आर्थिक अवस्था कम्जोर भएका छात्राले छिटो विहे

जाजरकोट ः यहाँका आर्थिक अवस्था कम्जोर भएका छात्राले कमै उमेरमा विहे गर्ने गरेको खुलासा भएको छ । आर्थिक अवस्था कम्जोर भएका छोत्राहरु विहे पछी राम्रो पढेने र राम्रो लगाउने अनि मिठो खाने सपनाका साथ कमै उमेरमा विहे हुँने गरेको शिक्षकहरुको भनाई छ । त्रिभुवन माध्यमिक विद्यालय खलंगा जाजरकोटमा ६ कक्षामा अध्ययनरत छात्रा सविता खत्रीको उमेर १२ बर्षको मात्र भयो । तर, सुन्दै अचम्म लाग्ने तिनै १२ बर्षिया सविताले हालै विवाह गरेकी छन् । पुल बनाउन जाजरकोट आएका धादिङ्गका १८ बर्षिय दुर्गा तामाङले भेरी नगरपालिका ४ युउरीकी सवितालाई भगाएर लिएका हुन् ।
विवाह भनेको के हो रु भन्ने थाह नै नपाउने उमेरमा पढ्दा पढ्दै सविताले विहे गरेपछि उनका साथीहरु अचम्मित भएका छन् । बुवा अक्कल बहादुर खत्रीले गाँउलले भनेपछि छोरी पोइल गएको थाह पाएको बताए । ‘दिनहुँ पढ्न जान्थी तर, एक्कासी यसरी आफुहरुलाई जानकारी नै नदिएर यति सानै उमेरमा पोइल जाली भन्ने सोचेका पनि थिएनौ’ उनले भने । पढ्दा पढ्दै उमेर नपुग्दै छोरीले विवाह गरेपछि पछि दुःख पाउली भन्ने बाबुलाई चिन्ता थपिएको छ ।
त्यस्तै सोही विद्यालयमा ८ कक्षामा अध्ययनरत १३ बर्षिय लक्ष्मी घर्ती, १३ बर्षकै विमला कुँवर र १४ बर्षकी कल्पना विकले पनि विवाह गरेका छन् । दुई साता भित्र एउटै विद्यालयमा पढ्ने चार छात्राले भागी विवाह गरेपछि शिक्षक र उनीहरुका सहकर्मी छात्रछात्राहरु अचम्मित भएका छन् । पढाईमा कमजोर तथा घरको आर्थिक अवस्था नाजुक रहेका परिवारका बालबालिकाले उमेर नपुग्दै विवाह गर्ने गरेको शिक्षक रेखा शाहले बताईन । बालविवाह नगर्न आग्रह गर्दा पनि बालविवाह गर्ने क्रम नरोकिएको उनको भनाई छ । उनका अनुसार विद्यालयमा पढ्दा पढ्दै कम उमेरमा नै विवाह हुने गरेको छ । जसले गर्दा उनीहरुको शारीरिक तथा मानसिक विकासमा त बाधा पर्छ नै पठनपाठन अवरुद्ध हुनका साथै सम्बन्ध विच्छेदका घटना पनि बढ्दै गएका छन् ।
बालबालिकाको स्थिति प्रतिवेदन अनुसार जाजरकोटमा ६७ हजार ३ सय ३२ जना विवाहित मध्य १९ बर्ष नपुग्दै ४९ हजार ८ सय ६२ अर्थात ७४ प्रतिशतले विवाह गर्ने गरेका छन् । प्रतिवेदन अनुसार एक सय ६५ जनाले १० बर्षकै उमेरमा विवाह गरेको उल्लेख छ । १० देखि १४ बर्ष सम्मका पाँच हजार ६ सय ६८ जनाले बालविवाह गरेका छन् । त्यस्तै १५ देखि १९ बर्षको उमेरमा ४४ हजार २९ जना बालबालिकाको विवाह गरेको उक्त प्रतिवेदनमा उल्लेख छ । बालविवाह गर्नेमा बालकको तुलनामा बालिकाको संख्या धेरै रहेको छ । बालविवाह गरेका मध्य ६२ दशमलब ८७ प्रतिशत बालिका र ३७ दशमलब १३ प्रतिशत बालक रहेका छन् । अशिक्षा र चेतनाको अभावले जाजरकोटमा बालविवाह गर्नेको संख्या अधिक रहेको छ । विद्यालयमा पढ्दा पढ्दै धेरैजसो छात्रछात्राको विवाह हुने गरेको वीरेन्द्र ऐश्वर्य माविका प्रधानाध्यापक गोरखबहादुर सिंहले बताए ।
बालविवाहका कारण सम्बन्ध विच्छेदका घटनामा पनि बृद्धि हुन थालेको छ । जिल्ला अदालतको एक तथ्यांक अनुसार गत आर्थिक बर्षमा दर्ता भएको ५१ ओटा सम्बन्ध विच्छेदका मुद्धामा ४१ जोडीको उमेर ३० बर्ष मुनीको छ । यी सवै सम्बन्ध विच्छेद गर्ने जोडीहरुको विवाह १९ बर्ष नपुग्दै विवाह भएको थियो । मुलुकी देवानी तथा फौजदारी संहितामा २० बर्ष नपुग्दै विवाह गरेको पाईए बालविवाह ठहर हुने उल्लेख छ । साथै उमेर नपुग्दै विवाह गर्ने र गराउने दुवैलाई सजायको ब्यवस्था गरेको भएपनि उमेर नपुग्दै भागेर विवाह गर्ने चलनको अन्त्य हुन नसकेको अधिवक्ता निमबहादुर शाहीले बताए ।










