दुई केन्द्रमा शुक्रबार पुन: मतदान

आइतबार मतदान स्थगित भएका बाँफिकोट गाउँपालिका र आठबीसकोट नगरपालिकाका एक/एक मतदान केन्द्रमा पुन: मतदान गराउन मतदान अधिकृतसहितका कर्मचारी बुधबार त्यसतर्फ गएका छन् । दुवै मतदान केन्द्रमा मंसिर १५ गते शुक्रबार पुन: मतदान हुँदैछ ।
निर्वाचन आयोगले दिएको निर्देशन अनुसार जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले पुन: मतदानका लागि कर्मचारी खटाएको जनाएको छ । दुवै मतदान केन्द्रमा पठाइएको मतदान अधिकृत सहित अन्य कर्मचारी तथा आवश्यक सामग्रीको सुरक्षार्थ प्रहरी निरीक्षकसहितको टोली पठाइएको छ । बाँफिकोटको लागि प्रहरी निरीक्षक हिक्मत भण्डारीको नेतृत्वमा प्रहरी खटेको छ । आठबीसकोटको लागि प्रहरी निरीक्षक ऋषिकुमार ढुङ्गाना नेतृत्वको टोली जिल्लाबाटै खटिएको छ । बाँफिकोट गाउँपालिका–५, को रत्न आधारभूत विद्यालय काँडाको ‘क’ मतदान केन्द्रमा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने छ भने आठबीसकोट नगरपालिका ११ को नेपाल राष्ट्रिय मावि गतसैनाको ‘ख’ मतदान केन्द्रमा समानुपातिकतर्फको मात्रै मतदान हुनेछ ।
दुवै मतदान केन्द्रमा एसिड हालिएपछि उक्त दिन मतदान कार्य स्थगित गरिएको थियो । मतदान गर्ने मतदाताले नै आफ्नो मतपत्रसहित मतपेटिकामा एसिड हालिएको अनुमान छ । बाँफिकोटको मतदान केन्द्रको मतपेटिकामा २ सय ४६ मत खसेको थियो । आठबीसकोटको मतपेटिकामा ३ सय ३ मत खसेको थियो । दुवै मतपेटिकामा आगो देखिएपछि पानी हालेर निभाइएको थियो । एसिड हालेको आशंकामा प्रहरीले बाँफिकोटबाट कल्पना केसी र आठबीसकोटबाट केशव खड्कालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
बाँफिकोटको मतदान अधिकृतमा जिल्लाका सहायक निर्वाचन अधिकृतसमेत रहेका तेजप्रसाद पौडेललाई खटाइएको छ भने आठबीसकोटको मतदान केन्द्रमा जिल्ला शिक्षा अधिकारी कर्णबहादुर कवर मतदान अधिकृत भएर जाँदैछन् ।
मुख्य निर्वाचन अधिकृत संयोजक तथा प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकारी सदस्य रहेको जनशक्ति व्यवस्थापन समितिले पौडेल र कवरलाई मतदान अधिकृतको रुपमा खटाउने निर्णय गरेको हो । सुरक्षा संवेदनशीलताको आधारमा नयाँ मतदान अधिकृत खटाउने निर्णय जनशक्ति व्यवस्थापन समितिले गरेको हो ।
धाँधली भयो : कांग्रेस
डोल्पा (कास)– कांग्रेस जिल्ला नेतृत्वले डोल्पामा निष्पक्ष निर्वाचन नभएको आरोप लगाएको छ । नेताहरूले बुधबार पत्रकार सम्मेलनमार्फत उक्त आरोप लगाएका हुन् ।
दुर्गम गाउँपालिकाका मतदान केन्द्रमा वाम गठबन्धनले आफ्ना एजेन्ट बस्नै नदिएको र मतदातालाई निष्पक्ष तरिकाले मताधिकार प्रयोग गर्न समेत नदिएको नेताहरूले बताए । कांग्रेस जिल्ला सभापति अंगदकुमार बुढाले माथिल्लो डोल्पाका २२ मतदान केन्द्र, काइके गाउँपालिकाका ७ मतदान केन्द्र र त्रिपुरासुन्दरी नगरपालिकाका–२ मतदान केन्द्रमा निष्पक्ष निर्वाचन नभएको बताए । उनले ३१ मतदान केन्द्रमा पुन: मतदान गराउन माग गरेका छन् । कांग्रेसले मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीमार्फत निर्वाचन आयोगमा पुन: मतदानको मागसहितको पत्र पठाएको छ ।
कान्तिपुर










