यी हुन् साना लामखुट्टेको टोकाइबाट लाग्ने ठूला रोग

लामखुट्टेबाट टाढा रहनका लागि समय–समयमा घर र घरवरिपरिपरिको वातावरणको सरसफाइ गर्न जरुरी हुन्छ । विशेषगरी, घरको आसपासमा पानी जमेको कुनै खाल्डा छ भने त्यसलाई पुरिहाल्नुपर्छ । किनकि, लामखुट्टेको टोकाइले थुप्रै प्रकारका रोग फैलाउने गर्छ । जसमा डेंगु, मलेरियालाई आमसमस्याका रूपमा लिने गरिन्छ । तर, यति मात्र नभएर लामखुट्टेको टोकाइकै कारण कैयौँ प्राणघातक रोगसमेत लाग्न सक्छ । यी हुन् साना लामखुट्टेको टोकाइबाट लाग्ने ठूला रोग

जिका
सामान्यतः जिका समस्याको लक्षण सुरुवाती चरणमा देखिँदैन । जसका कारण मानिसलाई समस्याको पहिचान गर्न निकै गाह्रो हुन्छ । यसले आँखा रातो हुने, चर्को ज्वरो आउने, जोर्नी दुख्नेलगायतका लक्षण देखाउने गर्छ । गर्भवती महिला र शिशु यस्तो समस्याको अत्यधिक जोखिममा हुन्छन् । यस्तो समस्याले शिशुको मस्तिष्कमा असर पर्न जान्छ । यसकै कारण टाउकोको आकार पनि सानो भएर जान सक्छ । यस्तो रोग प्रायः दक्षिण–पूर्वी एसिया, ब्राजिल, क्यारेबियन मुलुक, दक्षिण र मध्यअमेरिकामा बढी फैलने गर्छ ।

वेस्ट नाइल
वेस्ट नाइल भाइरस भएको लामखुट्टेले टोक्दा सुरुमा कुनै प्रकारको लक्षण देखिँदैन । तर, केही समयपछि ज्वरो, डायरिया, जोर्नीको दुखाइलगायतका लक्षण देखा पर्ने गर्छन् । यो समस्याले गाँज्दै जाँदा मेनेन्जाइटिस र इन्सेफ्लाइटिसजस्ता ब्रेन इन्फेक्सनको समस्या हुने पनि प्रबल समस्या हुन्छ ।

एल्लो फिभर
एल्लो फिभरले जन्डिसको जस्तो लक्षण देखाउने गर्छ । यस्तो समस्या भएमा छाला र आँखा पहेँलो भएर जाने गर्छ । कसैकसैमा कम्मर, टाउको दुख्ने, बान्तालगायतका समस्या पनि हुन सक्छ । तपाईं ल्याटिन अमेरिका या अफ्रिकाजस्ता देशको यात्रा गरिरहनुभएको छ भने त्यहाँ यस्तो समस्या आमरूपमा देखिने गर्छ ।

मलेरिया
मलेरिया लामखुट्टेको टोकाइपछि सबैभन्दा बढी हुने रोग हो । यसको कारण बान्ता हुने, टाउको दुख्ने, शरीर चिसिँदै जानेलगायतका लक्षण देखिने गर्छ । मलेरियाका लागि विभिन्न औषधि उपलब्ध हुन्छन् । तर, यसबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेकै लामखुट्टेको टोकाइबाट बच्नु हो ।

चिकनगुनिया
चिकनगुनिया पनि लामखुट्टेको टोकाइबाट लाग्ने अर्को रोग हो । यस्तो रोग निको हुन लामो समय लाग्ने गर्छ । प्रायः एसिया, अमेरिका, युरोपेली मुलुकमा यस्तो समस्या देखिने गर्छ । चिकनगुनिया भन्ने शब्द अफ्रिकी भाषाबाट आएको हो । जसको अर्थ दुखाइबाट शरीर टेढो बन्ने वा आकारमा परिवर्तन आउने भन्ने हो । यस्तो रोगले टाउको दुख्ने, चक्कर आउने, बान्ता हुनेलगायतका लक्षण देखाउने गर्छ ।

डेंगु
डेंगु भएको लामखुट्टेले कुनै मानिसलाई टोकेपछि डेंगुको भाइरस मानिसको रगतमा प्रवेश गर्छ । यस्तो भाइरस दुईदेखि सात दिनसम्म मानिसको रगतमा रहने गर्छ । डेंगुको समस्याबाट ग्रसित मानिसको गिजाबाट रगत निस्कने गर्छ । यसकै कारण टाउको दुख्ने, ज्वरो आउनेलगायतका समस्या हुन्छन् । यसै पनि डेंगु ज्वरोले करिब ७ देखि १० दिनसम्म आक्रान्त पार्ने गर्छ र आफैँ निको हुन सक्छ । ज्वरोबाट प्रभावित करिब १० प्रतिशत मानिसलाई हस्पिटलको आवश्यकता पर्न सक्छ । तर, परिस्थिति गम्भीर भएमा समयमै उपचार गर्नुको विकल्प हुँदैन । नत्र बिरामीको ज्यानै जान सक्छ ।

ला क्रस इन्सेफ्लाइटिस
यस्तो भाइरस फैलाउने लामखुट्टेले विशेषगरी दिनको समयमा टोक्ने गर्छ । लामखुट्टेको टोकाइपछि प्रायः मानिसलाई हुने यस्तो समस्या वसन्त ऋतुमा सबैभन्दा बढी देखिने गर्छ ।

रिफ्ट वैली फिभर
चिकित्साविज्ञानका अनुसार यो भाइरसको बिरामी सबैभन्दा पहिला केन्यामा देखिएको हो । यो भाइरस लामखुट्टेबाट मानिस र जनावरमा फैलने गर्छ । रिफ्ट फिभर अफ्रिका, यमन र साउदी अरबमा सबैभन्दा बढी मात्रामा देखिने गर्छ । यस्तो समस्याले आँखालाई क्षति पु(याउने गर्छ । यसले मानिसलाई कमजोर महसुस गराउँछ ।





error: Content is protected !!