सुत्ने बेलामा पनि मतपेटिकाकै झल्को आउँछ’

रामकृष्ण अधिकारी

‘दिनभर पार्टीका कार्यक्रम, दोस्रो चरणको चुनाव हुने जिल्लाको तयारीको दौडधूपले थकित भइन्छ । बेलुकी सुत्ने बेला आफ्नो क्षेत्रको बन्दकोठाभित्र रहेको मतपेटिकाको सम्झना आउँछ,’ ओखलढुंगाका कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार रामहरि खतिवडाले मतपरिणाम कुर्दै बस्नुपर्दाको अनुभूति सुनाए ।
उनी एमालेका यज्ञराज सुनुवारसँग प्रतिस्पर्धामा छन् ।

त्यहाँ पहिलो चरणअन्तर्गत मंसिर १० मा निर्वाचन भइसकेको छ । मतपेटिका तीनवटा सुरक्षा घेरामा सिलबन्दी गरेर राखिएको छ । आफू निर्वाचन लडेको क्षेत्रको मतपेटिका बन्दकोठाभित्र थन्क्याएर उनी उदयपुरको चुनावी कार्यक्रममा व्यस्त छन् । तर, उनको मन भने आफ्नै क्षेत्रको मतपेटिकामा छ।

‘सुत्ने बेला मतपेटिका सम्झन्छु, एकछिन बहलाउँछु र मन कुदाउँछु,’ खतिवडाले भने, ‘सरसर्ती ओखलढुंगाको सबै पाखा-पखेरा दिमागमा आउँछन्, अनि आफैँ मनमनै समीक्षा गर्छु । चुनाव जित्ने नै देख्छु र निदाउँछु ।’

उनले निर्वाचन जित्लान्÷हार्लान्, परिणाम कुर्न अझै साता-१० दिन कुर्नै पर्छ । तर, उनी आफूलाई एसएलसीको परीक्षा दिएर परिणाम कुरेर बसेको विद्यार्थीका रूपमा अथ्र्याउँछन् । ‘एसएलसी दिएर बसेका विद्यार्थीमा आफैँले नदेखेसम्म कौतुहलता जागिरहन्छ, अहिले मलाई पनि त्यस्तै भइरहेको छ,’ खतिवडा भन्छन्, ‘जनताले जित्छस् भन्छन्, उत्साही पनि छु तैपनि परिणाम घोषणा कुरेर बसेको छु।’

नुवाकोट १ मा कांग्रेसका प्रभावशाली नेता डा. रामशरण महतसँग चुनाव लडेका माओवादी केन्द्रका हितबहादुर तामाङको अवस्था पनि त्यस्तै छ । मतपेटिकामा कैद भएको सम्भावित परिणामले उनलाई हुटहुटी जगाउँछ । यसअगाडिका दुईवटा निर्वाचनमा (०६४ र ०७०) महतसँगै पराजित भएका तामाङ यसपटक आफ्नो जितमा विश्वस्त देखिएका छन् ।

महिनौं दिनसम्म मिहिनेत गरेर ल्याएको परिणाम र जनताले दिएको मत बन्दकोठाभित्र सिलबन्दी गरेर राख्न लाग्दा उनी केहीबेर भावुक बनेका थिए । ‘आफ्नै नजिकका नातेदारलाई कुनै अस्पतालमा चिकित्सकको जिम्मा लगाएजस्तो महसुस हुँदो रहेछ,’ तामाङले अन्नपूर्णसँग भने, ‘कहिले मत गन्ने दिन आउला भनेर कुरिरहेको छु । खुल्दुली लागिरहन्छ ।’

मतपेटिका राखिएको कोठामा सुरक्षाकर्मीले चौबिसै घन्टा सुरक्षा दिइरहेका छन् । निर्वाचन आयोग, कांग्रेस र वाम गठबन्धनले पनि आ-आफ्नै ताला मतपेटिका राखिएको कोठमा लगाएका छन् । झ्याल-ढोकामा तालाबन्दीपछि बाहिरबाट ‘प्लाइउड’ समेत ठोकिएको छ । त्यो कोठामा सीसी क्यामेरा नै जडान गर्ने योजना पनि बनाइएको छ । त्यसमाथि कांग्रेस र एमाले-माओवादीका कार्यकर्ता कोठाबाहिर ओछ्यान नै लगाएर बसेका छन् ।

तैपनि, उम्मेदवारलाई शुभेच्छुक र मतदाताबाट मतपेटिकाको सुरक्षालाई लिएर ‘प्रेसर’ आउने क्रम रोकिएको छैन । ‘साट्लान् नि मतपेटिका ! हामीले न्याय गरेर पठाएका छौं, मत दिएका छौं । अब सुरक्षा गर्ने जिम्मा तपाईंकै हो । मतपेटिका सुरक्षामा ध्यान दिनुहोस्,’ दिनहुँ गाउँ-गाउँबाट कैयौं फोन आउने गरेको सुनाउँदै तामाङले भने, ‘हामी पनि कोही न कोही मतपेटिका राखेकै स्थानमा आलोपालो गरेर अड्डा जमाएर बसेका छौं ।’

सिन्धुपाल्चोक-२ का एमाले उम्मेदवार शेरबहादुर तामाङलाई पनि शुभेच्छुकको प्रेसर उत्तिकै छ । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणासँग प्रतिस्पर्धामा रहेका उनी आफू जित्नेमा ढुक्क छन् । जिल्ला कृषि कार्यालयको नयाँ भवनमा मतपेटिका तीनवटा सुरक्षा घेरामा राखिएको छ । उनलाई सुरक्षा घेराभित्र राखिएको मतपेटिकामा कुनै अप्रिय घटना हुने आशंकासमेत छैन तैपनि उनका मतदाता, शुभेच्छुकले मतपेटिका सुरक्षाको चासो राखेर दैनिक गर्ने फोनले भने झस्काउँछ ।

‘शुभेच्छुक र मतदाताको प्रेसर आउँछ, मुसा पस्ला, ढ्वाङ साट्लान् भन्छन् । सुरक्षा चासो देखाएर फोन गर्नेहरू अहिले धेरै छन्,’ तामाङले  भने, ‘जता पुगे पनि मतपेटिकाको अवस्थाको जानकारी लिन म आफैं दिनहुँ ३÷४ पटक सुरक्षा निकाय, पार्टी प्रतिनिधिलगायतलाई फोन गरेर अपडेट भइरहेको हुन्छु ।’





error: Content is protected !!