को आउँदैछन् काठमाडौं प्रहरीको कमाण्ड सम्हाल्न , गृहमन्त्री र आईजीपीबीच भयो सहमति

काठमाडौ । प्रहरी प्रधान कार्यालयले काठमाडौंको प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी रवीन्द्र धानुकलाई दिने तयारी गरेको छ ।

एसपीबाट भर्खरै एसएसपीमा बढुवा भएका धानुकलाई काठमाडौं प्रहरी प्रमुख बनाउन गृहमन्त्री जनार्दन शर्मा र प्रहरी महानिरीक्षक आईजीपी प्रकाश अर्यालबीच सहमति समेभ भइसकेको प्रहरीनिकट उच्च स्रोतले जनाएको छ ।

लामो समयदेखि रिक्त पदमा पदपूर्ति गरेसँगै गृह मन्त्रालयले अवधि पुगेका तथा खाली भएका ठाउँमा एसएसपी सरुवाको तयारी गरिरहेका बेला धानुक सबैको चासो रहने र अत्यन्तै चुनौतीपूर्ण पोस्टिङ मानिने काठमाडौं जिल्ला सम्हाल्न आउन लागेका हुन् ।

कमाण्ड कन्ट्रोल र अपरेशनमा अब्बल अधिकृतको रुपमा चिनिने उनी यस अगाडि रुपन्देहीको प्रहरी प्रमुख थिए । डीएसपी हुँदा दार्चुला, रुकुम र काभ्रे र एसपी हुँदा सर्लाही र रुपन्देहीको कमाण्ड सम्हालिसकेका धानुकले स्थानीय तह निर्वाचनमा रुपन्देहीमा उत्कृष्ट काम गरेर चर्चा बटुलिसकेका छन् ।

उनले २०७० मा सर्लाहीमा दोस्रो संविधानसभाको चुनाव गराउन सुरक्षा निकायको तर्फबाट उत्कृष्ट भूमिका प्रदर्शन गरिसकेका छन् । सामान्यतया भर्खरै बढुवा अधिकारीहरुलाई इन्चार्ज नदिने प्रचलन रहँदै आए पनि गृहमन्त्री जनार्दन शर्माले ‘राइट म्यान इन राइट प्लेस’ को नीति अपनाउँदै नवनियुक्त एसएसपीहरुलाई कमाण्ड दिने तयारी गरेको गृहस्रोत बताउँछ ।

गृहमन्त्री शर्माले अर्को चुनौतीपूर्ण पोस्टिङ मानिने महानगरीय अपराध महाशाखाको प्रमुखमा धिरजप्रताप सिंहलाई ल्याउने चाहना देखाएको गृहस्रोतको दाबी छ । भविष्यमा प्रहरी नेतृत्व सम्हाल्ने व्याचको दोश्रो वरियतामा रहेका सिंह यस अगाडि पर्सा र दाङको प्रहरी प्रमुखको रुपमा सफलता हासिल गरेका अधिकृत हुन् ।

डीएसपी हुँदा गोरखा र दोलखाको कमाण्ड सम्हालिसकेका सिंह काठमाडौँ प्रहरी परिसरमा अपरेशन इन्चार्ज भएर लामो समय काम गरिसकेका छन् । सिंहले पछिल्लो समय सम्पन्न स्थानीय तहको निर्वाचन सम्पन्न गर्न दाङमा सफल भूमिका खेलिसकेका उनी कमाण्ड कन्ट्रोल र अपरेसनमा पोख्त मानिन्छन् ।

स्रोतका अनुसार गृह मन्त्रालयले ललितपुरको प्रहरी प्रमुखमा एसएसपी बढुवा सिफारिसका हरिबहादुर पाल र निरज बहादुर शाहीमध्ये एकलाई पठाउने तयारी गरेको बुझिएको छ । त्यस्तै अञ्चल प्रहरी कार्यालय नारायणीमा प्रद्युम्न कार्की र दिवेश लोहनीको नाम चर्चामा छ भने उत्तमराज सुवेदीलाई पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगर पठाउने गृहको तयारी छ ।

एसएसपी शैलेश थापालाई आईजीपीको सचिवालय र प्रकाशजंग कार्कीलाई लागूऔषध नियन्त्रण ब्यूरो अथवा अञ्चल प्रहरी कार्यालय लुम्बिनीमा पदस्थापन गर्ने गृहको तयारी रहेको बुझिएको छ ।





error: Content is protected !!