त्रिपालले बनेका कक्षाकोठा हिउँले भत्कायो, पठनपाठनमा समस्या

पर्वत,त्रिपाल टाँगेर बनाइएका अस्थायी कक्षाकोठा निरन्तरको हिमपातले भत्काएपछि म्याग्दीको रघुगंगा गाउँपालिका ८ कुइनेमंगलेमा रहेको रितुङ माध्यमिक विद्यालयमाको पठनपाठन प्रभावित भएको छ।
गत भदौ २७ गते रघुगंगा नदीमा आएको बाढीले भवन बगाएपछि विद्यालयको कक्षा १ देखि ६ सम्मका विद्यार्थीहरुलाई त्रिपालमुनि राखेर अध्यापन गराउने गरिएको थियो। तर, लगातार परेको हिउँ तिनै टहरमा थुप्रिँदा टहराहरु भत्किएका छन्। योसँगै हिउँले भत्काएका टहराको मर्मत गरेको भए पनि पटक पटक परेको हिउँका कारण भत्किएपछि विद्यार्थी राख्ने ठाउँ अभाव भएको छ।
‘भवन अभावमा टहरामा बसेर पठनपाठन गर्दै आएका विद्यार्थीहरुलाई न्यानो ठाउँमा राखेर पढाउने बन्दोबस्त हुन सकेको छैन्।’ विद्यालयका प्रधानाध्यापक खिमबहादुर छन्त्यालले भने। हिमपातले भत्काएका टहरालाई विद्यार्थी र शिक्षकहरुले सामान्य मर्मत गरेको भए पनि वर्षा नरोकिँदा हिउँ पर्ने क्रम पनि रोकिएको छैन।
‘यस्तो जाडोमा त्रिपालमुनि पढ्नु र पढाउनुपर्ने बाध्यता छ। विद्यार्थीहरू जाडोले लुगलुग काँप्छन्ु, प्रधानाध्यापक छन्त्यालले थपे, ुत्रिपालमुनि बस्नुको विकल्प हामीसँग छैन।’ रघुगंगा नदीमा आएको बाढीले विद्यालयको सातवटा कक्षाकोठा पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। अहिले केही विद्यार्थीलाई बाँकी रहेका भवनमा राखिएको छ भने कक्षाकोठा अपुग भएकाहरुलाई त्रिपालमुनि राख्ने गरिएको छ।थाहा साभार










