मासिँदै मुगुका प्राचीन ढुंगे कला

मुगु:संरक्षणमा चासो नदिँदा जिल्लाका ऐतिहासिक धरोहर लोप हुने क्रममा छन्। ढुगाद्वारा बनेका थुप्रै सम्पदा स्थानीय र सरकारको बेवास्ताका कारण लोप हुने अवस्थामा पुगका हुन्।
जिल्लामा ढुंगाले कुँदेर बनेका थुप्रै देवल छन्। तर देवल कहिले निर्माण भएका हुन् भन्ने अभिलेख छैन। छायानाथ रारा नगरपालीका वडा नं ४ भामवाडा गाउँको दायाँ भागमा २० फिट अग्लो देवल छ त्यो मात्र पूरा देवल हो। अन्य छायानाथ रारा नगरपालिकाको कार्काीवाडा, चैन रारा रोवा लगायतका ठाउँमा देवल छन सबै अपूरा छन्।
यस्ता देवल खत्याड गाउँपालका, सोरु गाउँपालिकामा छन्। छायानाथ रारा नगरपालिका ४ भामवाडाका ८५ वर्षीय बौद्धे भामाका अनुसार भीमसेन थापाका पालामा देवल निर्माण भएको जनश्रुति पाइन्छ। दैलेखबाट ढुंगा गाधामा ल्याई एकै रातमा देवल बनाइएको बताइन्छ। भामवाडा गाउँमा रहेको देवल मात्र पूरा देवल भएको र अन्य ठाउँका देवल बनाउँदा बनाउदै उज्यालो भएकाले अपूरा रहेको भन्ने जनश्रुति पाइन्छ।
स्थानीय कालीबहादुर भामका अनुसार भामवाडा गाउँमा रहेको देवलमा एकतर्फ तेलको कुवा, एकतर्फ दूधको कुवा र दुईवटा पानीका धारासहितको देवल निर्माण भएको जनश्रुति चलेको छ। देवलमा जथावाभी फोहोर गर्दा सबै सुकेको बुढापाकाबाट सुनेको उनले बताए।
ढुंगा र काठलाई कुँदेर बनाइएका पुराना कलात्मक शैलीका पानीका धाराहरू पनि हराएका छन् । पहिला पहिला ढुंगा र काठलाई कुँदेर बनाईएका पुराना शैलीका धारा थुप्रै भेटिन्थे। संरक्षणका लागि पहल नगर्ने भएका ढुंगेधारा भत्काएर सिमेन्टेड र फलामे पाइपका धारा बनाउन थालिएको छ।










