भारतीय भेट्न यी शीर्ष नेता दिल्लीतिर, लाइन लागेर पुगे मन्त्रीहरू विदाइ गर्न

काठमाडौं। संयोजक पद फुत्किएपछि तनावमा परेका राष्ट्रिय जनता पार्टी नेपाल राजपाको अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर दिल्ली पुगेका छन् ।

ठाकुर आइतबार नयाँ दिल्ली प्रस्थान गरेका हुन् । उनी उपचारका बहाना बनाएर दिल्ली गएको राजपाका एक नेताले बताए । दिल्लीमा रहँदा ठाकुरले भारतीय राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्नेछन् । स्रोतका अनुसार ठाकुरले आफ्नो गुमेका संयोजक फिर्ता गराउन भारतीय नेताहरूसँग आग्रह गर्नेछन् ।

राजपाका संयोजक राजेन्द्र महतोलाई एउटा बैठक राख्न नदिएका ठाकुर पार्टीको सबै काम अपत्र पारेर नयाँदिल्ली प्रस्थान गरेका हुन् । महतोले दुई पटक पार्टीको बैठक बोलाइसकेका छन् । दुबै पटक ठाकुरकै कारण बैठक बस्न सकेन ।

विधानमा भएको व्यवस्थाअनुसार महतो ६० दिनका संयोजक हुन् । त्यसपछि रोलक्रमअनुसार महिन्द्र राय यादव संयोजक बन्नेछन् । संयोजक बनेका महतोको १३ दिन ठाकुरलाई फकाउँदैमा पूरा भएका छन् । अबका ४७ दिनमा महतोलाई कामै गर्न नदिने गरेर ठाकुरले रणनीति बनाएको एक नेताले बताए ।

ठाकुर नयाँदिल्ली जाने बेला प्रदेश २ का राजपाका मन्त्रीहरू लाइन लागेर विदाइ गर्न आएका थिए । सरकारी गाडीको दुरुपयोग गरेर प्रदेश २ का मन्त्रीहरू जितेन्द्र सोनाल, अभिराम शर्मा, सुरेश मण्डल, राजपा प्रदेश २ का प्रदेशका सचेतक परमेश्वर साह, प्रदेश सांसद बाबुलाल साह, पूर्वसांसद अकबाल अहमदहरू त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

विमानस्थल पुग्ने राजपाका नेताहरूमा सबै तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी ९तमलोपा० पृष्ठभूमि भएकाहरू नै थिए । यही समूहले ठाकुरलाई उचालेर राजपाका शीर्ष नेताहरूलाई मिल्न नदिएको आरोप छ ।

ठाकुरलाई संयोजकबाट हटाउन सहयोग गरेका राजकिशोर यादव भने पछिल्लो समय मध्यमार्गी बाटो छोपेका छन् । यादवले ठाकुर र महतो दुबैलाई खुलेर समर्थन गरेका छैनन् ।

उता, पार्टी केन्द्रीय कार्यालयबाट हटाइएका कर्मचारीहरूको ठाउँमा ठाकुरले नयाँ भर्ना गर्न दिएका छैन । ठाकुरले नयाँ कर्मचारी भर्ना गर्न नदिँदा संयोजक महतोका ज्वाइँले अनिल महासेठले बबरमहलस्थित पार्टी मुख्यालय खोल्नेदेखि सबै काम गर्दै आएको स्रोतले जनाएको छ ।

ठाकुरले यसरी असहयोग गरेका छन् कि महतोलाई बीचमा नै राजीनामा दिनेसम्मको अवस्था सिर्जना भएको एक नेताले बताए । महाधिवेशनको तयारीदेखि संविधान संशोधनको लागि सरकारलाई दवाव दिने लगायतका विषय ठाकुरकै कारण अड्किएका छन् ।





error: Content is protected !!