पढ्ने उमेरमा बालविवाह गरेको भन्दै रोकिन आमाले

जाजरकोट  ः यहाँका जनप्रतिनिधी र स्थानीय बाल सञ्जालको सक्रियतामा बालविवाह रोकिएको छ । जिल्लाको छेडागाड नगरपालिका वडा ९ का वडा अध्यक्ष गोपाल नेपाली समक्ष छोरीले बालविवाह गरेको भन्दै रोकिदिन आमा कल्पना रोकायले निवेदन दिएपछि सरोकारवाला निकायले बालविवाह रोेकेको छ ।

वडा नं ९ स्थित शेराखहरे कालिका माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय राधिका रोकाय भादौमा कोहलपुर नगरपालिका वडा नं ८ झरकट्टि निवासि १८ वर्षिय प्रेम वुढा संग भागेर कोहलपुरमा विवाह गरेकी थिईन् । घरबार सामान खरिदका लागी स्थानीय थलह बजार पुगेकी राधिका रोकाय कोहलपुरका प्रेम वुढा संग भागेर विहे गरेकी हुन् ।
उमेर नपुग्दै छोरीले विहे गरेको भन्दै राधिकाकी आमा कल्पनाले बाल विवाह रद्ध गराई छोरीलाई फिर्ता ल्याईदिन आग्रह गदै वडा नं ९ मा निवेदन दिएकी थिइन् । निवेदन दिए लगत्तै वडा अध्यक्ष गोपाल नेपाली ,वडा बालसंरक्षण समिति, प्रहरीको सक्रियतामा भदौ १२ मा उक्त बालविवाह रद्ध गदै आफन्तको जिम्म लगाएको छ । अव राधिकाले पनि नजाँनिदो तरिकाले गल्ती गरेको भन्दै बालविवाह रोक्ने अभियानमा आफु पनि लाग्ने बताईन् । जिल्लामा एक दर्जन यस्तै खालका बालविवाह रोकिएका छन् ।

बालबालिकालाई, अभिभाबकको रोहबरमा संसोधित मुलुकी ऐन लाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय जाजरकोटले विवाह स्वतः रुपमा बदर गरी अभिभावकको जिम्मा लगाएको हो ।  कानुनले दण्डनिय मानेको बालविवाह गर्ने र गराउनेलाई कुनैपनि हालतमा नछोडि कानुनको दायरामा ल्याउने जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरिक्षक रविन्द्रबहादुर सिंह ले बताए । हालै मात्र भाद्र १ वाट कार्यान्वयनमा आएको मुलुकी अपराध(संहिता) ऐन २०७४ ले विवाह गर्ने ब्यक्तिको उमेर वीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने र उक्त विपरित भएको विवाह स्वतः वदर हुने उल्लेख गरेको छ । साथै उत्त बमोजिम को कसुर गर्ने ब्यत्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैया सम्म जरिवाना तोकीएको छ ।

छेडागाड नगरपालिकाको मिति २०७४ भाद्र ५ को निर्णय अनुसार उक्त वडालाई बालविवाह मुक्त वडा निर्माणका लागि विभिन्न पहलहरु भइराखेको छ । यसै क्षेत्रमा बाल संरक्षण, बाल विवाह न्यूनीकरणका लागि सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षक मञ्चले पनि एकिकृत परियोजना मार्फत लामो समय देखी काम गर्दै आएको छन् । केही समय अघिमात्र त्यहाँको अभिभावक, बालबालिका, सरोकारवाला निकायहरुले बालविवाह नगर्न र नगराउन सार्वजनिक प्रतिवद्धता ब्यत्त गरेका थिए ।
अन्जु भट्राईको सहयोगमा तयार पारिएको सामग्री ।





error: Content is protected !!