आफ्नो कारण ३८ मिनेट उडान ढिलो हुँदा मेक्सिकोकी मन्त्रीको राजीनामा

आफ्नो उडानका कारण अन्य उडानमा ढिलाइ भएपछि मेक्सिकोकी वातावरणमन्त्री जोसेफा गोन्जालेजले राजीनामा दिएकी छिन् । अन्य यात्री र विमानचालकहरूसँग माफी माग्दै उनले गत शनिबार राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेस ओब्राडोरसमक्ष राजीनामा दिएकी हुन् । ‘जनतालाई दुःख दिने यस्तो विशेषाधिकार कसैले पनि पाउनुहुन्न, एकजना व्यक्तिको सुविधाका लागि सर्वसाधारण जनता समस्यामा पार्नुहुन्न,’ राष्ट्रपति कार्यालयमा बुझाएको राजीनामापत्रमा जोसेफाले लेखेकी छिन्, ‘तर मेरो कारणले ३८ मिनेट जहाज ढिला भयो, यो गल्ती अक्षम्य छ, त्यसैले म राजीनामा दिन चाहन्छु ।’
गत शुक्रबार सरकारी कामका लागि मेक्सिकोबाट मेक्षिकालीसम्मको यात्रामा जोसेफाका कारण अन्य व्यावसायिक जहाजको उडान ३८ मिनेट ढिला भएपछि जनस्तरबाट व्यापक आलोचना भएको थियो । जोसेफाले बुझाएको राजीनामा राष्ट्रपति ओब्राडोरले स्वीकृत गरिसकेका छन् । राजीनामापत्रमा जोसेफाले राजीनामाको कारण स्पष्ट खुलाउँदै गल्ती स्वीकार गरेको राष्ट्रपति आन्ड्रेसले बताएका छन् ।
मेक्सिकोमा पनि वामपन्थी सरकार छ । मेक्सिकनसिटीका पूर्वमेयर ओब्राडोर राष्ट्रपति भएपछि उनले सम्पूर्ण विलासिताका सुविधा बहिष्कार गर्ने घोषणा गरेका थिए । उनले राष्ट्रपतिका लागि सरकारले व्यवस्था गरेको जहाज बेचेर रकम सरकारी ढुकुटीमा जम्मा गर्ने घोषणा गरेका थिए । बोइङ ७८७–८ बेचेर उनले त्यसको सम्पूर्ण आम्दानी गरिब जनताको उत्थानमा प्रयोग गर्ने बताएका थिए । सरकारी विलासिता घटाउने र ढुकुटीमा रकम जम्मा गर्ने प्रयोजनका लागि उनले सरकारसँग भएका ६० जहाज र ७० हेलिकोप्टर पनि उनले बेचेका छन् । उनले आफ्नो पारिश्रमिकको ६० प्रतिशत भाग कटौती गरेका छन् । तर, यहीवेला उनले मजदुरको न्यूनतम पारिश्रमिक १६।२१ प्रतिशतले वृद्धि गरेका छन् ।
सादा जीवन, उच्च सम्मान विश्वका उदाहरणीय नेता
नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुट
रुटी राजनीतिमा आउनुअघि व्यवसाय गर्थे । अहिले पनि स्मार्टफोन प्रयोग गर्दैनन्, नोकियाको सामान्य मोबाइल चलाउँछन् । प्रधानमन्त्री भएपछि पनि साताको एक दिन प्राथमिक विद्यालयमा पढाउन जान्छन् । साइकल चढेरै कार्यालय जाने–आउने गर्छन् । अगाडि–पछाडि साइरन बजाउँदै हिँड्ने सुरक्षाकर्मी हुन्नन् ।
क्रोएसियाकी राष्ट्रपति कोलिन्डा ग्राभर
कोलिन्डाको सामान्य जीवनशैली संसारभर चर्चित छ । घरको काम आफै गर्छिन् । केही समयअघि उनले आफ्नो घरमा रङ लगाइरहेको तस्बिर सार्वजनिक भएको थियो । ०१८ को विश्वकप फुटबलमा क्रोएसियाले फाइनलसम्मको यात्रा तय गर्दा उनी खेलाडीको हौसला बढाउन रसिया पुगेकी थिइन्, तर इकोनोमिक क्लासको टिकटमा । प्याराफिटमा पनि भिआइपीको सिट छाडेर उनी सामान्य दर्शकसँगै बसिन् । पानी पर्दा पनि छाता खोजिनन् ।
जस्टिन ट्रयुडो क्यानडाका प्रधानमन्त्री
प्रधानमन्त्री ट्रयुडो शरणार्थीका प्रिय नेता नै हुन् । सिरिया द्वन्द्वबाट विस्थापित ५० हजारलाई उनले क्यानडामा स्वागत गरे । कतिपयलाई लिन त विमानस्थल नै पुगे । उनी साइरन बजाउँदै यात्रुलाई दुःख दिँदैनन् ।
तर मोदीको शपथ, ओलीको भ्रमण, दिनभर उडान अस्तव्यस्त, जनतालाई सास्ती स् गणतन्त्रमा पनि राजतन्त्रमा जस्तै भिआइपी संस्कार
प्रधानमन्त्री ओली दिल्ली जाँदै थिए, तर त्यही वेला दिल्लीबाट आउँदै गरेको इन्डिगो एयरलाइन्सको जहाजले भने स्वाभाविक अवतरण पाएन । मकवानपुरको आमभञ्ज्याङदेखि बाराको निजगढबीचमा चार फन्को लगाएर मात्र सो जहाजले काठमाडौंमा अवतरण गर्न पायो । किनकि त्यतिञ्जेलसम्म प्रधानमन्त्री ओलीको जहाजले नेपालको सीमा काटिसकेको थियो ।
बैंककबाट काठमाडौं आउँदै गरेको थाई लायनको जहाजले पनि निर्धारित समयमा अवतरण गर्न पाएन । मकवानपुरको आमभञ्ज्याङदेखि बाराको गढीमाईबीचमा फन्को लगाउँदै सो जहाजका यात्रुले पनि प्रधानमन्त्रीका लागि मार्गप्रशस्त गरे ।



