सहिदको व्यापारीकरण

रोजगारी, स्वास्थ्य सुविधा र गुणस्तरीय शिक्षा सबैको पहुँचमा भए आर्थिक कारणले सहिद घोषणा गर्नेको संख्यामा कमी आउनेछ
काठमाडौं,ऐतिहासिक तथ्य नेपालका प्रथम सहिद लखन थापापछि हालसम्म देशभर करिब सात हजार सहिद थपिएका छन्। सहिदको यकिन विवरण सहिद परिवारलाई राहत बाँड्ने गृह मन्त्रालयसँग समेत छैन ।
जनचेतना, छिमेकी मुलुकको प्रभाव, राणाको चर्को दमन, राणाकै बीचमा बेमेल आदि कारणले नेपालमा प्रजातन्त्र चाहिन्छ भन्ने आवाज वि।सं। १९९० देखि नै प्रबल हु“दै गएको पाइन्छ । तिनै राणाविरुद्ध वि।सं। १९९७ मा नेपाली आफ्नो ज्यानसमेत दिन पछि परेनन् ।
राणाको विरोध गरेकोमा १९९७ माघ १० देखि १४ सम्म चार नेपाली सपुतको हत्या गरियो । शुक्रराज शास्त्रीलाई माघ १० मा पचलीमा झुन्ड्याएर मारियो भने १२ माघमा धर्मभक्त माथेमालाई सिफलमा झुन्ड्याएर मारियो । गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई १४ गते शोभा भगवतीमा गोली हानी हत्या गरियो ।
नेपालमा सहिदको सूची निकै लामो छ । वि।सं। २००७ देखि २०१७ सम्मको प्रजातान्त्रिक शासनकालमा पनि भीमदत्त पन्तलगायत देशभक्तलाई सहिद बनाइयो । ०१७ पुसदेखि ०४६ चैतमा बहुदलीय व्यवस्था पुनस्र्थापना नहुन्जेल विभिन्न समयमा धेरै मानिसलाई मारियो ।
२२ पुस ०१७ देखि देशमा पञ्चायती व्यवस्था सुरु भयो । यो व्यवस्थामा जनहितका कुरा लगभग वर्जित भए पनि प्रजातन्त्रका सिपाहीहरूले आन्दोलनको दियोलाई निभ्न दिएनन् । यसै क्रममा जनकपुर बमकाण्डमा संलग्न भएको आरोपमा १५ माघ ०२० मा दुर्गानन्द झालाई फाँसी दिइयो भने अर्का दुई आरोपी दलसिंह थापा र अरबिन्द ठाकुरलाई आजीवन कारावासको सजाय दिइयो ।
०२८ देखि झापा विद्रोह सुरु भयो र सोही क्रममा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य धर्मप्रसाद उपाध्यायलाई मारेको आरोपमा रामनाथ दाहाल, नेत्रप्रसाद घिमिरे, नारायण श्रेष्ठ, कृष्ण कुइँकेल र वीरेन राजवंशीलाई पक्राउ गरी सोही वर्षको २१ फागुनमा झापाको सुखानीमा बर्बरतापूर्वक गोली हानी मारियो ।
०३१ मा तत्कालीन ओखलढुंगा ९हालको सोलुखुम्बु० मा पञ्चायतविरोधी व्यक्तिहरू बसेको ठाउँमा सरकारी फौजले वरिपरिबाट घेरा हाली बर्बरतापूर्वक गोली चलाउँदा धेरै गाउँलेको मृत्यु भयो । सोही क्रममा पक्राउ परेका क्याप्टेन यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई ०३३ मा फा“सी दिइयो ।
यसैगरी ०३५ मा रत्नकुमार बान्तवा, ऋषिराज देवकोटा र जयगोविन्द शाहलाई पनि मारियो । सोही वर्ष दिवानसिंह राई, योगेन्द्रमान शेरचन र सरोज कोइरालाको पनि हत्या गरियो । ०३६ मा धनकुटाको छिन्ताङमा मेला भर्न गएका पञ्चायतविरोधीमाथि सरकारी फौजले आक्रमण गरी १६ जनाको हत्या गयो ।
