सीपले बढायो आत्मविश्वास

जाजरकोट , छेडागाड ३ अन्दरकोटकी २५ बर्षिय गिता सुनार केही समय अघि सम्म बोल्न पनि डराउँथिन । चुलोचौको र मेलापातमै सिमित उनी आर्थिक रुपमा पुरै श्रीमानको भर पर्नु पर्ने अवस्थामा थिईन तर अहिले उनको अवस्था फेरिएको छ । दुई महिने सिलाईकटाई तालिम लिए सँगै निशुल्क सिलाई मेसिन पाएपछि उनमा आत्मविश्वास बढेको छ ।
सिलाई कटाई सिके सँगै उनी अहिले सवै सँग निर्धक्क भएर कुरा गर्न सक्ने भएकी छिन । सिलाईकटाई सीपले उनमा सुन्दर भविश्वको आशा समेत जगाएको छ । ‘दिनभरी गफ गरेर त्यत्तिकै समय वित्ने गरेको थियो । श्रीमानकै कमाईमा पुरै परिवार निर्भर हुनु पथ्र्यो तर अहिले म आफै कमाउन थालेकी छु । गफ गरेर वित्ने समयमा सिलाउन थालेकी छु । दुईचार पैसा आम्दानी समेत गर्न थालेकी छु’ उनले भनिन ‘सीप सिकेपछि आत्मविश्वास बढ्दो रहेछ । केही दिनमै ब्यवसायिक रुपमै सिलाईकटाई पसल थापेर ब्यवसाय शुरु गर्ने सोचमा छु ।’
उनी जस्तै सोही ठाँउकी २७ बर्षिया कमला शर्मा पनि निकै खुसी छिन । दुई महिने निशुल्क सिलाईकटाई तालिम र मेसिन पाएपछि उनमा केही गरौ भन्ने जाँगर थपिएको छ । तालिम पछि मलाई अहिले निकै हौसला मिलेको छ उनले भनिन ‘म केही दिनमै सिलाईकटाई ब्यवसायलाई ब्यवसायिक रुपमा संचालन गरेर आत्मनिर्भर हुन चाहन्छु ।’
गिता र कमला जस्तै अन्दरकोटका २० जना महिलाले सिलाईकटाई तालिम लिएका छन् । उनीहरु सीप सिक्ने अवसर पाएकोमा निकै उत्साहित भएका छन् । घरेलु तथा साना उद्योग विकास समितिको आर्थिक सहयोगमा पहाडी क्षेत्र विकास अभियान र एभे्रष्ट क्लब दैलखको सहजीकरणमा लघु उद्यम विकास कार्यक्रम अन्र्तगत दुई महिने सिलाईकटाई तालिम प्रदान गरिएको थियो । तालिम लिएका दिदिबहिनी सिलाईकटाई समुहका ति सवै महिलाहरुलाई निशुल्क रुपमा सिलाई मेसिन,कैची, कही थान कपडा समेत दिइएको छ । कार्यक्रमको सहयोगमा समुहका लागी साझा घर समेत निर्माण भएको घरेलु तथा साना उद्योग विकास समितिका उद्योग अधिकृत इन्दिरा भुषालले बताईन । आर्थिक रुपमा पछि परेका समुदायका मानिसहरुलाई सीप सिकाई आत्मनिर्भर बनाउने लघु उद्यम कार्यक्रमको मुख्य लक्ष्य हो उनले भनिन ‘अन्दरकोटका महिलाहरु तालिम लिएपछि निकै उत्साहि भएको पायौ । हाम्रो थोरै सहयोगले उनीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने आशा लिएका छौ ।’ दुई महिना सम्म समुुहमा बस्दा सिलाई सिक्नुका साथै निर्धक्क भएर बोल्न पनि सिकेका छन् । त्यस गाँउका धेरैजसो पुरुषहरु मजदुरीका लागी भारत जाने गरेका छन् । भौगोलिक रुपमा निकै विकट त्यस गाँउका महिलाहरु आर्थिक रुपमा समेत कमजोर छन् । उनीहरु सवै श्रीमानका कमाईमा निर्भर हुँदै आएकोमा केही समय भित्रै त्यस गाँउका महिलाहरुमा परनिर्भरता हट्ने र आत्मनिर्भरता तर्फ उन्मुख हुने पहाडी क्षेत्र विकास अभियानका अध्यक्ष प्रदिप जंग शाहले बताए ।










