कोशी बृहत् जलाधार व्यवस्थापन प्रयास

काठमाण्डौँ, (रासस) संरक्षित र सुरक्षित जलाधार, देशकै समृद्धिको आधार’ प्रमुख निष्कर्षका साथ ‘सङ्घीय संरचनामा कोशी बृहत् जलाधार व्यवस्थापनका प्रयास र सम्भावना’ विषयक कार्यक्रम आज यहाँ सम्पन्न भएको छ ।

वन तथा भू–संरक्षण विभाग र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रद्वारा आयोजित सो कार्यक्रममा स्थानीय तहका प्रतिनिधि तथा प्रमुख, प्रदेश मन्त्रालयका सचिव, सङ्घीय कार्यालयका प्रतिनिधि, भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख, डिभिजन वन कार्यालयका प्रमुख, डिभिजन सिँचाइ कार्यालय प्रमुख, कोशी बृहत् जलाधार व्यवस्थापन केन्द्रका प्रमुख एवं अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका विज्ञको कार्यक्रममा सहभागिता थियो ।

कार्यक्रममा प्रादेशिक जलाधार नीति तथा रणनीतिक योजना निर्माण तथा कार्यान्वयन, स्थानीय, प्रदेश तथा सङ्घीय सरकारबीच योजना पहिचान, प्राथमिकीकरण, बजेट विनियोजन, कोशी जलाधारसँग जोडिएका नदी सञ्जालको गुरुयोजना, क्षमता तथा सचेतना कार्यक्रम सञ्चालन, जलाधारभित्र वातावरणमैत्री, स्थानीय तहमा फोहर व्यवस्थापन र उपयुक्त वन सम्वद्र्धन पद्धति लागू गर्नुपर्ने कुरामा सहभागीले जोड दिएका छन् ।

बहुआयामिक कोशीको उच्चतम् प्रयोगमा जलयातायात, ऊर्जा र सिँचाइलाई पनि सहभागीले ठोसरुपमा आफ्ना धारणा राखेका थिए । वन, पर्यटन तथा उद्योग मन्त्रालयका सचिव बद्रीराज ढुङ्गानाले कोशी नदीको उचित व्यवस्थापन गर्न विज्ञबाट आएका सुझावका आधारमा नीतिनियम र योजना बनाउन सजिलो हुने बताउनुभयो ।

वन तथा भू–सरंक्षण विभागका महानिर्देशक प्रेमप्रसाद पौडेलले कोशीको व्यवस्थापन गर्न सके देशको आर्थिक विकासमा धेरै बल पुग्ने विचार व्यक्त गर्नुभयो । जलाधार व्यवस्थापन केन्द्रका प्रमुख उद्धव घिमिरे, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका विज्ञ लक्ष्मी भट्ट, डिभिजन वन कार्यालय तेह्रथुमका प्रमुख सन्तमाया श्रेष्ठ र वन विज्ञ रेशमबहादुर डाँगीले कोशी नदीलाई समयमै व्यवस्थापन गर्नसके राष्ट्रले प्रशस्त लाभ लिनेमा जोड दिनुभयो ।

कोशीबाट अहिले पनि सुनसरी र मोरङमा करीब ६८ हजार हेक्टर जग्गामा सिँचाइ भइरहेको छ । कोशीको उच्च बाँध निर्माण भएमा ठूलो परिमाणमा ऊर्जा निकाल्न सकिने र पानीलाई एकीकृत गरी पानीजहाज चलाउन सकिने सम्भावना रहेको बताइएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!