चार महिनादेखि रोकिएको एआइजी बढुवा प्रक्रिया सुरु,को–को छन् दाबेदार

काठमाण्डौ ः गृह मन्त्रालयले चार महिनादेखि रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक एआइजीको बढुवा प्रक्रिया बल्ल अघि बढाएको छ । गृह मन्त्रालयका अनुसार अबको एक साताभित्र एआइजी बढुवाको टुंगो लगाउने प्रक्रिया अघि बढेको हो ।
गृह प्रवक्ता रामकृष्ण सुवेदीले नेपाल प्रहरीको एआइजी बढुवा प्रक्रिया अघि बढेको संकेत गरे । उनले भने, ‘बढुवा नियमति रूपमा चल्ने प्रक्रिया हो, यो स्वाभाविक पनि छ । समय–सन्दर्भअनुसार सबैको बढुवा हुन्छ, हुनुपर्छ । गृह यसको तयारीमा लाग्नु अनौठो होइन ।’
नेपाल प्रहरीको महानिरीक्षक ९आइजिपी०मा सर्वेन्द्र खनालको नियुक्तिसँगै रिक्त एआइजी बढुवा चार महिनादेखि रोकिएको थियो । एआइजी बढुवा नहुँदा तल्लो तहका बढुवा पनि प्रभावित भइरहेको छ ।
संघीय संरचनापछि नेपाल प्रहरीमा एआइजीको संख्या निर्धारण विलम्ब भएकाले पनि बढुवा प्रक्रिया रोकिएको गृहले बतायो । सरकारको पछिल्लो निर्णयअनुसार नेपाल प्रहरीमा अब तीनवटा मात्रै एआइजीको दरबन्दी कायम गरिएको छ । खाली यी दरबन्दीमा हालका डिआइजीमध्येबाट तीनजनालाई बढुवा गरिनेछ ।
को–को छन् दाबेदार
गृहका अनुसार एआइजी बढुवा वरिष्ठताकै आधारमा हुनेछ । हालका डिआइजीहरू पुष्कर कार्की, मनोज न्यौपाने, ठुले राई, धीरु बस्नेत र सुुरेशविक्रम शाह वरिष्ठताका आधारमा अगाडि छन् । उनीहरू सबै १९ साउन ०७४ मा एसएसपीबाट डिआइजीमा बढुवा भएका थिए । उनीहरूसँगै बढुवा भएका सर्वेन्द्र खनाल अहिले आइजिपी छन् ।
अर्का डिआइजी रमेश खरेलले भने पदबाट राजीनामा दिइसकेका छन् । आइजिपी नियुक्तिमा चित्त नबुझेको भन्दै खरेलले १ वैशाखमै पदबाट राजीनामा दिइएका थिए । एआइजीका सबै दाबेदार अधिकृत ०४६ का ब्याची हुन् । ३० वर्षे कार्यकालका आधारमा उनीहरू सबैले २९ माघ ०७६ मा अनिवार्य अवकाश पाउनेछन् ।
नेपाल प्रहरीमा प्रहरी निवयमावली, २०७१ अनुसार बढुवा हुँदै आएको छ । नियमावलीअनुसार एआइजीको बढुवा मन्त्रिपरिषद् बैठकले गर्नेछ । त्यसका लागि गृहसचिवको अध्यक्षतामा प्रधानमन्त्री कार्यालयका सचिव र प्रहरी महानिरीक्षक रहेका बढुवा समिति गठन हुन्छ । सोही समितिको सिफारिसमा सरकारले बढुवा गर्ने नियम छ ।










