उपचार सरकारीमा, औषधि निजीबाट

रुकुम । मुसिकोट नगरपालिका–१ की ५५ वर्षीया देउमा बुढाथोकी उपचारका लागि ५ दिन जिल्ला अस्पताल सल्लेमा बसिन् । त्यो अवधिभर उनले निजी मेडिकलबाटै औषधि किनिन् । ५ दिनमा उनले ६ हजार रुपैयाँभन्दा बढीको औषधि किन्नुपर्‍यो ।

अस्पतालमै उपचाररत त्रिवेणी गाउँपालिका–१ का यामकुमार केसीले निजी मेडिकलबाट १७ सय रुपैयाँभन्दा बढीको औषधि किनेर सेवन गरे । तैपनि उनको रोग निको भएन । उनलाई आफन्तले निजी मेडिकलमा राखेर उपचार गराइरहेका छन् । मुसिकोट नगरपालिका–४ का कृष्ण बुढाथोकीले ७ सयको औषधि सेवन गरे । त्यो पनि सबै निजी मेडिकलबाट किनेर । कृष्ण केही दिनपछि निको भएर घर त फर्किए तर सरकारले दिने भनेको सित्तैको औषधि उनले देख्नै पाएनन् ।
अस्पतालमा भर्ना भएर निजी मेडिकलबाट औषधि किन्ने यी प्रतिनिधि पात्र मात्र हुन् । यसरी उपचारका लागि आएका बिरामीलाई उपचारमा संलग्न चिकित्सक नै निजी मेडिकलबाटै औषधि ल्याउन सुझाउँछन् । जिल्ला अस्पतालमा लामो समयदेखि अत्यावश्यक औषधिको अभाव छ । यहाँ ७२ प्रकारका औषधि निस्शुल्क पाइनुपर्ने हो तर स्टोरमा सिटामोल, कन्डम र कटन मात्रै छ । एक स्वास्थ्यकर्मीका अनुसार मौसमका कारणले जिल्ला अस्पतालमा आउने अधिकांश बिरामीलाई एन्टिबायोटिक औषधि नलचाई हुँदैन । तर, अस्पतालमा लामो समयदेखि एन्टिबायोटिक औषधिको अभाव छ ।
अस्पतालले २०७३ साउनमा ३ लाख रुपैयाँको औषधि खरिद गरेको थियो । जिल्लामा ४१ स्वास्थ्य चौकी र २ प्राथमिक स्वास्थ्य केन्द्रका लागि ४० लाखको औषधि खरिद गरिएको थियो । जिल्ला अस्पतालले खरिद गरेको ३ लाखको औषधि सकिएपछि अन्य ४३ स्वास्थ्य संस्थामा पठाउने औषधि कटाएर जिल्ला अस्पतालमै राखिएको बताइएको छ । अन्य स्वास्थ्य संस्थामा पठाउनुपर्नेमध्येको केही औषधि जिल्ला अस्पतालले राख्दा अन्य स्वास्थ्य संस्थामा पनि औषधि अभाव छ । त्यसका अलावा गत वर्षमा केन्द्रीय मेडिकल स्टोर पथलैया र क्षेत्रीय मेडिकल स्टोर नेपालगन्जले केही औषधि पठाइदिएका छन् । केन्द्र र क्षेत्रले पनि आवश्यकभन्दा निकै थोरै औषधि पठाउने गरेको छ ।
तर जिल्ला अस्पताल भने औषधि नभएको कुरा स्विकार्दैन । डा। सुशील पोखरेल अस्पतालमा औषधि रहेको बताउँछन् । पछिल्लो समय बिरामीको चाप धेरै बढेको र चाप अझै केही दिन कायम रहे औषधि अपुग हुने उनको भनाइ छ । नयाँ औषधि किन्ने विषयमा अन्योल रहेको भन्दै उनले खरिद प्रक्रिया चाँडै नभए फार्मेसीमा औषधि सकिने बताए । बिरामीले अस्पतालमा नभएको औषधि किन्नुको विकल्प नभएको उनको भनाइ छ । अस्पताल विकास समिति अध्यक्ष शिव आचार्यले अहिलेलाई औषधि रहेको आफूले जानकारी पाएको बताए ।

 

 




सम्बन्धित समाचार


error: Content is protected !!