जाजरकोटको विकासका लागि सारथी ः पुर्व सांसद राजीव विक्रम शाह

काठमाण्डौ । निर्वाचनमा पराजय व्यहोरे पनि जिल्लाको विकास र समृद्धिका लागि आफू पछि कहिल्यै नहट्ने पुर्व सांसद राजीव विक्रम शाहले बताएका छन् । विपि स्मृति भवन सानेपामा सम्पन्न जाजरकोट काठमाडौं सम्पर्क समिति गठन कार्यक्रमको भेलामा बोल्दै पूर्व सांसद शाहले यस्तो बताएका हुन् ।

नेपाली कांग्रेसमा आबद्ध नेताहरुले जिल्लाको विकासका लागि धेरै भन्दा धेरै कार्य गरे पनि जनतालाई यसबारे प्रस्ट पार्न नसक्नु पार्टीको कमजोरी रहेको पूर्व सांसद राजीव विक्रम शाहको तर्क थियो । आफू निर्वाचित हुदा जिल्लाका विभिन्न ठाउँमा सडक, पुल, खानेपानी लगायत विकासका कार्यहरु संचालन गरेको प्रस्ट पार्दै निस्वार्थ रुपले जनताको सेवा गर्न जाजरकोटको दशेरामा सुविधा सम्पन्न अस्पताल निर्माण गरेको बारेमा विपक्षीहरुले भ्रम छरेको समेत उनले आरोप लगाए ।
त्यसैगरी विगतमा जिल्लाको विकासका लागि नेपाली कांग्रेसले निर्वाह गरेको भुमिका जनताहरुले विस्तार बुझ्दै जाने नेपाली कांग्रेस जाजरकोटका सभापति दिपक जंग शाहले दाबी गरे । आगामी दिनमा विगतका कमी कमजोरीहरुलाई सुधार गर्दै पार्टी संगठन सुधारमा लागिपर्ने बताउदै जिल्लाको विकास लागि नेपाली कांग्रेस नै निर्विकल्प पार्टी भएको उनको धारणा थियो । साथै आउदो असोज महिना देखि जिल्लामा पार्टी संगठन सुदृढिकरणका लागि गाउँगाउँ पुग्न आन्तरिक तयारी भैरहेको समेत सभापति शाहले जानकारी दिए । कार्यक्रमका सहभागीहरुले जिल्ला र गाउँमा पुगेर नेपाली कांग्रेस जाजरकोटले आफ्नो संगठनलाई सुदृढ गर्दै मजबुत बनाउनुपर्ने सुझाव दिएका थिए ।
जाजरकोट काठमाडौं सम्पर्क समितिको अध्यक्षमाः आचार्य
काठमाडौंमा रहेका नेपाली कांग्रेस निकट जाजरकोटीहरुको भेलाले शनिबार विहान जाजरकोट काठमाडौं सम्पर्क समिति गठन गरेको छ । विपी स्मृति भवन सानेपामा नेपाली कांग्रेसका महासमिति सदस्य मुक्ती प्रसाद आचार्यको अध्यक्षतामा गठन भएको उक्त समितिले ९ सदस्यीय तदर्थ सम्पर्क समिति गठन गरेको हो ।
समितिको सदस्यहरुमा मैना कार्की रावल, पुस्पराज बस्नेत, किरण सिंह, कान्ता शाह, दिपक शर्मा, ललित बस्नेत, दिपेन्द्र राणा, सुरेन्द्र सिंह रहेका छन् । तत्काल तदर्थ समितिका रुपमा गठन भएको समितिले ६ महिना भित्र कार्यसमितिलाई पूर्णता दिने छ । सम्पर्क समितिले काठमाडौंमा रहेका जाजरकोटी तथा जाजरकोट जिल्लाबासीहरुको हकहितका लागि विभिन्न कार्यहरु गर्नेछ ।
जिल्लाबासीहरु विभिन्न कामका सिलसिलामा राजधानी आउँदा उनीहरुलाई आवश्यकता अनुसार सहयोग तथा समन्वय गर्ने अध्यक्ष आचार्यले बताए । नेपाली कांग्रेस जाजरकोटका सभापति शाहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस जाजरकोटका पूर्व सांसद राजीव विक्रम शाह, पुर्व सभापति सनत कार्की, वरिष्ठ नेता बेदराज सिंह, क्षेत्र नं। १ का सभापति तथा बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाह, तरुण दल जाजरकोटका अध्यक्ष तथा कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत लगायतका नेताहरु सहित विभिन्न कार्यका सिलसिलामा काठमाडौंमा बसोबास गर्ने कर्मचारी, बुद्धिजिवी, विद्यार्थीहरु लगायत करिब ४ दर्जन व्यक्तिहरुको सहभागिता रहेको थियो ।










