अन्तर्राष्ट्रिय मिडियामा देशको असीमित बदनाम

२२ जुन २०१३ मा ब्रिटिस माउन्टेरियरिङ काउन्सिल बिएमसीमा ‘हाई फ्लाइङ हेलिकोप्टर रेस्क्यु इन नेपाल इन्भेस्टिगेटेड’ शीर्षकमा एक समाचार छापिएको छ । जसमा आकस्मिक उद्धारका नाममा पछिल्लो समय हेलिकोप्टर र ट्राभल कम्पनी तथा अस्पतालको मिलेमतो हुने गरेको उल्लेख छ । नियमनको अभावमा नेपालमा यस प्रकारको विकृति बढेको समाचारको सार छ ।
२० मार्च २०१६ मा अमेरिकाबाट म्यारी सीले ट्रिप एडभाइजरनामक विश्वप्रसिद्ध ट्राभल साइटमा लेखे, ‘पदयात्री स् हेलिकोप्टर रेस्क्युका नाममा हुने ठगीबाट सावधान रहनु’ जहाँ उनले नेपालमा पदयात्राका दौरान हेलिकोप्टर रेस्क्युका नाममा आफूले भोगेको पक्षलाई उजागर गरेका छन् । उक्त यात्राका क्रममा आफ्नो साथीलाई खुम्बु पदयात्राको लोबुचे भन्ने स्थानमा बिरामी पर्दा उद्धार गरेर कम अल्टिच्युडमा झार्ने र बाँकी सदस्य भने पदयात्रा पूरा गर्ने योजनामा थिए ।
तर, गाइडले साथीलाई हेलिकोप्टर उद्धारको सल्लाह दिए र सबैजना सोही हेलिकोप्टरमा फर्किए । साथी ठीक भइसकेको थियो, तर गाइडले स्वकान इन्टरनेसनल अस्पतालका डाक्टरको हवाला दिँदै आवश्यक परीक्षणका लागि अस्पतालमा भर्ना हुन सल्लाह दिएको उल्लेख गरेका थिए । त्यसक्रममा गाइडले आफूहरूको पासपोर्ट मागेको र तीन दिनसम्म गायब बनाएको उल्लेख छ ।
किनकि पदयात्री अस्पतालबाट भाग्न नसकून् । अस्पतालमा अनावश्यक चेक गर्दै अधिक बिल उठाउने र बीमा कम्पनीबाट रकम भुक्तानी गर्न अस्पतालको रिपोर्टमा अतिरन्जित विवरण उल्लेख भएकोसमेत उनले त्यहाँ उल्लेख गरेका छन् ।
२६ अगस्ट २०१८ मा एडभेन्चर स्पोर्टस्मा स्टेफन निस्टलर लेख्छन्, ‘नेपालमा हुने नक्कली उद्धारका विरुद्ध लडौँ । खासगरी नेपाल सरकारले नक्कली उद्धार सम्बन्धमा कार्यविधि बनाएर कडा नीति ल्याएपछि उनले यसलाई प्रकाशित गरेका छन् । जहाँ उनले लेखेका छन्, ‘अब फेक रेस्क्युका नाममा धन्दा चलाउनेको हावा फुस्केको छ ।’ ४ सेप्टेम्बर २०१८ मा द न्युयोर्क टाइम्सका लागि काई स्चुल्तज लेख्छन्, ‘सगरमाथानजिकै पदयात्रीमाथि हेलिकोप्टर बचाउका नाममा धोका ।’
यस स्टोरीमा उनले सन् २०१६ मै सगरमाथा क्षेत्रमा एक अस्टियाली पदयात्री जेफ्री चाङमाथि भएको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन् । उनलाई सामान्य उपचारपछि ठीक हुने अवस्थामा पनि गाइडले काठमाडौंबाट हेलिकोप्टर मगाएर अस्पताल भर्ना गरेको, पासपोर्ट कैयौँ दिनसम्म जफत गरी राखेको र अस्पतालको रिपोर्टमा अतिरिन्जत विवरण राखेको उल्लेख छ । यो स्टोरी पनि सरकारले फेक रेस्क्युका विषयमा अध्ययन सुरु गरेपछि लेखिएको हो ।
२२ अगस्ट २०१८ मा डेलीमेल डटकममा हिमालय हेलिकोप्टर रेस्क्यु घोटाला शीर्षकमा समाचार छापिएको छ । जहाँ पदयात्रीलाई बिरामी भएको दबाब सिर्जना गरेर बीमा कम्पनीमार्फत ठूलो रकम असुल–उपर हुने गरेको विषय उल्लेख छ । यस समाचारमा सन् २०१७ मा पर्यटकको बिमा कभर गर्दा सबैभन्दा महँगो भुक्तानी नेपालमा भएको विषयलाई उल्लेख गर्दै फेक रेस्क्यु मुख्य कारण रहेको बताइएको छ ।
१८ जुन २०१८ मा एएफपीले गरेको रिपोर्टिङलाई याहुले छापेको छ । जहाँ भनिएको छ, ‘बिमा दाबी गर्न नेपालमा अनावश्यक उद्धारको क्रम बढ्दो छ । यस स्टोरीमा पनि स्वस्थ पर्यटकलाई पनि हेलिकोप्टरमार्फत रेस्क्यु गर्ने र उनीहरूमार्फत बीमा रकम दाबी गर्ने प्रवृत्तिबारे उल्लेख छ । ४ सेप्टेम्बर २०१८ मा सिएनएनले पनि यस विषयलाई प्राथमिकताका साथ छापेको थियो । नेपालमा हेलिकोप्टर रेस्क्युका नाममा घोटाला भइरहेको र त्यसविरुद्ध सरकारले कदम चालेको उल्लेख छ ।
द न्युयोर्क टाइम्स ‘सगरमाथानजिकै पदयात्रीमाथि हेलिकोप्टर बचाउका नाममा धोका’
ट्रिप एडभाइजर ,‘पदयात्री हेलिकोप्टर रेस्क्युका नाममा हुने ठगीबाट सावधान रहनु’
एडभेन्चर स्पोर्टस् , ‘नेपालमा हुने नक्कली उद्धारविरुद्ध लडौँ’
डेलीमेल , हिमालय हेलिकोप्टर रेस्क्यु घोटाला
एएफपी , बिमा दाबी गर्न नेपालमा अनावश्यक उद्धार बढ्दो
सिएनएन , पर्यटकलाई हेलिकोप्टर उद्धारका नाममा भएको लुटविरुद्ध नेपाल सरकारको कदम










