राजदूतहरूको गठबन्धन अनावश्यक प्रधानमन्त्री ओली


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायका सन्दर्भमा केही राजदूतले अनावश्यक रुपमा गठजोर गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।
विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुन स्विजरल्यान्डको डाभोर्स पुग्नुभएका प्रधानमन्त्री ओलीले बिहीबार उहाँको सम्मानमा स्विजरल्यान्डका लागि आवासीय राजदूत दीपक धितालले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौंस्थित राजदूतहरूलाई नेपालको आन्तरिक मामिलामा गुटवन्दी नगर्न सुझाव दिनुभएको हो ।
“नेपालले शान्ति प्रक्रिया पूरा गरेको सन्दर्भमा केही राजदूतले अनावश्यक रुपमा, अत्तालिएर हो या के हो, गठजोर गरेको देखेँ । यस्तो गठजोर, गुटवन्दी आवश्यक छैन” उहाँले भन्नुभयो ।
राजदूतहरूले नेपालले गरेको द्वन्द्व समाधानलाई अवमूल्यन गरेको उहाँले बताउनुभयो । “द्वन्द्व समाधान गर्नु नराम्रो हो र रु केही समस्या भए त्यसलाई हामी व्यवस्थापन गर्छौं” प्रधानमन्त्रीले भन्नुभयो, “द्वन्द्वको समाधानका बाँकी मुद्दा समाधान हामीले गर्ने हो । हिंसाको बेला भएको घाउखतमा मलम लगाउनुपर्छ । तीनलाई कोट्याउने होइन” उहाँले भन्नुभयो ।
नेपाल तानाशाही मुलुक नभएको र लोकतान्त्रिक शासन पद्धतिमार्फत समावेशी सत्ता सञ्चालन भइरहेको प्रधानमनत्री ओलीले बताउनुभयो । “नेपाल तानाशाहीतर्फ जाने होइन, लोकतान्त्रिक व्यवस्था थप सुदृढ गर्नेतर्फ जाने हो । अब अर्कोतर्फ फर्कने सम्भावना छैन” उहाँले भन्नुभयो ।
यसैबीच राससका तीर्थप्रसाद भट्टराईले जुरिचबाट पठाउनु भएको समाचारमा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नेपाल सकारात्मक बाटामा अगाडि बढेकाले प्रवासी नेपाली जनतालाई अलमलमा नपर्न र विदेशी मित्रलाई नेपालप्रति पूर्वाग्रही नहुन आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले आगामी चैत १५–१६ मा काठमाडाँैमा हुने लगानी सम्मेलनमा सहभागी भई सफल पार्न विदेशी लगानीकर्तालाई आग्रह गर्नुभयो ।
नेपालले हिंसा समाप्त गरेको, हतियार र लडाकू व्यवस्थापन गरेको, हिंसाको नीति परित्याग गरेको र गणतन्त्रतर्फ गई असाधारण उपलब्धि हासिल गरिसकेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाली जनताले राजनीतिक अधिकार मात्र नभई आर्थिक तथा सामाजिक अधिकार पनि पाएका छन्, नेपालको संविधान श्रेष्ठ छ, उत्कृष्ट छ र आवश्यकता अनुसार परिमार्जन हुनसक्छ ।” उहाँले मुलुकको आवश्यकता, गन्तव्य तथा नेपाली जनताको अठोटका विषयमा विश्व आर्थिक मञ्चमा जानकारी दिन आफू डाभोर्स आएको जानकारी पनि दिनुभयो ।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वागत गर्दै राजदूत धितालले गतिशील नेतृत्वमा नेपाल अगाडि बढिरहेको र डाभोसमा पनि नेपालले राजनीतिक समस्या समाधान गरी समृद्विको बाटामा हिँड्न चाहेको सन्देश दिएको बताउनुभयो ।
एनआरएन स्विजरल्यान्डका अध्यक्ष भूमि गुरुङले स्विजरल्यान्डमा करिब चार सय नेपाली रहेको र तिनीहरू रेष्टुरेन्ट, पर्यटन व्यवसाय, चिकित्सा, इञ्जिनियरिङ तथा बैङ्किङ क्षेत्रमा कार्यरत रहेको जानकारी दिनुभयो ।
नेपाल स्विट्जरल्यान्ड मैत्री सङ्घका अध्यक्ष मार्कस रुक्स्तुलले विद्यावारिधिको विद्यार्थीका रुपमा सन् नब्बेको दशकमा नेपाल जाँदा ग्रामीण तहको पनि जानकारी पाएपछि नेपालीसंँग आफ्नो सम्बन्ध जोडिएको बताउनुभयो । जेनेभास्थित नियोग उपस्थायी प्रतिनिधि तीर्थराज वाग्लेले नेपाल स्विजरल्यान्ड सम्बन्धका विभिन्न पक्षबारे उल्लेख गर्नुभयो ।
सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा। युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा। राजन भट्टराई, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारीलगायत स्वीट्जरल्याण्डमा नेपाली प्रवासी विन्दु पाण्डेदेखि विभिन्न क्षेत्रमा काम गर्ने नेपाली समुदायको सहभागिता थियो ।
प्रधानमन्त्रीले जुरिचस्थित आधुनिक आधारभूत संरचना, विकास क्षेत्र तथा पर्यटन आकर्षणका विषयवस्तु पनि अवलोकन गर्नुभएको थियो । यसैबीच परराष्ट्रमन्त्री ज्ञवालीले ईटीएच जुरिचको सुरक्षा अध्ययन केन्द्रमा प्राज्ञ तथा प्राध्यापकसँग छलफल गर्दै नेपालले शान्ति प्रक्रियामा देखाएको अग्रसरता मौलिक रहेको र यसलाई व्यापकरुपमा साझेदारी गर्न सकिने बताउनुभयो ।










