कर्णालीमा योजना निर्माणसम्बन्धी कार्यशाला

सुर्खेत,
कर्णालीको योजना निर्माण र व्यावहारिक अभ्यासबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । कर्णाली प्रदेश सरकारको समन्वयमा योजना आयोगले प्रदेश राजधानी वीरेन्द्रनगरमा दुईदिने अभिमुखीकरण कार्यशाला सञ्चालन गरेको हो ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार कार्यशालाको उद्घाटन गरेका छन् । तीन तहका सरकारबीचको अन्तरसम्बन्ध, अनुभव आदानप्रदान, दिगो विकास लक्ष्यलगायतका विषयमा छलफल गर्न अभिमुखीकरण सञ्चालन गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले बताए ।
कार्यशाला उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले कर्णालीको मौलिकतामा आधारित विकास योजना निर्माणका लागि सहयोग गर्न योजना आयोगलाई आग्रह गरे । ‘प्रभावकारी योजना विनाविकास सम्भव छैन’ उनले भने, ‘त्यसका लागि कर्णालीको आवश्यकता पहिचान गरी योजना निर्माणमा सहयोग गर्न म योजना आयोगलाई आग्रह गर्छु ।’ कर्णालीको जलस्रोत, पर्यटन, जडीबुटी, कृषिलगायतले प्रदेशको समृद्धि सम्भव हुने उनको भनाइ थियो ।










