करोडौंको सेतो चिनी चोरी निकासी

जाजरकोट । जाजरकोटका लेकाली क्षेत्रबाट अहिले करोडौंको सेतो चिनी अनुमतिबिना निकासी भएको छ । व्यापारी, जनप्रतिनिधि र सरोकारवाला निकायको मिलेमतोमा करोडौं मूल्यको सेतो चिनी जिल्लाबाहिर निकासी भएको हो । वनमन्त्रीको गृहजिल्लाबाट अवैध ढंगले मूल्यवान् तथा लोपोन्मुख सेतो चिनी निकासी हुँदा पनि मन्त्रालय, विभागलगायतका निकाय बेखबर छन् ।
बारेकोट, कुशे, जुनीचाँदे गाउँपालिका र नलगाड नगरपालिकाको लेकाली क्षेत्रमा पाइने बहुमूल्य सेतो चिनीको चोरी निकासी भएको छ । डिभिजन वन कार्यालय जाजरकोटको इजाजतबिनै सेतो चिनीको संकलन गरी निकासी गरिएको छ । बारेकोटको मुसे, चाखुरे, कोटे, कालीमुरी, दियाबाल्न, देउरालीपाटन, ठाकुरजी, कराइचुला, खुम्बु, कुशे गाउँपालिकाको रातापाटन, भीमपोस्तक, बांगाडाँडा, ब्युलीढुंगा, चाल्नेचौर, कुशेपाटन, नलगाड नगरपालिकाको सिउन, रूप, मंसिरी र जुनीचाँदे गाउँपालिकाका विभिन्न लेकबाट मूल्यवान् जडीबुटी सेतो चिनीको चोरी निकासी भएको स्थानीयको भनाइ छ । अनुमतिबिना नै ती लेकबाट ठूलो परिमाणको सेतो चिनी जिल्लाबाहिर निकासी भएको उद्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्रीले बताए ।
जिल्लाबाट करोडौं मूल्यको सेतो चिनी चोरी निकासी हुँदा पनि रोकथाम गर्न नसक्नु सरकारको लाचारीपन भएको अध्यक्ष खत्रीको भनाइ छ । असोज पहिलो सातादेखि अन्तिमसम्म ८ हजार बढी मान्छेले विभिन्न लेकमा पुगेर ठूलो परिमाणको सेतो चिनी संकलन गरेका थिए । स्थानीयले संकल गरेको सेतो चिनी जनप्रतिनिधि, विप्लव माओवादीका कार्यकर्ता र वन कर्मचारीले व्यापारीबाट मोटो रकम असुलेर जिल्लाबाहिर निकासी गर्ने वातावरण मिलाएका हुन् । संकल गरेको सेतो चिनी लेकाली क्षेत्रबाट व्यापारीले जुम्ला र डोल्पा जिल्लामा पु¥याएका छन् ।
पाटनमै सेतो चिनी नसुकाएको प्रति किलोको ३० रुपैयाँ र पकाएर सुकाएको प्रतिकिलोको हजारका दरले बिक्री हुने गरेको जडीबुटी व्यवसायी दानबहादुर शाहीले बताए । पाटनमा एक जना मजदुरले एक दिनमा २ सय किलोसम्म सेतो चिनी संकलन गर्न सक्ने शाहीले बताए । अवैध रूपमा सेतो चिनी चोरी निकासी हुँदा लाखौंको सरकारी राजस्व चुहावट भएको छ । सेतो चिनी उच्च लेकाली भूभागमा पाइने र जमिनमुनि गाना फल फल्ने मूल्यवान् जडीबुटी हो । यसको वैज्ञानिक नाम सेतो चिनी भए पनि यसलाई स्थानीय भाषामा खिरौलो भन्ने गरिन्छ । सेतो चिनीका सखरखण्डजस्तै गाना हुन्छन् । सेतो चिनीको गानालाई जमिनबाट निकालेर सुकाई बिक्री गर्ने गरिन्छ । हरेक असोज महिनामा सेतो चिनीको गाना परिपक्व हुने गर्छ । भदौ महिनासम्म यसको बिरुवा हरियो हुन्छ । यसलाई प्रत्येक वर्ष निकाल्न मिल्छ । तर, केही भाग गाना जमिनमुनि छोडेर निकाल्दा यसको बीउ मासिँदैन ।