०४० माघ १ मा सिन्धुपाल्चोकको पिस्करमा माघे संक्रान्ती मेला भर्न गएका प्रजातन्त्रवादीमाथि सरकारी फौजले अन्धाधुन्ध गोली चलाउँदा वीरबहादुर धामी, आई धामीलगायतको मृत्यु भयो । ०४६ को आन्दोलनमा पनि धेरै नेपाली सपुतले आफ्नो बलि चढाए । ०५२ फागुनदेखि माओवादी जनयुद्ध सुरु भयो । सो अवधिमा करिब १७ हजार माओवादी कार्यकर्ता, सेना, प्रहरी, सरकारी कर्मचारी, शिक्कष र सर्वसाधारण जनता मारिएको अनुमान गरिन्छ ।
सहिदको अपमान हाम्रो देशमा विनाआन्दोलन पनि सहिद घोषणा हुन्छन् । कसैको व्यक्तिगत झैझगडादेखि सडक दुर्घटनालगायत अनेक कारणबाट मृत्यु हुने व्यक्तिलाई जबर्जस्ती सहिद घोषणा गर्ने लहर नै चलेको छ । जसले गर्दा सहिद शब्द नै बदनाम भइरहेको छ ।
परिणामतः वास्तविक सहिदका परिवारले आफ्ना मान्छेको नाम सहिदको सूचीमा भएकोमा गर्वबोध गर्नुभन्दा पनि पीडाबोध गर्नुपर्ने परिस्थिति छ । भूपी शेरचनले लेखेका छन्– हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए, बन्दैन मुलुक दुई–चार सपुत मरेर नगए ।
यसको अर्थ सहिदले जनहितमा काम गर्छन् भन्ने नै हो । तर, जसले जुनिभर देश र जनताका नाममा माखो मारेनन् तिनीहरू पनि सहिदको सूचीमै छन् । जसको राजनीतिक पहुँच छ, ऊ कालगतिले मरे पनि सहिदको सूचीमा छ । जसको राजनीतिक पहुँच छैन, ऊ सहिद नै भए पनि अज्ञात सहिद बनिरहेको छ ।
भावी बाटो नेपालमा बलपूर्वक गरिने सहिद घोषणापछाडि आर्थिक तथा राजनीतिक कारण मुख्य छन् । तीव्र आर्थिक र सामाजिक विकास भएर दैनिक घर व्यवहार चलाउन पैसाको खा“चो नहुँदो हो त त्यसप्रति त्यति रुचि नहुँदो हो ।
रोजगारी, स्वास्थ्य सुविधा र गुणस्तरीय शिक्षा सबैको पहुँचमा भए आर्थिक कारणले सहिद घोषणा गर्नेको संख्यामा कमी आउनेछ । देशमा जनउत्तरदायी, सबल, जवाफदेही र समावेशी सरकार भए राजनीतिक सहिद बन्ने रहर मानिसमा हुने थिएन । देशमा यस्तो जनउत्तरदायी र पारदर्शी सरकार होस् कि आन्दोलन गर्नै नपरोस् ।
राज्यविरुद्ध हतियार उठाउनुपर्ने बाध्यता नआओस् । धेरै सहिद भए भनेर चिन्ता गर्दा मानिस किन सहिद हुनुपर्ने बाध्यतामा परे भन्ने पाटो भुल्नु हुँदैन । सहिदलाई सम्मान गर्नु राज्यको दायित्व हो ।
तर, पैसाका लागि सहिद घोषणा गर्न दबाब दिनु राज्यविरुद्धको गद्दारी हो । कसैले पनि सहिदको नाम सुनेर नाक खुम्चाउने स्थिति आउनु राम्रो होइन । सच्चा सहिदलाई मनैदेखि सम्मान गर्नु देशभक्त मानिसको कर्तव्य हो । त्यसैले, नक्कली सहिददेखि सावधान रही सहिदको व्यापारीकरण बन्द गरौँ ।










