आचारसंहिता नाघ्दै प्रमुख दल परराष्ट्रमन्त्री हेलिकप्टर चढेर पार्टीको चुनावी सभामा

हरि गौतम, सुदीप कैनी
रुकुम, गोरखा
नेपाली कांग्रेसले चैत १९ गते रुकुमको चौफास्थित हिमालय माध्यमिक विद्यालय प्रांगणमा चुनावी कार्यक्रम गर्यो । कांग्रेसले नै चैत ३० गते छिवाङस्थित प्रभात माविमा मुसीकोट नगरपालिका–१४ को वडा भेला आयोजना गर्यो ।
चैत २१ गते नेकपा एमालेले साधारण माध्यामिक विद्यालय मुरुडाँडामा त्रिवेणी गाउँपालिकास्तरीय चुनाव लक्षित बैठक राख्यो । एमालेले चैत १२ गते प्रभात माविमा मुसीकोट नगरपालिका– १३ र १४ नम्बर वडाको सयुंक्त चुनावी कार्यक्रम आयोजना गरेको थियो ।
निर्वाचन आचारसंहिताले सार्वजनिक स्थान वा विद्यालयमा चुनावी कार्यक्रम गर्न रोक लगाए पनि दलहरूले त्यसको पालना गरेका छैनन् । उनीहरूले आफूखुसी ती स्थान प्रयोग गरिरहेका छन् । चुुनावी कार्यक्रमका लागि विद्यालय प्रयोग गर्नमा नेकपा माओवादी केन्द्र पनि अछुतो छैन । उसले चैत १७ गते आधारभूत विद्यालय नार्जीमा चौरजहारी नगरको प्रथम सम्मेलनको उद्घाटन तथा चुनावी कार्यक्रम गर्यो । त्यहाँ केन्द्रीय नेता रामबहादुर थापा उपस्थित थिए । माओवादी केन्द्रले नै चैत २२ गते नै सदरमुकाम खलंगास्थित मुसीकोट खलंगा बहुमुखी क्याम्पसमा जिल्ला सम्मेलन आयोजक समितिको बैठक राख्यो । आयोजक समिति सदस्यलाई प्रशिक्षण तथा उम्मेदवारको प्रारम्भिक छनोटबारे छलफल गर्न उक्त बैठक डाकिएको थियो । नयाँ शक्ति पार्टीले जनएकता आधारभूत विद्यालय लागिमको प्रांगणमै चैत २४ गते चुनावी कार्यक्रम गर्यो ।
मतदानको दिन नजिकिदै जाँदा राजनीतिक दलले आचारसंहिता उल्लंघन पनि बढाउँदै लगेका छन् । फागुन १८ गते जारी निर्वाचन आचार संहितामा विद्यालय, सरकारी कार्यालय, सार्वजनिक क्षेत्रमा आफूखुसी चुनावी कार्यक्रम नगर्न उल्लेख छ । तर, जिल्लाभर त्यसको अवज्ञा जारी छ । प्रमुख तीन ठूला दलले नै चुनाव प्रचारप्रसारका लागि विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकीसम्म प्रयोग गरिरहेका छन् । उनीहरूले कार्यक्रमअघि जिल्ला निर्वाचन कार्यालयबाट अनुमति लिनसमेत आवश्यक ठानेनन् ।
जिल्ला निर्वाचन अधिकारी कमलमणि देवकोटाले विद्यालय, सरकारी कार्यालय प्रांगण तथा सार्वजनिक क्षेत्रमा चुनावी कार्यक्रम गर्न नपाइने बताउँछन् । तर, दलहरूले आचारसंहिता उल्लंघन हुने गरी निर्वाचन कानुनले वर्जित गरेको स्थानमा कार्यक्रम गरेकोबारे कार्यालयमा कुनै जानकारी नआएको पनि उनले प्रस्ट्याए । ‘कसैले त्यस्ता स्थानमा कार्यक्रम गर्नुपर्यो भनी स्वीकृति लिन आएका पनि छैनन्’, उनले भने ।
निर्वाचन कार्यालयले राजनीतिक दलका चुनाव लक्षित कार्यक्रम र गतिविधि अनुगमन पनि गरेको छैन । निर्वाचन तयारीका अन्य व्यस्तताले गर्दा आचार संहिता उल्लंघनको अनुगमन गर्न नपाइएको जिल्ला निर्वाचन अधिकारी देवकोटाले बताए । ‘आचारसंहिता उल्लंघन भएरनभएको अनुगमन गर्नुपर्ने हो,’ उनले भने, ‘तर, चाहेर पनि व्यस्तताले गर्दा त्यसतर्फ ध्यान पुर्याउन सकिएको छैन ।’
मन्त्रीले नै टेरेनन्
परराष्ट्रमन्त्री प्रकाशशरण महतले नै निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् । उनी शुक्रबार गोरखामा पार्टीको चुनावी कार्यक्रममा सहभागी भएर भाषणै गरे ।
राजधानीबाट हेलिकप्टरमा आएर महत कांग्रेस क्षेत्र नम्बर ३ ले भिमेसन गाउँपालिका९३ स्थित घ्याम्पेसालमा आयोजना गरेको सभामा सहभागी भएका हुन् । उनीसँगै कांग्रेस महामन्त्री शशांक कोइराला र महासमिति सदस्य राजेन्द्र बजगाईं पनि आएका थिए । आमसभालाई सम्बोधन गरेपछि उनीहरूले घ्याम्पेशालस्थित मनकामना पहरे युवा क्लबद्वारा आयोजित सांस्कृतिक कार्यक्रम उद्घाटन गरे । कांग्रेस महामन्त्री कोइराला सांसदसमेत हुन् । कांग्रेस सभामा आउन महासमिति सदस्य तथा व्यवसायी बजगाईले हेलिकप्टर चार्टर गरेको स्रोतले जनाएको छ । उनी घ्याम्पेसाल क्षेत्रकै बासिन्दा समेत हुन् ।
