मोदीका लागि मुक्तिनाथमा पाँच हेलिप्याड, ६०० मिटर रेड कार्पेट बिछ्याइने

सञ्जय रेग्मी 

पर्वत , भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने हेलिकप्टर अवतरणका लागि मुक्तिनाथ मन्दिर परिसरमा पाँच वटा हेलिप्याड बनाइएको छ। हेलिप्याडबाट मन्दिर पुग्न बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका कार्यालयले ६०० मिटर रातो कार्पेट लगाउने तयारी गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए।

यस्तै, हेलिप्याडदेखि मन्दिरको मूल ढोकासम्म छ वटा स्वागतद्वार निर्माण गरिँदै छन्। मन्दिर नजिकै विश्रामस्थलका रूपमा विशिष्ठ अतिथि कक्षसमेत तयार गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिए। नेपालस्थित भारतीय दूतावास र सञ्चार माध्यमका प्रतिनिधि पनि मुस्ताङ आउने क्रम बढेको छ। शनिबार बिहान ७ः२० मिनेटमा भारतीय प्रधानमन्त्री मोदी मुक्तिनाथ मन्दिरको आइपुग्ने बताइएको छ। उनी मुस्ताङमा झण्डै १ घण्टा रहने मोदीले मन्दिरमा विशेष पूजाआजा गरेपछि काठमाडौं फर्कने कार्यक्रम छ।

जिल्लाको सुरक्षा प्रबन्ध मजबुत बनाइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक रामहरि पाण्डेले बताए। बुधबार राति मन्दिर परिसरमा परेको हिउँ पग्लिएको र शुक्रबार बिहानैबाट मुस्ताङमा घाम लागिरहेको प्रहरी जानकारी दिए। बिहीबार साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले भारतीय प्रधानमन्त्री मोदीको भ्रमण सुरक्षाका लागि मुक्तिनाथ मन्दिर परिसरमा २० घण्टा आवातजावतमा रोक लगाउने निर्णय गरेको छ। शुक्रबार दिउँसो ४ बजेदेखि शनिबार मध्याह्न १२ बजेसम्म मुक्तिनाथ मन्दिर परिसरमा आवातजावत बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए।





error: Content is protected !!