बच्चाको मिर्गौलामा हुने क्यान्सर ? कसरी थाहा पाउने ?

डा विष्णुरथ गिरी
बच्चामा हुने क्यान्सरमध्ये मिर्गौलाको विल्म्स ट्युमर तेस्रो नम्बरमा पर्छ। मिर्गौलामा हुने क्यान्सरमध्ये विल्म्स ट्युमर सबैभन्दा धेरैलाई हुनेगर्छ। सामान्यतः यो एउटा मिर्गौलाबाट सुरु हुन्छ। यदि बेलैमा यसलाई उपचार गरिएन भने ट्युमर फैलिएर मिर्गौला वरिपरिका अंग र कलेजो तथा फोक्सोसम्म फैलनसक्छ।

यो क्यान्सर पाँचौं स्टेजसम्म फैलिन्छ। दुवै मिर्गौलामा एकैसाथ सुरु भएमा यसलाई पाँचौं स्टेज मानिन्छ। प्रायः अस्पतालमा तीन र चार स्टेजका बिरामी आउने गर्छन्। कुनैकुनै बच्चामा दुई वटै मिर्गौलामा ट्युमर भएको पनि पाइन्छ।
बेलैमा उपचार गरियो भने ट्युमर सुक्दै जान्छ र फैलन पाउँदैन। ९० देखि ९५ प्रतिशत बच्चामा यो क्यान्सर निको पार्न सकिन्छ।

कसरी थाहा पाउने
प्रायःजसो आमाले बच्चालाई तेल लगाउने बेलामा बच्चाको पेटमा डल्लो भएको थाहा पाएपछि अस्पतालमा ल्याउने गर्छन्। अन्य लक्षणमा तौल घट्दै जाने, पेटमा डल्लो आउने, कसैकसैको पिसाबमा रगत देखिने गर्छ। मिर्गौलामा ट्युमर भएपछि अन्य अंगहरुमा नफैलिँदै अस्पताल ल्याउन सकियो भने क्यान्सर निको बनाउन सकिन्छ।

६ महिनाका भन्दा साना बच्चालाई सुरुमा अप्रेसन गरेर ट्युमर झिकिसकेपछि मात्र केमो दिइन्छ। ६ महिना उमेरभन्दा ठूला बच्चालाई सुरुमा केमो दिएर टुयुमर केही सुकाएपछि मात्र अप्रेसन गरेर ट्युमर झिक्ने गरिन्छ।

उपचार विधि
विल्म्स ट्युमर भएका बिरामीलाई पहिला केमो चलाएर शल्यक्रिया गर्दा प्रभावकारी देखिन्छ। कुनैकुनै बिरामीलाई रेडिएसन पनि दिनुपर्छ।

के कारणले हुन्छ
अहिलेसम्म के कारणले हुन्छ भन्ने थाहा नभए पनि शिशु गर्भमा भएको बेला मिर्गौला बन्ने क्रममा मिर्गौलाको विकसित हुँदै गरेको अपरिपक्क टिस्यूका केही पोकाहरु छुट्न सक्छन् र तिनीहरु पछि ट्युमरमा परिणत हुनसक्छन् भन्ने सिद्धान्त छ। सबै क्यान्सरहरुको जडमा डिएनएमा हुने खराबीलाई प्रमुख कारण मानिएको छ।

गर्भावस्थामा छँदा एक्सरेको एक्सपोजले पनि यस्तो गराउनसक्छ। विल्म्स ट्युमर केही जन्मजात सिन्ड्रोमहरू सँगसँगै पनि देखिन्छ। तर यो वशांणुगत चाहिँ हुँदैन।

डा गिरी बाल क्यान्सर रोग विशेषज्ञ हुन् ।





error: Content is protected !!