हराएका विद्यार्थी विद्यालयको पानी ट्यांकीमा मृत फेला

दैलेख,दैलेखको सनराइज बोर्डिङ स्कुलका विद्यार्थी स्कुलकै पानी ट्यांकीमा मृत भेटीएका छन्। युकेजीमा अध्ययनरत ६ वर्षीय हिक्मत शाही मृत फेला परेको हो। मंगलवार २ बजेदेखि विद्यालयबाट हराएका उनी बुधावार बिहान विद्यालयको पानी ट्यांकीमा मृत फेला परेका हुन्। विद्यालयको भवन निर्माण गर्दा बनाइएको पानी ट्यांकी प्रयोगमा आएको थिएन। विद्यालय आवतजावत गर्ने भर्याङको तलपट्टि रहेको पानी ट्याँकी आठ फिट गहिरो रहेको थियो। हराएका बालकको खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ। दैलेखको ठाँटीकाँध गाउँपालिका–३ घर भएका बालकका आमाबुवा दैलेख सदरमुकाममा बस्दै आएका थिए। प्रहरीले सोधपुछका लागि विद्यालयका शिक्षक र अन्यलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा झिकाएको छ। मृतकका आफन्तहरुले विद्यालयको लापरवाहीले घटना भएकाले निष्पक्ष छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेका छन्। जिल्ला प्रहरी प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेले घटनाबारेमा छानबिन भैरहेको बताएका छन्।थाहा साभार










