चामल ढुवानी नगर्ने ठेकेदार कालोसूचीमा

जाजरकोट , ढुवानीको जिम्मा लिएर समयमा चामल ढुवानी नगर्ने ठेकेदारलाई नेपाल खाद्य संस्थानले कारबाही गरेको छ। संस्थानले खाद्य संकट परेको बारेकोटस्थित घाट खाद्य डिपोमा चामल ढुवानी गर्न अटेर गर्ने सरोज एन्ड सपना सप्लायर्स भेरी २ लाई कालोसूचीमा राखेर ठेक्का सम्झौता तोडेको छ।

एक हजार क्विन्टल ढुवानी गर्ने गरी ठेक्का स्वीकृति गराएका सरोज एन्ड सपना सप्लायर्सले एक सय १९ क्विन्टल मात्र ढुवानी गरेको र अरु चामल ढुवानी गर्न आनाकानी गरेपछि कालोसूचीमा राखेर कारबाही गरिएको नेपाल खाद्य संस्थान जाजरकोटका निमित्त प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए। गाँउमा चरम खाद्य संकट पर्दा पनि चामल ढुवानी नगर्ने सप्लायर्स कारबाहीमा परेको उनले बताए।

‘सप्लायर्सलाई बारम्बार ताकेता गर्दा पनि अटेर गरेपछि कारबाही गरिएको हो’, उनले भने, ‘ठेक्का तोडेर नयाँ टेन्डर भैसकेको छ। केही दिनमै नयाँ ठेकेदारलाई ढुवानीको जिम्मा दिने तयारी भैरहेको छ।’

सरकारले चालु आर्थिक वर्षमा नायकवाडाको घाट खाद्य डिपोका लागि एक हजार क्विन्टल चामलको कोटा निर्धारण गरेको थियो। सरकारले खाद्यान्न न्यून हुने जिल्लाका लागि खाद्यान्न ढुवानीमा अनुदान दिँदै आएको छ। चामलमा ढुवानी अनुदान दिँदा स्थानीयले सस्तोमा खाद्यान्न पाउँछन् तर ठेकेदारले समयमा खाद्य ढुवानी नगर्दा बर्सेनि दुर्गमका बासिन्दा खाद्य संकट झेल्न बाध्य छन्। चामल ढुवानीको जिम्मा लिएको सरोज एन्ड सपना सप्लायर्सका प्रोपराइटर प्रजित सुनारले समयमा ढुवानी नगर्दा समस्या भएको हो। चामल लिन डिपो आएका सर्वसाधारण नपाउँदा रित्तै फर्कन थालेका छन्। डिपोमा चामल नभएपछि डिपो प्रमुख रुद्र देवकोटा जिल्ला सदरमुकाम फर्किएका छन्।

ठेकेदारले किन गरेनन् ढुवानी
खाद्य संस्थानका अनुसार कालोसूचीमा परेको सप्लायर्सले जाजरकोट खलंगा खि डिपोसम्मको ढुवानी घटाघटमा प्रतिक्विन्टल एक हजार चार सय ७५ रुपैयाँमा दररेट स्वीकृति गराएको थियो। तर, त्यहाँ चामल ढुवानी गर्न कम्तीमा एक हजार आठ सय रुपैयाँ प्रतिक्विन्टल ढुवानी दर लाग्ने गरेको छ। सप्लायर्सले चामल ढुवानी नगर्ने र बाटोमै चामल बिक्री गर्ने नियतले कमदररेटमा टेन्डर हालेको देखिन्छ। स्वीकृत दरमा ढुवानी उनलाई प्रतिक्विन्टल करिब तीन सय रुपैयाँ घाटा हुने देखिन्छ।

चामल ढुवानी गर्नुपर्ने दबाब परेपछि घाटा सहेर ढुवानी गर्नुभन्दा उनी कारबाही भोग्न तयार भएका हुन्। गत वर्षहरूमा डिपोमा कर्मचारी नहुँदा बाटोमै बिक्री गर्ने र सबै चामल ढुवानी नगर्ने भएकाले कमदर रेटमा पनि ठेकेदारले फाइदा लिने गरेका थिए। त्यही प्रक्रिया अपनाउनका लागि नै ठेकेदारले ढुवानी गर्न आनाकानी गरिरहेका थिए।

