२२ वर्षे छोरीले चिन्दिनँ भनेपछि आमाले नै पाइनन् नागरिकता

पर्वत, आफैँले जन्म दिएकी छोरीले नै आमालाई चिन्दिनँ भनेपछि पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवाकी महिलाले नेपाली नागरिकताको प्रमाणपत्रविहीन बनेकी छन्। बोल्न नसक्ने अवस्था रहेकी ५६ वर्षिया नेत्रकुमारी कुँवरलाई उनकै छोरी सुस्मिताले आफूले नचिनेको भनिदिएका कारण सनाखतमा बस्ने पारिवारिक सदस्यको अभावमा उनले नागरिकताको प्रमाणपत्र पाउन नसकेकी हुन्। नेत्रकुमारीले २०४६ सालमा मुडिकुवाकै छविलाल कुँवरसँग विवाह गरेकी थिइन्।
पहिलो श्रीमतीबाट सन्तान नजन्मेपछि छवीलालले दोस्रो श्रीमतीको रूपमा नेत्रकुमारीसँग विवाह गरेका थिए। २०५६ सालमा नेत्रकुमारीले छोरी जन्माइन्। छोरी सुस्मिताको उमेर अहिले २२ वर्ष छ। नेत्रकुमारी नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालयमा पुग्दा सनाखतमा बस्ने पारिवारिक सदस्य आवश्यक पर्यो। उनले आफ्नो छोरी रहेको बताएपछि सुस्मितालाई प्रशासनमा बोलाएर सोधपुछ गर्ने क्रममा उनले नेत्रकुमारीलाई आफूले नचिनेको भन्दै जवाफ दिएकी छिन्। आमाले आफ्नै छोरी भएको भनेकै बेलामा छोरीले भने आमालाई नै चिन्दिनँ भनेपछि जिल्ला प्रशासन कार्यालय त अलमलमा छ नै नेत्रकुमारीले नागरिकताको प्रमाणपत्र पनि पाउन सकेकी छैनन्।
प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल भन्छन्, ‘समाजले उसैले जन्माएकी छोरी हो भनेर चिन्छ, तर छोरीले चिन्दिन भन्नुहुन्छ, आफैँलाई जन्माएकी आमालाई चिन्दिनँभन्दा अचम्म परिएको छ।’ नेत्रकुमारीका आफन्त नवराज भण्डारीले दिएको जानकारीअनुसार उनको घर परिवारले सुस्मिता जन्मिएको २० दिन नपुग्दै कुटपिट र गाली गलौज गरेर घर निकाला गरेका थिए। घर निकाला गरेपछि उनी माइतीघरमा बस्दै आएकी थिइन्। आफैँले जन्म दिएकी छोरीलाई लिन जाँदा घरपरिवारले समेत बच्चालाई लुकाएर ल्याउन दिएनन्। सुस्मितालाई आमाबाट खोसेपछि छविलालकी जेठी श्रीमतीले नै सुस्मिताको पालनपोषण गरिन्। छोरीसहित छविलालकी जेठी श्रीमती चन्द्रकलीले समेत नेत्रकुमारी र सुस्मिताको सम्बन्ध अस्वीकार गरेका कारण नेत्रकुमारीले नागरिकताको प्रमाणपत्र नपाएकी हुन्। प्रमाणपत्रको अभावमा पाउन उनी सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित भएकी छिन्। प्रमुख जिल्ला अधिकारी ढकालले भने पीडित नेत्रकुमारी कुँवरलाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाएरै छाड्ने प्रतिबद्धता जनाएका छन्। सकेसम्म परिवारकै सदस्यबाट सनाखत गराउने र असम्भव भए सामाजिक रूपमासमेत प्रमाणित गराई नागरिकता दिलाउने उनको भनाइ छ। जन्म दिएकी छोरीले नै आमालाई नचिन्ने दाबी गरेपछि समस्या परेको बताउँदै प्रजिअ ढकालले जुनसुकै हालतमा नेत्रकुमारीलाई नागरिकता दिलाउने बताए।
जिल्ला अदालत, वडा कार्यालयलगायतका कागजातबाट पनि नेत्रकुमारी छविलाल कुँवरको श्रीमती भएको प्रमाण फेला परेकाले नेत्रकुमारीलाई नागरिकताको प्रमाणपत्र दिलाउन समस्या नहुने उनको भनाइ छ। थाहा साभार







