सरकारी सेवा पाउनै मुस्किल कर्मचारी अभाव, जनप्रतिनिधि अन्योलमा

जाजरकोट , त्रिवेणी नलगाड नगरपालिका ८, हलचौरका हरिबहादुर खत्रीलाई वडा कार्यालयबाटै सरकारी सेवा पाउने आशा थियो । तर त्यसो हुन सकेन । बारेकोट गाउँपालिका ९ का राजेन्द्रबहादुर शाहीले पनि वडा कार्यालयमा सेवा पाउन सकेनन् ।

खत्री र शाहीलाई नागरिकताको प्रमाणपत्र लिन सिफारिसका लागि वडाअध्यक्ष खोज्दै सदरमुकाम पुग्न ३ दिन बित्यो । दुवैले सदरमुकाममा बस्दै आएका वडाअध्यक्षको सिफारिसमा नागरकिताको प्रमाणपत्र प्राप्त गर्न ५ दिन खर्चनुपर्‍यो ।
त्यस्तै जुनिचाँदे गाउँपालिका ५ का चन्द्रबहादुर शाही र कुशे ५ का अञ्जना खडालाई सोही कामका लागि वडाअध्यक्ष खोज्न सास्ती भयो । उनीहरू दुवैले वडाअध्यक्षलाई फेला पार्न नसक्दा वडासचिवको सिफारिसमा जिल्ला प्रशासनबाट नागरिकताको प्रमाणपत्र पाए । उनीहरूजस्तै दुर्गम गाउँका सेवाग्राहीलाई सरकारी सेवा पाउन सास्ती भइरहेको छ । गाउँपालिका अध्यक्ष, नगरपालिका प्रमुख, वडाअध्यक्ष, कार्यकारी अधिकृत, वडा सचिवलगायत जनप्रतिनिधि तथा कर्मचारी अधिकांश समय सदरमुकाममै बस्ने गर्दा समस्या भएको हो । गाउँ/नगर/वडाबाट प्रवाह हुने नागररिकता, जग्गा रजिस्ट्ेरसन, विवाह दर्ता, नाबालक परिचयपत्रलगायत सिफारिस र विकास निर्माणसम्बन्धी सरकारी सेवा पाउन कठिन भएको हो ।
अधिकांश वडाअध्यक्ष कार्यालयमा नबस्ने, केही जनप्रतिनिधिलाई जिम्मेवारीबारे अन्योल र वडासचिव अभावले सेवाग्राहीलाई थप सास्ती हुने गरेको छ । ‘गाउमै सिंहदरबार’ भन्ने नारामा मात्र सीमित भएको पत्रकार बालकुमार शर्माले बताउँछन् । जनतालाई विगतभन्दा सरकारी सेवा पाउन सास्ती भएको उनले बताए । ‘वडाअध्यक्ष वा सचिवले सिफारिस गर्ने भन्ने नै अन्योल छ,’ उनले भने । स्थानीय तहमा जनप्रतिनिधि चुनिएको ३ महिना बित्यो । जनप्रतिनिधि चुनिएपछि सरकारी सेवा लिन सहज होला भन्ने ठानेका सेवाग्राही झन् निराश छन्,’ शर्माले भने ।
विगतमा कर्मचारीको झन्झटिलो कार्यशैलीप्रति वाक्क स्थानीय जनप्रतिनिधिबाट पनि सेवा पाउन सास्ती हुँदा निराश बनेका हुन् । निर्वाचित भएको भोलिपल्टैदेखि जनताका लागि काममा निरन्तर खट्नुपर्नेमा जाजरकोटमा त्यस्तो हुन सकेको छैन । कतिपय गाउँ/नगरपालिकामा वडा कार्यालयसमेत छैनन् । भौतिक पूर्वाधार र कर्मचारी अभाव भन्दै जनप्रतिनिधि पनि पन्छिने गरेको पाइन्छ । एउटै वडासचिवले ५ वडाको काम गर्न बाध्य भएको शर्माले बताए । स्थानीयले सहज रूपमा नागरिकता र स्वास्थ्य उपचारका सिफारिस गर्ने सेवासमेत पाउन नसकेको उनले बताए ।
धेरै वडासचिवको जिम्मेवारी सम्हाल्दा सदरमुकाम बसेर सेवा चलाउन बाध्य भएको सचिव मणिराम रिमालले बताए । उनी कुशे गाउँपालिका वडा ५ देखि ९ सम्मका सचिव हुन् । जिल्लाका ७७ वडा कार्यालयका लागि २२ सचिव मात्रै कार्यरत छन् । जनशक्ति अभावमा सरकारी सेवा पाउन विगतको जस्तै कठिनाइ नहटेको छेडागार नगरपालिका ११ का नवीन खड्काले बताए । ‘कर्मचारीको रबैया पुरानै छ । स्थानीयलाई वडा अध्यक्ष र सचिव खोज्नै हैरान छ । निश्चित स्थानमा वडा कार्यालय पनि स्थापना भएका छैनन्,’ खड्काले भने ।
पूर्वाधार, जनशक्तिलगायत अभावले जनतालाई भनेजस्तो सेवा दिन नसकिएको बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । जनताका कामलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने योजना बनाएको उनी बताउँछन् । जनताका काम छिटोछरितो गरिदिन कर्मचारीलाई पनि कडा निर्देशन गरेको उनले बताए । जिल्लाका ४ गाउँपालिका र ३ नगरपालिकामै जनताको सेवा प्रवाहमा समस्या छ ।

 





error: Content is protected !!