तलब नपाउँदा जाजरकोटका स्वास्थ्यकर्मी आन्दोलनमा विरामी उपचारबाट बञ्चित

जाजरकोट ः भेरी नगरपालिका १ डौरीकाँडाका शुरेश रोकाय विरामी परेपछि उपचारका लागी आईतवार जाजरकोट अस्पताल पुगे तर, स्वास्थ्यकर्मीको आन्दोलनका कारण उनले उपचार पाउन सकेनन् । उनी उपचार नपाएरै घर फर्कन बाध्य भए । उनी जस्तै नलगाड ८ का शेरबहादुर खत्री पनि उपचार नपाउँदा निराश भएर घर फर्किए । यी केही प्रतिनिधी उदाहरण हुन् । उनीहरु जस्तै सयौ विरामी एक साता देखि उपचार नपाएर फर्कने गरेका छन् । पाँच महिना देखि तलब नपाएको भन्दै जाजरकोट अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले एक साता देखि आकस्मिक बाहेकका सवै सेवा बन्द गरेपछि सेवाग्राही मर्कामा परेका हुन् ।

पाँच महिना देखि तलब खान नपाएको भन्दै जिल्ला अस्पताल जाजरकोटमा कार्यरत स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएको दुई साता वितिसक्दा पनि सम्बन्धित निकायले समस्या समाधानमा कुनै चासो देखाएको छैन । हरेक महिना तलब भत्ता बुझ्दै आएका स्वास्थ्यकर्मीले लामो समय देखि तलब खान नपाउँदा आन्दोलनमा उत्रिएको बताएका छन् । दुई साता अघि कालो पट्टी बाँधेर विरोधमा उत्रिएका स्वास्थ्यकर्मीले गत आईतवार देखि आकस्मिक बाहेकका सवै सेवा बन्द गरेर विरोधमा उत्रिएका छन् । स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएपछि उपचार सेवा प्रभावित भएको छ । उपचारको लागी अस्पताल आउने सयौ विरामी उपचार नपाएर फर्कन बाध्य छन् ।

समयमा निकासा नहुँदा जाजरकोट अस्पताल र भेरीनगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले तलबभत्ता पाउन नसकेका हुन् । यस अघि हरेक महिना तलबभत्ता बुझ्दै आएका स्वास्थ्यकर्मी स्वास्थ्य संस्था स्थानिय तह मातहतमा गएपछि समयमा तलब खान नपाएको बताएका छन् । भेरी नगरपालिलका मातहतका स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा कार्यरत चिकित्सक देखि कार्यालय सहयोगीले गत फागुन देखि तलब भत्ता खान नपाएको जाजरकोट अस्पतालका प्रमुख डा। राजेन्द्र लामाले बताए । ‘भोको पेटले कसरी काम गर्न सकिन्छ । आर्थिक बर्ष सकिन लाग्दा पनि तलब निकासाबारे कुनै टुङ्गो लाग्न सकेको छैन’ हाम्रो कुरालाई कुनै पनि निकायले गंभिरतापुर्वक लिन नसक्दा दुर्भाग्य हो,उनले भने ‘तलब नपाउँदासम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’

जिल्ला अस्पतालमा कार्यरत ५७ स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी र नगरपालिकामा कार्यरत ३४ जना स्वास्थ्यकर्मीले समयमा तलब भत्ता पाउन नसकेका हुन् । गत फागुन देखि तलब खान नपाउँदा घरखर्च चलाउन समस्या भएको जिल्ला अस्पतालमा कार्यरत सिनियर अनमी गंगा रेग्मीले बताईन । मन्त्रालयबाटै निकासा नभएको भन्दै नगरपालिकाले रकम नदिएपछि तलब खान समस्या भएको हो । रात दिन नभनी चौविसै घण्टा विरामीको सेवामा खटिनु पर्ने स्वास्थ्यकर्मीलाई समयमा तलब नदिएर अन्याय गरेको उनको भनाई छ । भेरी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र शर्माले दिनहुँ विरामीको सेवा गर्ने स्वास्थ्यकर्मीले लामो समय देखि तलब नपाउँदा निराश भएको बताए । उनले स्थानिय तहमा गएपछि सेवासुविधा सहज होला भन्ने सोचेका स्वास्थ्यकर्मीले तलब नपाउँदा घरखर्च टार्न समेत समस्या भएको बताए ।

भेरीनगरपालिकाका लेखापाल डम्बर विष्टले रकम निकासा नभएकोले स्वास्थ्यकर्मीलाई तलब खुवाउन नसकिएको बताए । यस अघि निकासा भएको रकमले गत माघसम्म तलब खुवाएको त्यसपछि फेरी निकासाका लागी कोष तथा लेखा नियन्त्रण कार्यालय मार्फत स्वास्थ्य सेवा विभाग र संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयमा माग गरे पनि हालसम्म निकासा भएको नभएको उनले बताए । अर्थ, स्वास्थ्य र संघिय मामिला मन्त्रालय विच तालमेल नमिल्दा र कर्मचारीको तलब अन्य कार्यक्रमका खर्च हुँदा स्वास्थ्यकर्मीले लामो समय देखि तलब पाउन नसकेका हुन् ।

डा केसीको आन्दोलनमा ऐक्यबद्धता
जुम्लामा आमरण अन्सनरत डा। गोविन्द्र केसीको आन्दोलन प्रति सर्मथन जनाउँदै जाजरकोटका स्वास्थ्यकर्मीले ऐक्यवद्धता जनाएका छन् । स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै १५औ पटक आमरण अन्सनमा बसेका डा। केसीको सर्मथनमा जाजरकोटका स्वास्थ्यकर्मीले आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । हामीले ५ महिना देखि तलब नपाएको विरोधमा दुई साता देखि चरणबद्ध आन्दोलनमा छौ । यो आन्दोलनसँगै डा।केसीको आन्दोलनमा पनि हाम्रो पुर्ण साथ र सर्मथन छ जिल्ला अस्पतालका प्रमुख डा। राजेन्द्र लामाले भने ‘तलब पाए पनि डा।केसीको माग पुरा नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ । हामी दुवै मागलाई सँगसँगै पुरा गराउन चाहन्छौ ।’




सम्बन्धित समाचार


error: Content is protected !!