तर, यसपटक जनप्रतिनिधि आएको र डिपोमा पनि कर्मचारी भएपछि ठेकेदार चामल ढुवानी गर्नु पर्ने दबाबमा परेका हुन्। तर, ढुवानीको जिम्मा लिएका सप्लायर्सका प्रोपराइटर सुनारले खच्चड नपाइएको र बाटो अप्ठ्यारोे भएकाले चामल ढुवानीमा ढिलाई भएको स्वीकार गरे। उनले असारसम्म ढुवानी गर्ने सम्झौता भए पनि बीचमै टेन्डर तोडेको र आफ्नो फर्मलाई कालोसूचीमा राखेकोमा आफू अदालत जाने बताए। कारबाहीसँगै धरौटी ७३ हजार रुपैयाँ पनि गुमाएका छन्।

किन हुन्छ सँधै खाद्य संकट
बारेकोट साविकका सक्ला, रामीडाँडा, रोकायगाँउ र नायकवाडा गाविस मिलाएर बनाइएको गाँउपालिका हो। यो गाँउपालिका जुम्लासँग सिमाना जोडिएको दुर्गम गाउँपालिका हो। यहाँ उत्पादित अन्नले ६ महिना पनि पुग्दैन। आयस्रोतका अन्य माध्यम नहुँदा स्थानीय रोजगारीका लागि भारत ९कालापहाड० जाने गर्दछन्।

उच्च लेकाली भूभाग भएकाले धान उत्पादन न्यून हुन्छ। जौ, गहँु, मकै, कोदो, फापर फल्ने यस क्षेत्रमा स्थानीय उत्पादनमा खासै जोड दिईँदैन। सबै खाद्यको चामलमा भर पर्छन्। श्रम गर्ने बानी हटिसक्यो स्थानीय वीरेन्द्रऐश्वर्य माविका प्रधानाध्यापक गोरखबहादुर सिँह भन्छन् , ‘भाते बानीले गर्दा पनि बारेकोटमा सँधै चामलको अभाव हुने गरेको हो। खाद्य संकट नै होइन भात संकट हो। स्थानीय खाद्यान्न पोषणयुक्त भए पनि दुख्ख गर्ने बानी नभएका कारण समस्या देखिएको हो।’

श्रम गर्ने युवा जति कामको खोजीमा भारत लगायतका खाडी मुलुकमा गएका छन्। गाउँमा बालबालिका, महिला र वृद्धवृद्धा मात्र छन्। अधिकांश जमिन बाँझै छ। त्यही भएर सबै मानिस चामलमै निर्भर रहने भएकाले यहाँ खाद्य संकट पर्ने गरेको उनको भनाइ छ। यहाँको अधिकांश जमिन सिँचाइ सुविधा नभएको र भिरालो छ।

सदरमुकाममा विकेन डिपोमा पुगेन
जिल्ला सदरमुकाम खलंगास्थित खाद्य संस्थानमा बिक्री नभएर चामल थन्किएको छ। तर, ग्रामीण भेकमा रहेका खाद्य डिपोमा भने चामल नपुगेर स्थानीय हैरान छन्। प्रत्येक डिपोका लागि एक हजार क्विन्टल चामलको कोटा निर्धारण गरिए पनि हालसम्म बारेकोटको घाट डिपोमा एक सय १९, दशेरास्थित खाद्य डिपोमा तीन सय २९ क्विन्टल, पजारुको घोगीमा तीन सय ५१ र रग्दाको चौखामा सात सय क्विन्टल चामल ढुवानी गरिएको छ। बारेकोटको सबै सकिएको र अन्य डिपोको पनि खाद्यन्न सकिन थालेको छ तर, जिल्ला सदरमुकाममा चामल बिक्री हुन छोडेको छ। गाँउमा नपाएपछि एक दिन पैदल हिडेर सदरमुकामबाट बारेकोटबाट चामल लैजादै एक युवती।




सम्बन्धित समाचार


error: Content is protected !!