पोषणयुक्त खानाका लागि भाँडाकुँडा

    जाजरकोट । भेरी नगरपालिका १३, कुदुकी राधा बस्नेत आमा समूह कार्यालयमा भाँडाकुँडा तथा औजार उपलब्ध भएको देखेर दंग छिन् ।

स्वास्थ्य आमा समूहको अध्यक्षसमेत रहेकी बस्नेत कार्यालयमा पोषणयुक्त खाना तयारी गर्ने विभिन्न खालका वर्तन तथा औजार देखेर खुसी भएकी हुन् । त्यस्तै भेरी नगरपालिका २, बाहुनथानास्थित आमा समूहकी अध्यक्ष प्रमिता खत्री पनि कम्ता गद्गद छैनन् ।
पोषिलो खानेकुरा तयार गर्न र खानालाई संरक्षण गर्न प्रयोगमा आउने सबै प्ररकारका वर्तन पहिलोपटक समूहलाई प्राप्त भएको खत्रीले बताइन् । सबै प्रकार भाँडावर्तन र औजार प्राप्त भएपछि थरीथरीका खानेकुरा तयार गर्न सहज भएको उनको भनाइ छ । कार्यक्रमबाट खाद्य परिकार तयारी गर्न नजान्ने, सरसफाइबारे बेवास्ता गर्ने र संरक्षणमा ध्यान नदिने आमालाई राम्रो शिक्षा प्राप्त हुने उनको भनाइ छ ।

‘उपलब्ध सामग्रीलाई पोषिलो खानेकुरा तयारी, संरक्षण तथा प्रदर्शनीका नियमित रूपमा प्रयोगमा ल्याउनेछौं,’ उनले भनिन् । बस्नेत र खत्री मात्र होइन, यतिबेला यहाँका ६० स्वास्थ्य आमा समूहमा आबद्ध सबै खुसी छन् । स्थानीयस्तरमा स्वस्थ, पौष्टिक तथा विधितापूर्ण खानालाई बढावा दिन जिल्ला स्वास्थ्यअन्तर्गत सञ्चालित कृषि तथा खाद्य सुरक्षा आयोजनाले स्वास्थ्य आमा समूहलाई भाडा वितरण गरेको हो ।
कृषि तथा खाद्य सुरक्षा आयोजनाले ५ स्थानीय तहका ६० आमा समूहलाई भाँडाकुँडा तथा औजार उपलब्ध गराएको सम्पर्क ब्यक्ति सुशील शाहीले बताए । स्वास्थ्य कार्यालयले १० वटा स्वास्थ्य संस्थामार्फत आमा समूहलाई ती सामान बाडेको छ । आयोजनाले भेरी नगरपालिकामा १८, त्रिवेणी नलगाड नगरपालिकाका ६, छेडागार नगरपालिकाका १८, शिवालय गाउँपालिकाका १२ र कुशे गाउँपालिकाका ६ समूहलाई विभिन्न खाद्य परिकार तयारी गर्ने भाँडा तथा औजार वितरण गरेको शाहीले बताए । कृषि तथा खाद्य सुरक्षा आयोजना लागू भएका गाउँरनगरपालिकाका ६० स्थानमा खाद्य परिकार प्रदर्शनी केन्द्र स्थापना गरिएको उनले बताए । गरिब, दलित र जनजाति महिला समूहलाई पायक पर्ने स्थानमा तयारी तथा प्रदर्शनी केन्द्र स्थापना भएको उनले बताए ।

ग्रामीण क्षेत्रमा पाइने परम्परागत बाली, अन्न, गेडागुडी, दाल, तरकारी र फलफूललाई प्रशोधन तथा संरक्षण गरी पौष्टिकता कायम राख्न प्रदर्शनी केन्द्रको महत्वपुर्ण भूमिका रहने निमित्त जिल्ला स्वास्थ्य प्रमुख रामपुकार साहले बताए । परम्परागत रूपमा उपलब्ध खानेकुरालाई स्थानीयस्तरमा पौष्टिक बनाई गर्भवती, सुत्केरी, शिशु र बालबालिका लागि खाद्यान्न अभाव हुन नदिने उद्देश्यले कार्यक्रम सञ्चालनमा ल्याएको साहले बताए । कार्यक्रमले स्थानीय स्तरमा उपलब्ध खानेकुरालाई पोषिलो बनाउनुका साथै घरबारी पोषण बगैंचा तथा कुखुरापालनलाई बढावा दिने गरेको उनी बताउँछन् । कार्यक्रमले समूहका सदस्यलगायत महिलालाई बाल्यकालीन पोषण तथा खाद्य परिकार तयारी, प्रशोधन, सञ्चय तथा प्रविधिको ज्ञान, सीप आदानप्रदानमा सहयोग पुर्‍याएको उनले बताए । ‘प्रत्येक केन्द्रमा गठन भएका व्यवस्थापन तथा सञ्चालन समितिले नियमित हेरचाह र संरक्षण गर्नेछ,उनले भने ।
खाद्य परिकार तयारी, प्रदर्शनी तथा सञ्चय केन्द्र स्थापनाले स्वास्थ्य आमा समूहमा आबद्ध र सुनौला हजार दिनका महिलालाई पोषण व्यवहार परिवर्तन तथा स्थानीय स्तरमा खाद्य परिकार तयारीमा टेवा पुग्ने शाहीले बताए । आयोजनाले स्वास्थ्य आमा समूहलाई भाँडा, औजारलगायत ४३ प्रकारका सामग्री उपलब्ध गराएको छ । आयोजनाबाट समूहले पानी फिल्टर, बाटा, बाल्टिन, डेक्ची, प्रेसर कुकर, कराई, केटली, मस्म सेट, प्लेट, गिलास, कचौरा, जग, जर्किन, टेबुल, दराज, रुमाल, बाकस, त्रिपाल आदि प्राप्त गरेको छ ।

 

 




सम्बन्धित समाचार


error: Content is protected !!