चुनावी वाचा पूरा गर्दै मेयर भेरीमा र्‍याफ्टिङ सुरु

स्थानीय तह पहिलो चरणको निर्वाचन हुँदा जाजरकोटको नलगाड नगरपालिकाका मेयरका उम्मेदवार टेकबहादुर रावलले २२ बुँदे घोषणापत्र जारी गरे । त्यसको चौथो नम्बरमा थियो, भेरी नदीमा र्‍याफ्टिङ सञ्चालन गर्ने । चुनाव जितेको ९ महिनापछि मेयर रावलले वाचा पूरा गर्दै बिहीबारदेखि भेरी नदीमा र्‍याफ्टिङ सुरु गरेका छन् ।

‘मैले गरेका वाचा पूरा गर्दै
लगेको छु, त्यही क्रममा र्‍याफ्टिङ सुरु गरेका हौँ,’ मेयर रावलले भने । बिहीबारदेखि नलगाड नगरपालिका–८ मैदेदेखि वडा नं। २ छेप्कासम्म भेरी नदीमा र्‍याफ्टिङ सञ्चालन गरिएको छ ।

भेरी र्‍याफ्टिङ एक्सप्लोर प्रालिसँग मिलेर र्‍याफ्टिङ सुरु गरिएको हो । नगरपालिका क्षेत्रभित्रको सात किलोमिटर नदीमा र्‍याफ्टिङको आनन्द लिन सकिनेछ । ‘अहिले त स्थानीय बासिन्दा र्‍याफ्टिङ गर्न डराएका छन्, विस्तारै बुझ्दै जालान्,’ सञ्चालक टकबहादुर घर्तीले भने ।

मेयर रावलले पहिलो वाचामा रहेको टेलिफोन सेवाका लागि काम भइरहेको बताए । दोस्रो, इन्टरनेट सेवा नगरपालिकामा सञ्चालन गरिसकिएको छ भने तेस्रो, नगरपालिकालाई सडक सञ्जालमा जोडिएको छ । ९ महिनाको अवधिमा गरिएका कामले अन्य वाचा पनि पाँच वर्षको अवधिमा पूरा गर्न सकिने आत्मविश्वास बढेको मेयर रावलको भनाइ छ ।

स्थानीयलाई ‘गाइड’ तालिम
भेरी र्‍याफ्टिङ एक्सप्लोर प्रालिले स्थानीय युवालाई ‘गाइड’को तालिम पनि दिन थालेको छ । यहाँकै युवालाई गाइड बनाउन तालिम दिन थालिएको सञ्चालक घर्तीले बताए । ‘र्‍याफ्टिङका लागि स्थानीय जनशक्ति तयार हुन्छ, युवालाई रोजगारी पनि मिल्छ,’ उनले भने ।

एकहप्ते तालिममा स्थानीय दस युवा सहभागी रहेका छन् । नलगाड र भेरी नगरपालिकाका पाँच–पाँच युवा गाइडको तालिम लिइरहेका छन् ।

से–फोक्सुन्डोदेखि सुर्खेतको लक्ष्य
अहिले मैदेदेखि छेप्कासम्म सञ्चालन भइरहेको र्‍याफ्टिङलाई यो महिनाभित्रै विस्तार गरिने जनाइएको छ । रुकुमको राडीदेखि जाजरकोटको नलगाडसम्म सञ्चालन गरिने मेयर रावलले बताए । ‘अन्य स्थानीय सरकारसँग मिलेर यसको विस्तार गर्छौं,’ उनले भने ।

भेरी र्‍याफ्टिङ एक्सप्लोर प्रालिले भेरी नदीमा गरेको अध्ययनअनुसार,से–फोक्सुन्डोदेखि सुर्खेतको भेरी पुलसम्म र्‍याफ्टिङ गर्न सकिन्छ । ‘भेरी नदीमा सफा पानी भएकाले निकै सजिलो छ,’ प्रालिका सञ्चालक घर्तीले भने । छिट्टै से–फोक्सुन्डोदेखि सुर्खेतको भेरी पुलसम्म र्‍याफ्टिङ सञ्चालन गरिने उनले बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!