विद्यालय वन्द गरि खेलकुद

जाजरकोट एघारौ गणतन्त्र दिवसको अवसरमा जिल्ला खेलकुद विकास समिति जाजरकोटले आयोजना गरेको खुला फुटबल प्रतियोगिता सदरमुकाम खलंगा स्थित त्रिभुवन माध्यमिक विद्यालयको खेल मैदानमा संचालन भैरहेको छ । विद्यालयमा संचालन भैरहेको फुटबल खेलकै कारण विद्यालयको पठनपाठन बन्द हुन पुगेको छ ।
फुटबल खेल्ने कोर्ट सदरमुका भित्र अनेत्र नहुँदा प्रतियोगिता हुने वित्तिकै विद्यालयकै खेलमैदान प्रयोग गर्ने गरिएको छ । गत ११ जेठ देखि संचालन भैरहेको फुटबल खेलकै कारण पठनपाठन गर्न वन्द भएपछि विद्यालयले सोमवार र मंगलवार पठनपाठन बन्द नै गर्ने निर्णय गर्यो । आईतवार पनि दुई ओटा घण्टी मात्र पढाई गरेर विद्यालय बन्द गरिएको कक्षा ९ का छात्र अजय शर्माले बताउनुभयो । उनले सोमवार र मंगलवार पनि फुटबल खेलकै लागी विद्यालय बन्द गरिएको बताउनुभयो ।
जिल्लामा हालसम्म आयोजना गरिएका खेलमा सर्वाधिक राशीको फुटबल प्रतियोगिता हो यो । विजेतालाई एक लाख पचास हजार रुपैया र उपविजेतालाई एक लाख रुपैयाको पुरस्कारको राशी रहेको प्रतियोगितामा ९ ओटा टिमले भाग लिएका छन् । नकआउट सिस्टममा खेलाईएको खेलमा एपीएफ क्लव, खलंगा फुटबल क्लव, सल्यानको सल्लीबजार र कुदुको फुटबल टीम सेमीफाईनलमा पुगेका छन् । फाईनल खेल गणतन्त्र स्थापना दिवसका दिन मंगलवार हुदैछ ।
सदरमुकाम नै भिरालो ठाँउमा भएकोले अन्य ठाँउमा फुटबल मैदान छैन । विद्यालयमा भएको फुटबल खेलमैदानको लागी खेलकुद विकास समितिका पदाधिकारी र खेलाडीको आग्रहमा खेल मैदान उपलब्ध गराईएको विद्यालयका प्रधानाध्यापक हेरम्ब बहादुर शाहले बताउनुभयो । दिउँसो गर्मी हुने भएकोले अचेल विहान पठनपाठन हुने गरेको छ । शुरुमा विहान पढाउने र दिउसो विद्यालय बन्द भएपछि खेल खेल्ने सहमति भएको हो तर, दिउँसो खेलाडीले गर्मी मानेकाले समस्या आएको हो उनले भने–‘खेलमा विद्यालयको पनि सहभागिता रहेको र विद्यार्थीले खेल हेर्ने इच्छा प्रकट गरेपछि दुई दिनका लागी पठनपाठन बन्द गरिएको होे ।’
यसपटक मात्र होईन यो विद्यालय खेलकुद प्रतियोगिता संचालन हुँदा पटक पटक बन्द हुने गरेको छ । जिल्लाभर अन्य ठाँउमा उपयुक्त खेलमैदान नुहँदा जुनसुकै प्रतियोगितमा पनि यसै विद्यालयको खेलमैदान प्रयोग गर्ने गरिएको छ । विद्यालय स्तरीय प्रतियोगिता देखि जिल्ला र अन्तरजिल्ला स्तरीय खेलकुद प्रतियोगित पनि यसै विद्यालयमा हुने गरेको छ । खेलकुद प्रतियोगिताकै कारण कम्तिमा १५ दिन विद्यालय बन्द हुने गरेको स्थानिय अभिभावक जीतबहादुर सुनारले बताउनुभयो । उनका अनुसार मध्यपुसमा लाग्ने रमाईलो मेला पनि यसै विद्यालयमा लाग्ने गरेको छ । रमाईलो मेलाका कारण हरेक बर्ष कम्तिमा एक साता विद्यालय बन्द हुने गरेको छ । बैकल्पिक खेल मैदानको विकल्प नसोच्दासम्म खेलकुदकै कारण पठनपाठन प्रभावित भैरहने छ ।









