संघीय संसद् पनि भाडाकै घरमा, संसद् भवनमै प्रतिनिधि र राष्ट्रियसभाको बैठक कक्ष रहने

काठमाडौँः संघीय संसद्का दुबै सदनको बैठक हालको संसद् भवनमै रहने भएका छन्। नयाँ बानेश्वरस्थित संसद् भवनमा दुबै सदनको बैठक राख्नेगरी संसद् सचिवालयले तयारी गरेको छ।

संघीय संसद् पनि भाडाकै घरमा, संसद् भवनमै प्रतिनिधि र राष्ट्रियसभाको बैठक कक्ष रहने

आइतबार संसद्का महासचिव मनोहरप्रसाद भट्टराई र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र व्यवस्थापन समितिका पदाधिकारीबीच बैठक कक्ष व्यवस्थापनबारे छलफल भएको छ। हाल कायम रहेको भाडा सम्झौता निरन्तर गर्ने र दुबै बैठक सोही भवनमा चलाउने गरी व्यवस्थापन गर्ने दुबै पक्षबीच सहमति भएको छ।

सम्मेलन केन्द्र व्यवस्थापन समितिसँग भएको सम्झौताअनुसार हालको संसद् भवनमा अब प्रतिनिधिसभा बैठक सञ्चालन हुनेछ। भवनकै नुप्से हलमा राष्ट्रियसभा बैठक सञ्चालन हुनेछ। दुबै हलको आवश्यक व्यवस्थापन सम्मेलन केन्द्रले गर्नेछ।

संघीय संसद्को प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभा ५९ सदस्यीय हुनेछ।

सम्मेलन केन्द्र २०६५ सालदेखि संसद् सचिवालयले भाडामा उपयोग गर्दै आएको छ। आफ्नै भवन नभएका कारण संसदले वार्षिक दश करोड भाडा सम्झौतामा उक्त भवन प्रयोग गरिरहेको छ।

६०१ सांसद् सिंहदरवारस्थित प्रतिनिधिसभा भवनमा नअट्ने भएपछि संसद् भवन भाडामा लिइएको थियो। हालको संख्या अनुसारको बैठक कक्ष सिंहदरवारको पुरानो संसद् भवनमा नै अट्ने भए पनि भूकम्पले क्षति पुर्‍याएपछि उक्त भवन प्रयोगबिहीन भएको छ।

संविधानसभा विघटनपछि दोस्रो संविधानसभा गठन नभएको अवधिमा पनि संसद् र सम्मेलन केन्द्र व्यवस्थापनबीच भाडा सम्झौता निरन्तर राखिएको थियो।





error: Content is protected !!