आज महानवमी भगवती सिद्धिदात्रीको पूजा अनुष्ठान गरिँदै,

आज नवरात्रिको नवौं दिन अर्थात् महानवमी । देवी दुर्गामाताको नवौं शक्तिस्वरुपा सिद्दिदात्रीको विशेष पूजा अनुष्ठान गरि स्मरण गरिदैछ ।
आजको दिन शक्तिस्वरुपा सिद्दिदात्रीको पूजा गर्नाले सम्पूर्ण संसार नै जित्नसक्ने सिद्धता हासिल हुने र संसारमा केही कुरापनि अगम्य नहुने मान्यता रहेको छ । देवीपुराणमा उल्लेखभए अनुसार देवीको कृपाले भगवान महादेवले समेत सिद्दि पाएको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ । देवी सिद्धिदात्रीको साधना गर्नाले लोक र परलोक दुवैतर्फ मोक्ष प्राप्तगर्ने विस्वास रहेको छ ।
मार्कण्डेय पुराणका अनुसार अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व अनि वशित्व भनेर आठवटा सिद्दत्वको व्याख्या गरिएको छ । आजको दिन निर्माण र शिल्पकला अनि कलपूर्जाका देवता विश्वकर्माको दिनकारुपमा पनि लिइन्छ, इन्जिनहरु, गाडी, कारखानामा वलि समेत चढाइने गरिन्छ ।
नेपाली सैनिक मुख्यालय, प्रहरी प्रधान कार्यालय लगायतका ठाँउमा आज कलपूर्जा, हतियार र गाडीहरुको विशेष पूजा सहित जङ्गी निशानपूजा र कोतपूजा पनि गरिन्छ । बलि दिनकालागी आज उपत्यका भित्रका दक्षिणकाली, गुहेश्वरी, मैतीदेवी, कालिकास्थान, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, संकटा, वज्रयोगिनी, वज्रवाराही लगायतका शक्तिपीठहरुमा धेरै घुँइचो हुनेगर्दछ ।



