पूर्व अमेरिकी सेनाको गोली प्रहारबाट टेक्सासमा २६ को मृत्यु, २५ बढी घाइते

टेक्सास । अमेरिकाको टेक्सास राज्यस्थित सदरल्याण्ड स्प्रिङ्गस् नगरको एउटा बाप्टिस्ट गिर्जाघरमा एक बन्दुकधारीको अन्दाधुन्ध गोली प्रहारबाट २६ को ज्यान गएको छ । विहानको प्रार्थना चलिरहेका बेला एक व्यक्तिले गोली चलाएका थिए ।

घटनामा २६ मारिनुका साथै २५ जना बढी घाइते भएको अधिकारीहरुले बताएका छन् । मृत्यु हुनेमा गिर्जाघरका पास्टरकी छोरी पनि रहेको बताइएको छ । सदरल्याण्ड स्प्रिङ्गस्का एकजना अधिकारीले बन्दुकधारी पनि मारिएको स्थानीय सञ्चारमाध्यमलाई बताए । यद्यपि उनी कसरी मारिए भन्ने कुरा स्पष्ट भइसकेको छैन ।

संदिग्ध हमलावर २६ वर्षीय पूर्व अमेरिकी सेना र बाइबलका शिक्षक डेभिन प्याट्रिक केली रहेको डेली मेलले जनाएको छ । उनी अमेरिकी एयरफोर्सबाट आफ्नो पत्नी र बच्चालाई कुटेको आरोपमा त्यहाँबाट निकालिएको बताइएको छ ।

सान एन्टोनियो शहरदेखि करिब ५० किलोमिटर दक्षिण–पूर्वमा रहेको सानो नगर सदरल्याण्ड स्प्रिङ्गस्मा उक्त घटनापछि प्रहरीको बाक्लो उपस्थिति देखिएको थियो । सो नगरमा करिब चार सय मानिसहरु बस्दै आएका छन् । गत अक्टोबरमा लास भेगसमा ५८ जनाको ज्यान जाने गरी गराइएको गोलीकाण्डपछि पछिल्लो घटना भएको हो ।

 





error: Content is protected !!