैसम्म सडक जोड्नका लागि काम थालनी गरिएको थियो । शुरुको दुई वर्ष रेखाङ्ककन विवादका कारण निर्माण अवरुद्ध भएको थियो । रेखाङ्कन पुनःनिर्धारण भएपछि २०६६ सालदेखि निर्माणले तीव्रता पाएको थियो ।
‘डोल्पालीले सडक पुग्ला भनेर कल्पनासमेत गरेका थिएनन् तर सेनाले जिम्मा लिएर निर्माण कार्य पूरा गरेपछि दुनैसम्म नै जीप, ट्रयाक्टरलगायतका सवारी साधनहरु गुड्न थालेका छन्’, प्रदेशसभा सदस्य बीरबहादुर शाहीले भन्नुभयो ।

‘नेपाली सेनाले जिम्मा नलिएको भए डोल्पासम्म मोटर पुग्ने सम्भावना नै थिएन, सडक पुगेपछि बजार भाउ सस्तिएर सर्वसाधारणलाई राहत मिलेको छ’, उहाँले थप्नुभयो । जाजरकोट ,डोल्पा सडक आयोजनाको दुनैसम्मको ट्रयाक खोल्ने कार्य पूरा गरेर गत मंसिर ४ गते त्रिपुरासुन्दरी नगरपालिका १ मा पर्ने त्रिपुराकोट अर्निचौरमा सडक उद्घाटन गरिएको थियो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलद्वारा प्रधानसेनापति पूर्णचन्द्र थापा र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको उपस्थितिमा यातायात सञ्चालनमा ल्याएर सडकको उद्घाटन गरिएको थियो ।
एक दर्जन पुल आवश्यक
जाजरकोट–डोल्पा सडकको ट्रयाक खुलाउने काम सम्पन्न भए पनि पुल निर्माणको अभावमा खण्ड–खण्डमा यातायात सञ्चालन भइरहेको छ । जाजरकोट–डोल्पा सडकअन्तर्गत पर्ने राडीज्युला, तल्नुबगर, हरियापानी, सुँपानी, छलगाड, चुँगाड, रुपगाड लगायत एक दर्जन ठाउँमा पक्की मोटरेवल पुल निर्माण गर्न आवाश्यक छ । रकुम–जाजरकोट–डोल्पामा पर्ने उक्त स्थानमा चार झोलङ्गे पुल रहेका छन् ।
भेरी नदीमा मात्रै आवाश्यक छ पक्की पुलमध्ये रिम्ना र चिसापानीमा पुल निर्माण भइसकेकाले राडिज्युला, तल्लु, हरियापानी र सुँपानीमा चार पुल निर्माण गर्न अझै बाँकी छ । सडकलाई बीचमा पर्ने सानाठुला नदीले टुक्राइदिएकाले ठाउँठाउँमा गाडी परिवर्तन गरेर यात्रा गर्नुर्ने बाध्यता कायमै छ ।
सडकको स्तरउन्नती गर्न माग
पहिलो चरणको ट्रयाक खुलाउने काम सेनाले सम्पन्न गरिसकेकाले सडकको स्तरउन्नतीकालागि डोल्पालीले सरकारसँग माग गरेका छन् । दोस्रो चरणमा कार्यअन्तर्गत पक्की पुल र कालोपत्रेका लागि आवश्यक बजेट व्यवस्थापन गरी काम थालनी गर्न सरकारसमक्ष डोल्पालीको माग छ ।
आयोजनाको पुल निर्माणलगायत कालोपत्रेसमेतको स्तरोन्नति कार्य तत्कालै थालनी गर्न सहजता होस् भनेर नै सेना फर्कन सुरु गरेको छ । सरकारले दिएको जिम्मेवारी सेनाले पुरा गरेको पहाडीले बताउनुभयो । अहिले डोल्पामा रहेका सेनाका अस्थायी क्याम्पहरु सडक निर्माण कार्य सकिएपछि फिर्ता गर्ने कार्य सुरु भएको छ ।
सरकारको लक्ष्य तिव्वत जोड्ने
दुनै सम्म सडकको ट्याक ओल्ने काम पुरा भएकाले उपल्लो डोल्पा धो, तिन्जे हुँदै तिब्बती नाका मोरिम जोड्ने सडकखण्ड निर्माणको जिम्मा पनि नेपाली सेनालाई दिइएमा छिटो सडक जोडिने डोल्पालीको विश्वास छ । सेनालाई सडक निर्माणको जिम्म दिएमा काम छिटो हुँने कुरामा डोल्पाली विश्वस्त रहेको डोल्पा ठुलिभेरी नगरपालिका जुफालका बालकृष्ण डागीले बताउनुभयो ।
विगतमा छिञ्चु–जाजरकोट सडकखण्डको ट्रयाक खोल्ने कार्य सेनाले पूरा गरेसँगै विश्व बैंकको सहयोगमा सरकारले सो सडकमा पुल निर्माण र कालोपत्र गर्ने कार्य सम्पन्न गरेको थियो । सोहीअनुसार नै जाजरकोट–डोल्पा सडकको पुल निर्माण र कालोपत्रे गर्ने काममा आवश्यक बजेट व्यवस्थापनमा ध्यान पु¥याइनुपर्ने माग गरिएको छ ।  अव उपल्लो डोल्पामा सडक निर्माणका लागि पहल जारी रहेको पुर्व शान्ति मन्त्री तथा प्रतिनिधीसभा सदस्य सत्य पहाडीले बताउनुभयो ।
पहाडीकै नेतृत्वमा तत्कालीन सशस्त्र द्वन्द्वका समयमा सल्ली बजारमा प्रथम पटक निर्माण आधार खडा गरेर अगाडि बढ्दै सेना छिञ्चु–जाजरकोट र सल्ली बजार–चौरजहारी सडकको निर्माण पूरा गर्न सफल भएको थियो । कर्णाली प्रदेशको हुम्लामा पनि अहिले सेनाद्धारा नै काम भईरहेको छ ।





error: Content is protected !!