डिभिजन वन कार्यालयले कार्ययोजनाबमोजिमको राजस्व लिएर मात्र सेतो चिनीको संकलन पुर्जी दिन सक्छ । सेतो चिनी औषधिमा प्रयोग हुने अनुमान गरिएको छ । सेतो चिनी चिनलगायतका देशमा बिक्री हुने गरेको छ । नेपालमा सेतो चिनीको उपयोग भएको पाइँदैन । मन्त्रालयले समयमा कार्ययोजना स्वीकृत नगर्दा करोडौंको सेतो चिनी चोरी निकासी भएको हो । समयमा कार्ययोजना स्वीकृत नगरी वनमन्त्रीको गृहजिल्लाबाट करोडौं मूल्यको जडीबुटीको अवैध कारोबार हुनु रहस्यमय छ । मन्त्रालयले गर्दा नै डिभिजन वन कार्यालयले सेतो चिनी संकलन तथा निकासीका लागि इजाजत दिन सकेको छैन । संकलन इजाजतबिना सेतो चिनीलगायत जडीबुटीको खोजतलास तथा बिक्री वितरण गर्न मिल्दैन ।

वन, वन पैदावार संकलन, वन संरक्षण, वन विकास, पूर्वाधार निर्माणलगायत कार्यका लागि पेस भएको कार्ययोजना वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत हुन नसकेको निमित्त डिभिजन प्रमुख नेपाली साहले बताए । जनशक्ति अभाव, भौगोलिक विकटतालगायतका कारण चोरी निकासी नियन्त्रणमा लिन नसकेको उनको
भनाइ छ । सेतो चिनीको संकलन तथा निकासीका लागि बारेकोट गाउँपालिकाले डेढ करोड संकलन तथा निकासी कर असुलेको छ । गाउँपालिकाले संकलन गर्न जाने बारेकोटभित्रका मजदुरबाट प्रतिव्यक्ति ३ सय र बाहिरकालाई ५ सय प्रवेश शुल्क लिएको छ । त्यस्तै, गाउँपालिकाले जडीबुटी खरिद तथा निकासी गर्ने प्रतिव्यवसायी ९ठेकेदार० बाट २ लाखका दरले धरौटी असुलेको छ । व्यवसायीले दाउरा ९इन्धन० बापत ५ हजारका दरले गाउँपालिकामा थप रकम जम्मा गरेका छन् । संकलन कार्यपछि गाउँपालिकाले प्रतिकिलो सेतो चिनीको १० रुपैयाँ निकासी कर लिने निर्णय गरेको छ । प्रवेश शुल्क ५÷६ हजारले तिरेको र ६२ जना व्यवसायीले २ लाखका दरले धरौटी रकम जम्मा गरेका छन् । चोरी निकासी नियन्त्रण गर्न नसकिने अवस्था आएपछि गाउँपालिकाले संकलन गर्ने अनुमति दिएको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए ।
सेतो चिनी चोरी भएर नष्ट हुन थालेपछि संकलन पुर्जी पछि लिनेगरी वन कार्यालय र गाउँपालिकाको सहमतिअनुसार उक्त निर्णय भएको उनले बताए । बारेकोट र कुशे गाउँपालिकाको लेकमा पाइने जडीबुटी बर्सेनि जुम्ला, डोल्पालगायत जिल्लाका सिमानाबाट चोरी निकासी हुने गरेको छ । स्थानीय सरकार गठनपछि कतिपय जनप्रतिनिधसमेत प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा सेतो चिनी चोरी निकासीमा संलग्न रहेको पत्रकार महासंघका अध्यक्ष भीमबहादुर सिंहले बताए ।








