डोल्पामा स्थानीय सरकारको उपहार,जनतालाई सिटामोलको हाहाकार !

दुनै(डोल्पा) ४ फागुन , यहाँको त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गतका पाँचवटै स्वास्थ्य चौकीहरुमा औषधिको चरम संकट परेको छ ।
नगरपालिका कार्यालय देखि १० मिनेटको दुरीमा रहेको त्रिपुरा स्वास्थ्य केन्द्र त्रिपुराकोट,पहाडा,लिकु,सुँ र ल्हाँ स्वास्थ्य केन्द्रमा औषधिको चरम संकट परेको हो ।

उक्त नगरपालिका अन्तर्गतका पाँचवटै स्वास्थ्य केन्द्रमा गत मंसिर देखिनै औषधिको मौज्दात घट्दै गएतापनि सम्बन्धित निकायको ध्यायन पुग्न सकेको छैन ।

जिल्ला अस्पताल डोल्पाले असोजको पहिलो सातामा पठाएको १ लाख ५० हजार बराबरको औषधीले मंसिर महिनाको दोस्रो सातासम्म जेनतेन पाँचवटा स्वास्थ्य केन्द्रले धानेका थिए ।

“अहिले औषधीको नाममा सिटामोल सम्म पनि छैन,दिनमा सरदर १० देखि २० जनाकोे हाराहारीमा बिमारी आउँछन तर सिटामोल,ग्यास्ट्रिक,एन्टिबाईटिक लगाएतको औषधि समेत नभएकाले सामान्य काउन्सिलिन गरेर खाली फर्काउने गरेका छा” त्रिपुराकोट स्वास्थ्य केन्द्रकी निमित्त प्रमुख सृजना रोकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो “स्थानीय तह बनिसकेपछि यस मातहतका सबै स्वास्थ्य केन्द्रहरुको रेखदेख तथा औषधी ब्यवस्थापन लगायतको सबै जिम्मा नगरपालिकामा सरेको छ,उसैले ओषधी खरिद गर्नु पर्ने हो तर बारम्बार जानकारी गराउदा समेत नगरका पदाधिकारीले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा ध्यान दिन चाहेका देखिँदैन् ”।

“नगरका कुनाकाप्चामा रहेका बस्तीहरुबाट घन्टौँ हिँडेर बिरामिहरु आउने गर्दछन्,सिटामोल मागेका उनीहरुलाई छैन भन्दै फर्कानु पर्ने बाध्यता छ“ उहाँले भन्नुभयो ।

स्वास्थ्य उपचारकालागि बिरामि परेर अस्पताल आएका बिरामि निराश भएर घर र्फकने गर्दछन् भने कोही सामान्य सिाटामोलसम्म पनि नपाएको झोकमा औषधि नभएको अस्पताल खोलेर के काम,बन्द गरेहुन्छ भन्दै कर्मचारीलाई नानाथरी गाली गरेर फर्किने गरेको समेत रोकायले बताउनुभयो ।

त्रिपुराकोट स्वस्थ्य केनद्रमा कुनै पनि सेवाको लागि औषधी नभएपछि स्वस्थ्यकर्मिहरु घाम तापेर बस्ने बाध्य भएका छन् ।
त्रिपुरा स्वास्थ्य चौकी जस्तै लिकु,पहाडा,ल्हाँ र सुँ स्वास्थ्य केन्द्रको अवस्था पनि उस्तै हो ।त्यहाँ पनि सामान्य औषधि समेत नपाईने अवस्था छ स्वास्थ्य चौकी ईन्चार्जहरुले गुनासो गरे ।

पहाँडा र लिकु स्वास्थ्य चौकीमा समेत औषधि एक हप्ताकोलागि मात्र पुग्ने मौज्दात रहेको पहाडा स्वास्थ्य चौकीका ईन्चार्ज कृष्ण कार्कीले बताउनुभयो ।

सिटामाले,पखाला लगाएतको औषधि एक हप्ताकोलागि पुग्ने भएपनि एमोक्सोसिलिन लगाएतको औषधि सकिएने कार्कीले बताउनुभयो ।

त्रिपुरासुन्दरी नगरपालिका अन्तरगतका पाँच स्वास्थ्य केन्द्रहरुको स्वास्थ्य संयोजक रहेका सन्जयकुमार मण्डल पनि प्राय जसो जिल्ला अस्पतालमा बस्ने गरेको र स्वास्थ्य केन्द्रहरुमा कहिलेकाँही मात्र देखिने गरेको स्वास्थ्यकर्मिहरुको भनाई छ ।

