सामुदायिक विद्यालयले शुल्क लिन नपाउने

रुकुम पश्चिम बाँफिकोट गाउँपालिकाका सामुदायिक विद्यालयले अभिभावकबाट शुल्क लिन नपाउने भएका छन् । गाउँ कार्यपालिकाको बैठकले सामुदायिक विद्यालयमा अभिभावकबाट कुनै वहानामा शुल्क लिन नपाउने निर्णय गरेको हो ।

बाँफिकोटमा ४४ सामुदायिक विद्यालय छन् । अस्थायी अनुमति मात्रै पाएका तर, निजी स्रोतबाट तलव भत्ता खुवाउने गरी नियुक्त गरिएका शिक्षकको तलव, कार्यालयको अन्य व्यवस्थापन तथा भौतिक निर्माणका लागि भन्दै विद्यालयहरूले अभिभावकबाट शुल्क लिने गरेका छन् । त्यसका लागि गाउँपालिकाले आवश्यक गृहकार्य थालेको छ । विद्यालयको अनुगमन, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, प्रध्यानाध्यापक लगायतसँग वडा तथा गाउँपालिका स्तरमा छलफल तथा अन्तरक्रिया भैरहेको छ ।

शैक्षिक अनुगमन समितिका संयोजक चन्द्रबहादुर केसीले अभिभावकले शुल्क तिर्नुपर्ने अवस्थाको अन्त्यका लागि आवश्यक गृहकार्य भैरहेको बताए । ‘कानुनतस् निस्शुल्क भनिएको छ, तर अभिभावकले पैसा नतिरेर छोराछोरी पढाउन सक्नुभएको छैन, अब त्यसो नहुने गरी काम भैरहेको छ,’ संयोजक केसीले भने, ‘शिक्षा नीतिमै अभिभावकबाट शुल्क नलिने उल्लेख गरिएको छ ।’ निजी स्रोतबाट तलवभत्ता बेहोर्ने गरी शिक्षक नियुक्त गरिएका विद्यालयमा शिक्षक दरबन्दीको व्यवस्था गरेर अभिभावकबाट लिइने शुल्क हटाउन खोजिएको उनको भनाइ छ ।

‘दरबन्दी मिलान र दरबन्दी कायम गरेर समस्या समाधान गर्ने प्रयासमा हामी छौं,’ गाउँ शिक्षा समितिका संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले भने, ‘नैसर्गिक अधिकार र निस्शुल्क बनाइएको शिक्षालाई व्यवहारिक कार्यान्वयन गराउन खोजिएको छ ।’ शुल्क तिर्न नसकेकै कारण कोही बालबालिका विद्यालयबाट बञ्चित नहुने गरी काम हुने अध्यक्ष केसीले बताए । रजिष्ट्रेशन र परीक्षा फाराम शुल्क बाहेक अन्य भर्ना, अभिभावक, कम्प्युटर लगायतका शीर्षकको शुल्क अब विद्यालयले लिन नपाउने भनाइ उनको छ ।

निजी स्रोतका शिक्षक नै नरहने भएपछि अभिभावकले पनि मासिक रुपमा विद्यालयलाई शुल्क तिरिनहरनुपर्ने अवस्था सिर्जना हुने अध्यक्ष केसीले बताए । ‘अब बाँफिकोटमा निजी स्रोतका शिक्षक भन्ने रहदैन, न्यूनतम तलव स्केलमा शिक्षक नियुक्त गर्ने र उनीहरूको तलव गाउँपालिकाले नै व्यहोर्ने निर्णय भएको छ,’ अध्यक्ष केसीले भने । निजी स्रोतका शिक्षक नराखेर न्यूनतम तलव स्केलमा शिक्षक नियुक्त गर्ने र विद्यालय समायोजनलाई प्रभावकारी बनाउने योजनामा बाँफिकोट गाउँपालिका छ । उनका अनुसार आधारभूत तहमा प्रतिकक्षा २५ र मावि तहमा प्रतिकक्षा ३५ विद्यार्थी संख्या निर्धारण गरिएको छ । १–३, १–५, १–८, १–१० र १–१२ कक्षा सञ्चालनका लागि न्युनतम भौतिक पूर्वाधार तथा विद्यार्थी संख्या तोकिएको उनले बताए । एक विद्यालयदेखि अर्को विद्यालय पुग्ने न्यूनतम दूरी पनि कायम गरिएको छ ।

शिक्षा समितिले कायम गरेको मापदण्डको आधारमा शैक्षिक कार्यक्रम संचालन गरिने जनाइएको छ । अबदेखि बाँफिकोट गाउँपालिकाको कुनै पनि ठाउँमा संचालित १–३ सम्मको विद्यालयको लागि ५ कोठाको भवन, १–५ का लागि ८ र १–८ का लागि १२ कक्षा कोठा तोकिएको छ । त्यस्तै १ देखि १० का लागि १६ र १ देखि १२ का लागि २२ कोठाको विद्यालय भवन हुनु अनिवार्य छ ।

हरी गौतम (कान्तिपुरबाट)





error: Content is protected !!