चिकित्सक नहुँदा दन्त सेवा बन्द

जाजरकोट,अस्पतालमा दुई साता देखि दन्त सेवा बन्द भएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मी नहुँदा सेवा बन्द भएको हो । दशै मान्न घर गएकी अस्पतालमा कार्यरत डेन्टल सर्जन डा. निशा बुढामगर नफर्केपछि सेवा ठप्प भएको हो । डाक्टर नहुँदा दन्त उपचार कक्षमा ताला झुण्डिएको छ । दन्त उपचार कक्ष नखुलेकै दुई साता बढी भैसकेको छ ।
दन्त उपचार सेवामा कार्यरत सिनियर अहेव बेदबहादुर सिंहको रग्दा स्वास्थ्य चौकीमा सरुवा भएपछि डा. बुढा एक्लैले सेवा दिदै आएकी थिईन । उनी पनि विदामा बसेपछि दाँतको उपचारको लागी आउने विरामी उपचार नपाएर फिर्ता हुने गरेका छन् । छोरीको दाँत निकाल्न अस्पताल पुगेकी यमुना डाँगीले दन्त सेवा बन्द भएपछि उपचार नपाएर फर्कनु परेको गुनासो गरिन । दशै सम्म विदा लिएर घर गएकी उनको दशै विदा सकिएपछि हाजिरी रजिष्टरमा विदा समेत जनाईएको छैन । अस्पतालका प्रशासन प्रमुख दशरथ लामिछानेले दशै अघि विदा लिएर घर गएपछि दशैपछिको विदा सम्बन्धमा आफुलाई कुनै जानकारी नभएको बताए ।
अस्पलतामा डा. बुढा मात्र होइन दशैविदामा गएका अन्य चिकित्सक पनि नफर्केपछि उपचार सेवा प्रभावित भएको छ । नौ जना विशेषज्ञ चिकित्सक सहित १३ जना डाक्टरको दरबन्दी रहेको अस्पतालमा डेन्टल सर्जन र करारका सहित ६ जना मेडिकल अधिकृतको पदपुर्ती भएकोमा हाल एक जना मात्र कार्यरत छन् । अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा. धर्म रेग्मी र डा. कृष्ण जंग शाह एमडीको अध्ययनका लागी विदामा बसेका छन् । त्यस्तै अस्पतालमा कार्यरत डा. राजेन्द्र लामा र डा. केशर जंग कार्की दशै विदामा घर गएका फर्केका छैनन् । अस्पतालका प्रमुख समेत रहेका डा.लामा नफर्कदा अस्पताल अस्तब्यस्त भएको स्थानिय सेवाग्राहीको भनाई छ ।
करारमा कार्यरत डा. अमिन शाह एक्लैले जेनतेन अस्पताल चलाईरहेका छन् । उनले एक्लै हुँदा २४ सै घण्टा उपचार सेवा दिन गाह्रो भएको बताए । नौ जना विशेषज्ञ डाक्टरको पदपुर्ती नै हुन सकेको छैन । अन्य विशेषज्ञ सेवा संचालन हुन नसकेपनि प्रसुती सेवा संचालन गर्ने गरि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एक जना स्त्रीरोग विशेषज्ञ काजमा पठाउने ब्यवस्था गरिएको थियो । तर गत साउन देखि प्रतिष्ठानले काजमा विशेषज्ञ चिकित्सक नपठाउँदा जटिल खालको प्रसुति सेवा ठप्प छ । प्रसुतीका लागी आउने गर्भवति महिला सेवा नपाउँदा चौरजहारी, नेपालगञ्ज, सुर्खेत लगायतका ठाँउमा जान बाध्य भएका छन् ।
फलो अप
बल्ल आईपुग्यो औषधी
जाजरकोट अस्पतालको फार्मेसीमा औषधी आईपुगेको छ । जाजरकोटमा औषधी अभाव भन्ने समाचार अन्नपुर्णपोष्ट दैनिकमा मंगलवार प्रकाशित भएपछि औषधी आईपुगेको हो । अस्पतालको स्टोर र फार्मेसीमा अत्यावश्यक कुनैपनि औषधी नुहँदा विरामीहरु निजी मेडिकलमा जान बाध्य थिए ।
स्वास्थ्य विमा गरेका स्थानिय नागरिकहरु औषधी नपाएर हैरान भएका थिए । स्वास्थ्य विमा गरेकाहरुले सरकारी अस्पतालमा उपचार गरेको ५० हजार सम्मको औषधी निशुल्क पाउने ब्यवस्था छ । फार्मेसीमा निजी मेडिकलको भन्दा सहुलियत दरमा औषधी विक्रि गर्ने गरिएको छ भने स्वास्थ्य बिमा गरेकालाई ५० हजार सम्म निशुल्क औषधी दिने ब्यवस्था गरिएको छ । अस्पतालमा निशुल्क दिने औषधीको अभाव भने कायमै छ । १५ शैयाको जिल्ला अस्पताललाई ५० शैयाको जाजरकोट अस्पतालमा स्तरोन्नती गरिएपछि निशुल्क वितरण गरिने औषधी सरकारले पठाउन छोडेको छ । ५० शैयाको अस्पताल स्थानिय तह मातहत रहने कि प्रदेश सरकार वा संघिय सरकार मातहत रहने स्पष्ट नहुँदा कुनैपनि सरकारले औषधी तथा जनशक्ति आपुर्ती र पुर्वाधार विकासमा चासो नदिदा अस्पताल अस्तब्यस्त भएको छ । न निशुल्क औषधी पाइन्छ न विशेषज्ञ जनशक्ति छ न पर्याप्त पुर्वाधार नै । विरामीको अस्पतालले विश्वास जित्न सकेको छ नागरिक अगुवा राजेन्द्र विक्रम शाहले बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!