त्रिपुराकोट स्वास्थ्य केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा नं १ का अध्यक्ष कर्मसिंह थापाका अनुसार औषधी अभाब भएको ब्यहोरा नगरपालिकालाई बारम्बार जानकारी गराउदा समेत सुनुवाई नभएको बताउनुभयो ।

जहाँ पनि बहुमतकै हालिमुहाली चल्ने रहेछ,नगरमा एमालेका अध्यक्ष धेरै छन्,काङ्ग्रेसको अल्पमतमा रहेकाले हाम्रो कुनै पनि कुरा सुनुवाई हुँदैन औषधिको कुरा पनि यस्तै उहाँले गुनासो गर्नुभयो ।

नगर परिषद् सम्पन्न भईसक्दा पनि स्वास्थ्य चौकीकालागि औषधि जिल्ला अस्पताललेनै उपलब्ध गराउँछ भन्ने बिषयमा अलमलहुँदा पनि औषधिको अभाव भएको जनप्रतिनिधिहरुले स्विकार गरे ।

गत पुस १ गते बसेको नगरको कार्यपालिकाको बैठकले १५ लाख रुपैया औषधी र उपकरण खरिद भनेर निर्णय भएपनि तर जनप्रतिनिधिको बेवास्ताका कारण औषधि खरिदमा ढिलाई भइरहेको निमित्त कार्यकारी अधिकृत हिराचन्द्र धरलाले बताउनुभयो ।

त्रिपुराकोट स्वास्थ्य केन्द्र नगरपालिकाको केन्द्रमा रहेकाले बिमारीको चाप बढी हुने र औषधी पनि बढी नै खपत हुने भएकाले छिटो भन्दा छिटो औषधी खरिदका लागि आफुले नगरप्रमुख ओमबहादुर बुढालाई पहल गरिरहेको पनि निमित्त कार्यकारी धरलाले जानकारी दिनुभयो ।

“जिल्ला अस्पतालले चलाई रहंदा यस्तो समस्या थिएन ।तर सिंहदरवारको अधिकार घरघरमा आएपछि स्थानीय सरकारले पहिलो उपहारको रुपमा आफुहरुलाई औषधी संकट दिएको” त्रिपुरासुन्दरी नपा १ का आइतराम सार्कीले भन्नुभयो ।

उहाँले भन्नुभयो“स्थानीय सरकार भएमा स्थानीयका समस्या हेर्ला खाद्यान्न,औषधी लगायतका समस्याहरुबाट मुक्ति पाइएला भन्ने ठानेका थियौ तर झनै समस्या पो थपिन थाल्यो ”।

पाँच दिनसम्म ज्वरोले थलिएर औषधी उपचारको लागि स्वास्थ्य केन्द्र पुगेकी ६० वषीया नौसरा बुढाले भन्नुभयो “औषधी छैन अस्पताल गएमा पनि खाली फर्काउँछन् भन्ने सुनेको थिए तैपनि मनले मानेन आइहाले तर नभन्दै सिटामोल पनि छैन आमा भनेर फर्काए डाक्टरसाबहरुले ”।अब मेडिकलबाट औषधि किन्नुपर्ला उहाँले थप्नुभयो ।

स्वास्थ्य संस्थाहरुमा सरकारले निशुल्क रुपमा ३५ ओटा औषधीहरु उपलब्ध गराउदै आएको बताएपनि डोल्पाका अधिकांश स्वास्थय केन्द्रहरुमा औषधीनै छैन ।

पहाडा स्वास्थ्य केन्द्रका प्रमुख कृष्ण कार्कीले पनि पहडामा औषधी नभएर सर्बसाधारणहरु मारमा परेको बताउनुभयो ।
औषधीको चरम संकट भएकाले जिल्ला अस्पतालमा मौज्दात भएको औषधी पठाइदिन अनुरोध गरिएको पनि कार्कीले बताउनुभयो ।

जिल्ला अस्पताल दुनैका प्रमुख डाक्टर श्रीकान्त अग्रवालले स्वास्थ्य केन्द्रहरुमा स्थानीय निकायले जिम्मेवारी लिएपछि समस्या समाधानको साटो झनै बल्झिन थालेको बताउनुभयो ।

औषधी छैन भन्ने पहिले देखिनै सुनेको हो तर नगरपालिकाले औषधी खरिद गर्छ भनेर बाटो हेर्दा तर औषधि खरिद भएन, सबैको दवाव पछि जिल्लामा मौज्दात रहेको केहि औषधी पठाउन लागेको उहाँले जानकारी दिनुभयो ।

मानिसको जीवनंग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य संस्था जस्तो संवेदनशिल क्षेत्रमा जनप्रतिनिधि उदासिन देखिदा यस्तो समस्या देखिएको सरोकारवालाहरुले बताए ।

रामचन्द्र न्यौपाने





error: Content is protected !!