केही दिनअघि हराएको पर्स थप पैसासहित भेटियोः फिर्ता गर्नेले भने, ‘मोज गर’

एजेन्सी
अमेरिकाको ओमाहामा बस्ने २० वर्षे हन्टर शैमत्त केही दिनअघि लस भेगस पुग्दा उनको पर्स हरायो । पर्समा ६० डलर, चार सय डलरको पे–चेक, बैंक कार्ड र परिचय पत्र थियो । केही दिनपछि हन्टरले आफ्नो पर्स डाकमार्फत पाए । पर्समा सय डलर थियो । पर्स फिर्ता गर्नेले एउटा पत्र पनि पठाए जसमा लेखिएको थियो, ‘पर्स भेटिएको खुसीमा मोज गर ।’

दिदीको विवाहको तयारी गर्न पाएनन् हन्टरलेः

दिदीको विवाहकै लागि ओमाहाबाट लस भेगस पुगेका हन्टर पर्स हराएपछि विवाहको तयारीसमेत गर्न नपाएको बताए । उनले भने, ‘परिचय पत्र र बैंकको कार्डबीच कार्यक्रमको तयारी गर्न पाइरहेको थिइनँ ।’

उनले थपे, ‘सबैभन्दा बढि चिन्ता परिचय पत्र हराउँदा लागेको थियो किनभने त्यो बनाउन सजिलो छैन ।’

घर फर्किन पनि समस्या भयोः

दिदीको विवाहपछि नोभेम्बर ११ तारिखमा हन्टर आफ्ना आमाबुवासहित ओमाहा फिर्ता हुन एयरपोर्ट पुगे ।

उनकी आमालाई छोराको परिचय पत्र नभएका कारण विमानमा यात्रा गर्न दिने हो कि होइन भन्ने चिन्ता थियो ।

‘हामी निकै चिन्तित थियौं,’ जेनी स्यामत्तले भनिन्, ‘म तनावमा थिएँ, आत्तिएको थिएँ, ऊ पनि चिन्तित थियो ।’

अन्त्यमा एक घण्टाको अन्तर्वार्तापछि उनलाई विमानमा यात्राको लागि अनुमती दिइयो ।

त्यसको भोलिपल्ट एउटा पार्सल उनको घरमा आइपुग्यो । उक्त पार्सल ओहामा नै बस्ने टोड ब्राउनले पठाएका थिए । हन्टरले पर्स खोलेर हेर्दा त्यसमा ६० को साटो सय डलर भेटे जबकी अन्य सामान जस्ताको तस्तै थिए । पर्समा एउटा पत्र पनि थियो ।

पत्रमा लेखिएको थियो, ‘हन्टर, मैले तिम्रो पर्स ओशामाबाट डेनवर जाँदै गरेको फ्रन्टियर फ्लाइटमा १२ नम्बरको लाइनको एक सिटमा भेटेको थिएँ । तिम्रो पर्स सिट र विमानको भित्ताको बीचमा फसेको थियो । यो तिमीलाई फिर्ता चाहेको मैले सोचें ।

पत्रको अन्त्यमा लेखिएको थियो, ‘मैले तिम्रो रकम सय बनाइदिएको छु ता कि पर्स फिर्ता पाएकोमा खुसी मनाउन सकियोस् । मोज गर ।’

 

 

 

 

हराएको पर्स हातमा पाएकोमा विश्वास नै गर्न नसकेको हन्टर सम्झिन्छन् । उनले टोड ब्राउनलाई धन्यवादसहित पत्र लेखे ।

‘सर, मैले तपाईंलाई जतिपटक धन्यवाद दिएपनि त्यो अपुग छ । तपाईंले जुन मेरो लागि गर्नुभयो, यस्तो घटनाबारे कहिले पनि सुनेको थिइनँ । मैले र मेरो परिवारले जीवनभरी यस्तो उदारता अनुभव गरेका थिएनौं । मैले कहिले पनि मेरो पर्स फिर्ता होला भनेर सोचेको थिइनँ त्यो पनि ४० डलर बढेर आउला भनेर त कल्पनै गरेको थिइनँ । मुरी मुरी धन्यवाद ।’

हन्टरकी आमाका अनुसार उनले तीनपटक पैसा गनेका थिए ।

‘सबैजना निकै उत्साहित थियौं, यसमा हामीमध्ये कसैले पनि विश्वास गर्न सकिरहेका थिएनौं,’ उनले भनिन्, ‘त्यो निकै अद्भूत पल थियो ।’

ब्राउनले आफ्नो अन्तर्वार्ता प्रस्तावको जवाफ नदिएको वासिङ्टन पोस्टले बताएको छ ।
जेन स्यामत्त भन्छिन्, ‘ब्राउन र उनकी श्रीमतीलाई मैले घटनाको विवरण बताएपछि उनीहरु रोएका थिए ।’
एजेन्सी





error: Content is protected !!