८७ हजार घुस रकमसहित ईन्जिनियर पक्राउ

सुर्खेत , असार १० । क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय सुर्खेतका इन्जिनियर दुर्गादत्त खरेल घुस रकम लिँदै गर्दा रंगेहात अख्तियारको टोलीले पक्राउ गरेको छ । छिन्चुको होटल स्टार एण्ड लजमा बास बसेका खरेलले सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले गएराती साढे ८ बजे पक्राउ गरेको हो ।
खानेपानी आयोजनाको पेश्की, कार्यसम्पन्न प्रतिवेदन, भुक्तानी सहजीकरणका मिलाइदिने भन्दै इन्जिनियर खरेलले सेवाग्राहीसंग ८७ हजार रकम लिँदै गरेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिनुभयो । सापकोटाका अनुसार खरलेले घुस रकम कार्यालयका खानेपानी सहायक टेक्नीसियन दलबहादुर घर्तीलाई बुझ्न लगाएउनु भएको थियो ।
‘सेवाग्रहीको रकम आफ्ना कर्मचारीलार्य बुझ्न लगाए’ सापकोटाले भन्नुभयो ,–‘कर्मचारीले बुझेको रकम इन्जिनियर खरेलले बुझ्दै गर्दा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो ।’ रंगेहात पक्राउ परेका खरेल र घर्तीमाथि अनुसन्धान भइरहेको र आफूहरुले थप प्रमाण संकलन गरिरहेको जानकारी दिएका सूचना अधिकारी सापकोटाले प्रमाण संकलन र कागजपत्र पूरा भएपछि मुद्दा दायर गरिने बताउनुभयो ।
हेमन्त के सी रासस सुर्खेत







