काँग्रेस र माओवादीबीच २ महानगर, एक उपमहानगर र ४ नगरपालिकामा चुनावी तालमेल

ललितपुर । नेपाली काँग्रेसले सत्ता साझेदार नेकपा माओवादी केन्द्रसँग दुई महानगर, एक उपमहानगर र ४ नगरपालिकामा उम्मेदवारीमा तालमेल गरेको छ ।
नेपाली काँग्रेसको केन्द्रीय प्रचार प्रसार समन्वय उपसमितिका संयोजक रमेश लेखकले पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएका हुन् ।
पोखरा लेखनाथ महानगरपालिकामा माओवादी केन्द्रले कांग्रेसका मेयरका उम्मेदवार रामजी कुँवरलाई सघाउने भएको छ भने कांग्रेसले भरतपुर महानगरका माओवादीका मेयरका उम्मेदवार रेणु दाहाललाई सहयोग गर्ने भएको हो ।
यस्तै मकवानपुरको हेटौडा उपमहानगरपालिकामा माओवादीले कांग्रेसका मेयरका उम्मेदवार आनन्दराज पराजुलीलाई सहयोग गर्नेछ भने थाहा नगरपालिकामा कांग्रेसले आफ्ना उम्मेदवारको नाम फिर्ता लिदै माओवादी उम्मेदवार लबशंकर बिष्टलाई साथ दिने सहमति भएको छ ।
धादिङको निलकण्ठ नगरपालिकामा पनि तालमेल गरेर चुनावमा जाने दुई पार्टीको स्थानीय नेतृत्वले सहमति गरेको छ । सहमति अनुसार मेयरमा कांग्रेसका उम्मेदवार भीम ढुंगाना रहेका छन् भने माओवादी केन्द्रका तर्फबाट शैलेश भण्डारी उपमेयरमा चुनाव लड्ने भएका छन् ।
यसैगरी भीमेश्वर नगरपालिका दोलखामा कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार ईश्वर मानन्धरलाई माओवादी केन्द्रले सघाउनेछ भने उपमेयरमा माओवादीकी कमला कार्की उम्मेदवार बनेकी छिन् । डोल्पाका स्थानीय जिल्लाका नेताहरुको सहमतिमा ठूली भेरी नगरपालिकामा पनि चुनावी तालमेल भएको छ ।
जसअनुसार माओवादीले आफ्नो उम्मेदवारको नाम फिर्ता लिदै कांग्रेसका मेयरका उम्मेदवार सुवर्ण बुढालाई सघाउने भएको छ भने कांग्रेसले उपमेयरमा माओवादी केन्द्रकी उम्मेदवार लक्ष्मीचन्द्रा कार्कीलाई सहयोग गर्ने सहमति भएको जनाइएको छ ।
पवित्र गठबन्धन : लेखक
नेता लेखकले गणतन्त्रका पक्षधर शक्तिहरुबीच हुन लागेको चुनावी तालमेल राजनीतिक महत्वको भएको जिकिर गरे । उनले यो गठबन्ध पवित्र र व्यवहारिक भएको पनि उल्लेख गरे ।
उनले अधिकांश ठाउँका बागी उम्मेदवार फिर्ता भएकोमा खुसी पनि व्यक्त गरे । उनले बाँकीलाई फिर्ता लिन आग्रह फिर्ता लिन आग्रह गर्दै फिर्ता नलिए स्वतः कारवाही हुने बताए ।
चितवनमा देखिएको असन्तुष्टिको विषयमा नेता लेखकले पार्टीले निर्णय गरिसकेको हुँदा चित्त दुखाईका बीच पार्टीको निर्णय अनुसार काम गर्ने आशा व्यक्त गर्दै सबैलाई तालमेल अनुसार खटिन आग्रह गरे ।
कांग्रेस उम्मेदवारमा जनजाति धेरै
नेपाली कांग्रेसले स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि दिएको उम्मेदवारीमा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिका प्रमुख तथा अध्यक्षमा १०९ जना जनजाति, मधेशी तथा दलित समुदायबाट उम्मेदवारी परेको छ ।
त्यसैगरी नगर उपप्रमुख तथा गाउँपालिका उपाध्यक्षमा ९७ जनाको जनजाति , दलित तथा मधेशी समुदायबाट उम्मेदवारी परेको पाइएको छ ।
नगरपालिका प्रमुखमा दुईजना तथा गाउँपालिका अध्यक्षमा चारजना महिलाको उम्मेदवारी परेको छ । त्यस्तै नगरपालिका प्रमुखमा जनजाति समुदायबाट २४ जनाको उम्मेदवारी परेको छ भने उपप्रमुखमा एक पुरुष समेत ३० जनाको जनजाति समुदायबाट उम्मेदवारी परेको पाइएकोछ । जसमध्ये चारजना दलित तथा एकजना मधेशी समुदायबाट उम्मेदवारी परेको छ ।
त्यसैगरी गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिनेमा तीन जना महिला समेत ८५ जनाको जनजाति समुदायबाट उम्मेदवारी परेको छ । त्यसैगरी गाउँपालिका उपाध्यक्षमा उम्मेदवारी दिनेमा ६७ जना जनजाति समुदायको परेको छ । जसमध्ये २ जना पुरुष, ४ जना दलित तथा एक मधेशी समुदायबाट उम्मेदवारी परेको पाइएको छ ।
यही वैशाख ३१ गते हुने स्थानीय निकायको पहिलो चरणमा प्रदेश नं. ३, ४ र ६ का ४ महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका तथा १८६ गाउँपालिका गरी २८३ स्थानीय तहमा निर्वाचन हुँदैछ ।



