नगर र वितरक बीचको विवादले विद्यार्थी किताब पाउनबाट वञ्चित

डोल्पा ः त्रिपुरासुन्दरी नगरपालिका र पाठ्यपुस्तक एजेन्टबीच विवाद हुँदा शैक्षिक सत्र सुरु भएको दुई साता बितिसक्दा पनि विद्यार्थीले किताब पाउन सकेका छैनन्। नगरपालिकाका निमित्त कार्यकारी अधिकृत हिराचन्द्र धरला र किताब वितरक पूर्णकेशर न्यौपाने बीचको आपसी विवादका कारण जिल्लामा आइपुगेका पाठ्यपुस्तक वितरण हुन नसकेको हो।
फागुनको १ गतेबाटै डोल्पामा शैक्षिक सत्र सुरु भई विद्यालय खुले पनि त्रिपुरासुन्दरी नगरपालिका अन्तरर्गतका वडा १, २, ७ र ८ मा रहेका १८ विद्यालयका झण्डै १ हजार ५ सय विद्यार्थीका हातमा पाठ्यपुस्तक पुगेको छैन। त्रिपुरासुन्दरी नगरपालिका भित्रका विद्यालयमा किताब ढुवानी गर्ने जिम्मेवारी पाएका सृष्टि एण्ड स्मृति स्टेशनरी सप्लायर्सका प्रोप्रराइटर न्यौपानेले आफूलाई कांग्रेस समर्थक रहेको भन्दै नगरले पाठ्पुस्तक एजेन्टबाट हटाउने चलखेल गरेकाले आफूले पुस्तक वितरण नगरेको बताए।
नगरले विस्तारै पाठ्पुस्तक वितरकबाट हटाउने हिसाबले आफूले जिम्मेवारी पाएका विद्यालय क्षेत्र खुम्च्याउँदै लगेको उनको आरोप छ। विगतमा ढुवानी गरिँदै आएको पहाडी क्षेत्रका ८ ओटा विद्यालयको सिफारिस नगरले दिन नमानेको उनको भनाइ छ। तर, उनले जनक शिक्षा सामग्री केन्द्रबाट विश्वासको आधारमा सबैभन्दा पहिले पाठ्यपुस्तक ल्याइपुर्याएको उनले बताए।
निमिक्त कार्यकारी धरलाले भने सबैलाई मिलाएर पाठ्पुस्तक ढुवानी गर्ने जिम्मेवारी दिँदा सहज र छिटो जिल्लामा पाठ्पुस्तक पुग्न सक्छ भनेर यस क्षेत्रका ध्रुव चलाउने, मनोज बोहरा र पूर्णकेशर न्यौपानेलाई विद्यालय बाँडिएको बताए। उनले कुनै पनि राजनीतिक पूर्वाग्रह राखेर कार्य नगरेको पनि स्पष्ट पारे।
यता नगरले सिफारिस नगरेको विद्यालयका लागि ल्याइएका किताबहरूको भुक्तानी रोक्का गर्ने नगरका निमिक्त कार्यकारी धरलाले बताएपछि आफूले किताब वितरण नगरेर थन्क्याएको वितरक न्यौपानेको भनाइ छ। त्रिपुरासुन्दरी नगरपालिकाका १८ विद्यालयका १५ सय विद्यार्थीका लागि १ देखि १० कक्षाका १२ सय थान पाठ्यपुस्तक ल्याइएको उनले बताए।










