मप क्षेत्रीय अस्पतालमा निःशुल्क भिडियो एक्सरे सेवा सुरु

सुर्खेत, ५ भदौ । मप क्षेत्रीय अस्पतालमा गर्भवतीको निःशुल्क भिडियो एक्सरे सेवा सुरु भएको छ । मप क्षेत्रीय अस्पतालका निमित्त मेसु डा। डम्बर खड्का र वीरेन्द्रनगर नगर पालिकाका प्रमुख देवकुमार सुवेदीले सो सेवा सुरु भएको समझदारीपत्रमा हस्ताक्षर गरी आदानप्रदान गरेका छन् ।
वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले नगरपालिकाको पहिलो बैठकले महिलासम्वन्धी गरेका निर्णयहरु कार्यान्वयनमा आउन थालेको बताइन् । उनले महिला र बच्चाको स्वास्थ्य सुरक्षित राख्नका लागि नगर पालिकाले एकपटक गर्भवतीको निःशुल्क भिडियो एक्सरे सेवा उपलव्ध गराउने निर्णय गरेको जनाइन् । मप क्षेत्रीय अस्पतालका निमित्त मेसु डा। डम्बर खड्काले नगरपालिकाले गरेको निर्णयबाट वीरेन्द्रनगर क्षेत्रभित्रका गर्भवती महिला लाभान्वित हुने बताए । नगरपालिका प्रमुख देवकुमार सुवेदीले आमा र बच्चाको स्वास्थ्य सुरक्षाको लागि यो कार्यक्रम ल्याइएको बताए । उनले नगर कार्यपालिकाको पहिलो बैठकले गरेको निर्णयहरु कार्यान्वयन हुदैं गएको भन्दै छोरी जन्मे रु। एक हजारको खाता बैंकमा खोलिदिने निर्णयपनि कार्यान्वयन भइसकेको जनाए । सेवा सुरु कार्यक्रममा अस्पताल विकास समितिका सदस्य पूर्ण पौडेलले निर्णयहरु कार्यान्वयन गर्दै जान सुझाव दिए । निःशुल्क भिडियो गरेवापत अस्पतालले प्रतिव्यक्ति ४०० का दरले त्रैमासिक रुपमा नगरपालिकाले रकम उपलव्ध गराउनेछ । महिला एकपटक गर्भवती भएको हकमा मात्र यो सेवा लागू हुनेछभने सेवाका लागि नेपाली नागरिकको प्रतिलिपि, वडा कार्यालयको सिफारिसपत्रको प्रतिलिपि र बसाईसराई दर्ता प्रमाणपत्रको प्रतिलिपि संलग्न गराउनुपर्नेछ ।










