गाउँपालिकाको सडक निर्माणमा वन कार्यालयको रोक

सल्यान,वातावरणीय प्रभाव मूल्यांकन नगरी गाउँपालिकाले बनाउन लागेको सडक वन कार्यालयले रोकेको छ । सल्यानको छत्रेश्वरी गाउँपालिकाले धार्मिक पर्यटकीयस्थल छाया क्षेत्र जोड्ने सडकको स्तरोन्नति गर्न थालेको थियो । शंखमूलदेखि छाया क्षेत्रसम्मको पाँच किलोमिटर सडकलाई थप दुई मिटर चौडा गरेर ११ मिटर बनाउन लागिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले बताए । ‘सडकको स्तरोन्नति गर्न थालेको २० दिन भयो । डोजर लगाएर काम गरिरहेका थियौँ, तर वनले रोकेको छ,’ खड्काले भने ।

वातावरणीय प्रभाव मूल्यांकनविना नै सडक विस्तार गर्न लागिएको र जथाभावी रूख काटिएकाले रोक लगाउनुपरेको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ । ‘प्रक्रियाविना धमाधम रूख ढालेको उजुरी परेको छ । त्यसैले बिहीबारदेखि वन क्षेत्रमा सडक निर्माणमा रोक लगाएका छौँ,’ डिभिजन वन कार्यालयका प्रमुख थीरबहादुर कार्कीले भने ।

उजुरी परेपछि वनको टोलीले स्थलगत अवलोकन पनि गरेको उनले बताए । ‘वातावरणीय प्रभाव मूल्यांकन नगरी तथा प्रक्रिया नपु(याई यसरी गरिएको विकास होइन, यो त विनाश भइरहेको छ,’ उनले भने । छानबिनका लागि टोली खटाएको र त्यसले रिपोर्ट नदिँदासम्म रोक लगाइने कार्कीको भनाइ छ ।

प्रक्रियामा जान्छौँ:अध्यक्ष
डिभिजन वन कार्यालयले रोक लगाएपछि गाउँपालिकाले पनि बिहीबारदेखि नै निर्माण रोकेको छ । गाउ“पालिका अध्यक्ष सन्तोष केसीले सडक स्तरोन्नतिको काम पूरा गर्न प्रक्रियामा जाने बताए । ‘तीर्थयात्रीको हितका लागि र पर्यटकीयस्थलका रूपमा विकास गर्न सडक विस्तारको काम थालेका थियौँ । यत्तिकै छोड्ने भन्ने हुँदैन, प्रक्रियाअनुसार अगाडि बढाउँछौँ,’ अध्यक्ष केसीले भने ।

सडक साँघुरो भएकाले तीर्थयात्रीले समस्या झेल्दै आएको उनको भनाइ छ । अब वन कार्यालयसँग समन्वय गरिने गाउँपालिकाले जनाएको छ ।





error: Content is protected !!