सदरमुकाम जोड्ने मुख्य पुलको अवस्था नै बेहाल

मुगु सदरमुकामदेखि गमगढीसम्म जोड्ने जिल्लाकै पुरानो झोलुङ्गे पुल जिर्ण बनेपछि आवतजावत जोखिमपूर्ण बनेको छ । सो पुल २०३२ सालमा निर्माण भएको थियो । स्थानीय र पशुचौपायको धेरै मात्रामा आउजाउ भएपछि चाप बढ्दा पुल जिर्ण भएको हो ।

पुलमा हिँड्दा लिर्लिङलिर्लिङ हल्लिने, ठाउँ–ठाउँमा प्वाल परेको र तारजालीमा लगाइएका लठ्ठा खिँइदै गएपछि पुलको यात्रा जोखिमपूर्ण बनेको हो । दैनिक १२ सय बढी घोडा, खच्चर, गाई, भैसी, भेडाबाख्रालगायतका पशुचौपायलाई उक्त पुलबाट स्थानीयले तार्ने गर्छन् । सोरु गाउँपालिका, छाँयानाथ रारा नगरपालिकाका अधिकांश नागरिकहरु पुलको सहारामा अमावतजावतमा गर्छन् ।

सोही पुलको बाटो हुँदै छिमेकी जिल्लाबाट पनि नागरिकले उल्लेख्य मात्रामा आवतजावत गर्छन् । ‘जिल्लाकै पुरानो पुल तर्न डरलाग्ने भइसक्यो,’ रुगा गाउँका छ्यात्ते लावडले भने,‘मान्छे र चौपायवस्तुको बढी चापले पुल भत्किने भइसक्यो । सरकारले यो पुल भत्काएर अर्को बनाई दिए हुन्थ्यो ।’

माओवादीले जनयुद्धका बेला भत्काएको सो पुल शान्ति स्थापनासँगै दुर्गम क्षेत्र विकास समितिले पुनर्निर्माण गरेको थियो । सदरमुकाम जोड्ने पुल चाँडो मर्मत गरिदिन दुर्गम क्षेत्र विकास समितिसँग स्थानीयले मागसमेत राखेका छन् । गाडी तार्नका लागि भट्टेचौर नजिकै ‘ट्रस ब्रिजी’ निर्माण कार्य अघि बढेकाले झोलुङ्गे पुलको मर्मत गर्न आवश्यक नभएको जिल्ला प्राविधिक कार्यालयको भनाइ छ ।





error: Content is protected !!