प्रधानमन्त्री देउवाको भारत भ्रमणः चीनलाई टक्कर दिन यस्तो छ दिल्लीको तयारी

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा साताव्यापी भारत भ्रमणको तयारीमा लागिरहेका बेला नयाँदिल्लीमा नेपालमार्फत चीनलाई टक्कर दिने तयारी भइरहेको खबर प्राप्त भएको छ ।
हिन्दूस्तान टाइम्समा आज प्रकाशित समाचारमा दिल्लीले देउवासँग चीनलाई टक्कर दिनेगरी महत्वपूर्ण सम्झौताहरु गर्दैछन् ।
चिनियाँ उपप्रधानमन्त्री वाङ याङले काठमाडौं आएर नेपालसँग तीनवटा महत्वपूर्ण सम्झौता तथा बाढीपहिरो पीडितलाई सहयोग गरेका बेला भारत पनि एक्सनमा उत्रिएको हो ।
चीनले बाढी पीडितलाई १० लाख अमेरिकी डलर दिदा २५ करोड भारु सहायता घोषणा गरेको भारतले भौतिक निर्माण, एलपीजी ग्यास आपूर्ति, जलविद्युत, व्यापार र रेलमार्ग सम्पर्क लगायत प्रमुख विषयमा नेपालसँग सम्झौताको तयारी गरेको समाचार हिन्दूस्तान टाइम्समा छ ।
भारतीय अधिकारीलाई उद्धृत गर्दै प्रकाशित समाचारमा देउवाको भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग धेरै विषयमा छलफल गर्नेछन् जसले भारतको नेपालसँग रहेको विशेष सम्बन्धका सबे पक्षलाई समेट्नेछ ।
त्यसक्रममा मेची नदीमा पुल बनाउने समझदारी पनि बन्ने अपेक्षा छ । भारतको राष्ट्रिय राजमार्ग विकास निर्माण संस्थानले भद्रपुर र बिहारको गलगलिया जोड्ने ०।६७५ किलोमिटर लामो पुल बनाउने प्रस्ताव गरेको छ । परियोजनाको अनुमानित मूल्य १४० करोड भारु छ ।
पञ्चेश्वर बहुउद्देश्यीय विद्युत् परियोजनालाई शीघ्र कार्यान्वयन गर्ने विषय पनि छलफलमा उठ्नसक्ने सम्भावना रहेको हिन्दू टाइम्सले उल्लेख गरेको छ ।
चीन–भुटान सीमा दोक्लाम क्षेत्रमा भारत र चीनबीच विवाद कायम रहेका बेला प्रधानमन्त्री देउवा भदौ ७ गते भारत भ्रमणमा जाँदैछन् ।










