जहाँका महिला एउटा गोरुले जोतेर लगाउँछन् अन्नबाली

मुगु,
मुगुको मुगम कर्मारोङ्ग गाउँपालिका–५ दाउरा गाउँका ३० वर्षीय थेनसिंह लामा एउटा झोवा ९गोरु० जोतेर खेत गरामा लेकाली बाली लगाउन व्यस्त छन् । देख्दा अनौठो लाग्ने तर एउटा गोरुले नै खेतबारी जोत्ने प्रचलन यहाँ छ । थेनसिंह भन्छन् ‘यो हाम्रो बाउ बाजे देखिको खेती गर्ने तरिका हो ।’

फरक अनि पुरानो शैलीको कृषि खेतीलाई अंगालेका लामा जातिमा एउटा झोवालाई जोतेर खेती गर्नु पुर्ख्यौली परम्परा भएको दाउरा गाउँका स्थानीय बताउँछन् । थेनसिंह त एक उदाहरण पात्र मात्रै हुन ५१ घर धुरी रहेको यस गाउँका स्थानीय सबैले एउटा गोरुले मात्रै जोतेर अन्न पात लगाउने गरेका छन् ।

 

महिलाले जोत्छन् खेतबारी
यस क्षेत्रका पुरुषले मात्रै नभई महिलाले पनि सजिलै खेतबारी जोत्ने गर्छन् । घर नजिकैको गरामा झोवा लिएर उवा बाली छर्दै गरेकी ३२ वर्षीया याङ्जु लामा भन्छिन् – ‘हामी लामा जातिका महिलाले सजिलै खेतबारी जोत्न सक्छौँ । लोग्ने मानिस घरमा नहुँदा महिलाले जोत्नुपर्ने बाध्यता छ ।’

वर्षौँ देखि यसरी नै जोतेर खेतीबाली लगाउने गरिएको उनी बताउँछन् । आफ्नो समुदायमा हल गोरु प्रयोग गरेर कसैले पनि खेती पाति नगर्ने उनको भनाइ छ ।

कार्मारोङ्ग गाउँपालिकाको दाउरा गाउँमा मात्रै नभइ मांग्री, मह, रिउस, सेरोग, ताखा, खारी, पुलु, पुअ, किम्री, कात्ति, डोल्फु, चितै लगायतका बस्तीमा एक झोबाको प्रयोगले खेतीपाति गरिन्छ ।

जिल्लाका विकट मानिने यस क्षेत्रको जमिनमा धान खेती हुँदैन । यस क्षेत्रमा मुख्य गरी चिनो, काउनी, कोदो, उवा, फापर र जौ लगाइने गरिन्छ ।





error: Content is protected !!