चुनावी कार्यक्रमका लागि कसैले पनि हेलिकप्टर प्रयोग गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ । आचारसंहिता लागू भइसकेकाले गृहमन्त्री र रक्षामन्त्रीसम्मले मात्र हेलिकोप्टर प्रयोग गर्न पाउँछन् । त्यो पनि चुनावी कार्यक्रममा जान नभई शान्तिसुरक्षाका लागि मात्र खुला गरिएको हो । राजनीतिकबाहेकका काममा सहभागी हुन परे आयोगको पूर्वस्वीकृति लिनुपर्ने, सवारीसाधन प्रयोग गर्दा ख्याल गर्नुपर्ने आचारसंहितामा उल्लेख छ । मन्त्रीले राजनीतिक कार्यक्रममा भाषण तथा उद्घाटनसमेत गर्न नपाउने निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए । ‘पार्टीको काममा कसैले पनि हेलिकप्टर प्रयोग गर्न पाइदैन,’ उनले भने, ‘आयोगको अनुमति नलिई त झन पाइँदै९पाइँदैन, मन्त्री हेलिकप्टर चढेर पार्टीको कार्यक्रममा जान आचारसंहिताले दिदैंन ।’ मन्त्री सरकारी कामका लागि जिल्लाको सदरमुकामसम्म मात्र आउन पाउने प्रावधान छ । परराष्ट्रमन्त्री महत भने सदरमुकामबाट करिब ३० किमी पर ग्रामीण बस्तीमा दिनभर चुनावी गतिविधिमा सहभागी भए । पार्टीले क्षेत्र नम्बर ३ मा स्थानीय चुनावलाई लक्षित गरी कार्यक्रम गरेको कार्यवाहक सभापति नन्दप्रसाद न्यौपानेले बताए । तर, उनले कार्यक्रममा निर्वाचन आचारसंहिता उल्लंघन नभएको दाबी गरे । ‘कार्यक्रममा सरकारी स्रोतसाधन प्रयोग भएको छैन,’ उनले भने, ‘पार्टीकै मान्छेको खर्चमा हेलिकप्टर चार्टर गरिएको हो ।’ मन्त्री बिदाका दिन पार्टीका कार्यक्रममा हिड्न पाउने उनको तर्क छ ।
दलबीच तालमेलको चर्चा
प्युठान– एक्लै उठ्दा परिणाम आफ्नो पक्षमा आउने निश्चित नदेखिएपछि दलहरू जिल्लाका केही स्थानीय तहमा एकअर्कासँग तालमेल गर्ने तयारीमा लागेका छन् । कतिपय स्थानमा मुख्य दलबीच नै तालमेल हुने चर्चा बढेको छ ।
स्रोतका अनुसार कांग्रेस र माओवादी केन्द्रबीच भागबन्डा मिलाउन धेरै चरणमा वार्ता भइसकेको छ । कतिपय स्थानमा राजमोसँग तालमेलका लागि सहमतिमा हस्ताक्षर हुने चरणसम्म पुगिसकेको कांग्रेस स्रोतले जनाएको छ । दुई नगरपालिका र ७ गाउँपालिकाका ६४ वडाहरूमा भागबन्डाको कुरा भइरहेको छ । प्यूठान नगरपालिकामा माओवादी केन्द्र र स्वर्गद्वारी नगरपालिकामा नेपाली कांग्रेसको चर्चा छ । वडाका आकांक्षीलाई मिलाई सहमति भए एउटा पार्टीलाई ३ र अर्कोलाई ४ गाउँपालिका बाँड्ने गरी छलफल भइरहेको छ । ३ गाउँपालिका लिनेलाई पछि समन्वय समितिको नेतृत्वमा सघाउने गरी तालमेलको प्रयास भइरहेको स्रोतले जनायो ।
एमाले र राजमोबीच पनि तालमेल हुने सम्भावना रहेको एक नेताले बताए । यस विषयमा दुवै पार्टीका जिल्ला नेतृत्वले बिहीबार र शुक्रबार दुईपटक वार्ता गरिसकेका छन् । राजमोले माओवादी र कांग्रेसले आफूहरूसँग तालमेलमा आए ४ गाउँपालिका दिने प्रस्ताव राखेको कुरा वार्तामा खोलेको एमाले स्रोतले जनाएको छ । एमालेसँग ‘बार्गेनिङ’ मा भने राजमोले जिल्ला समन्य समितिसहित १० तह बनाई ५र५ बाँड्ने प्रस्ताव गरेको छ । एमालेले भने उसलाई ३ गाउँपालिका र एक नगरपालिका दिने गरी सहमति गर्न सकिने आश्वासन दिएको बुझिएको छ ।
एमाले जिल्ला अध्यक्ष तुल्सीराम शर्माले राजमोसँग मिलेर जाने विषयमा दुई चरणमा वार्ता भए पनि निर्णयमा पुग्न नसकिएको जानकारी दिए । उनले उम्मेदारको छनोटको बिषयमा पनि गृहकार्य भैरहेको जनाए । कांग्रेस जिल्ला सचिव देवेन्द्र बर्माले तालमेलको कुरा भइरहे पनि टुंगोमा पुगिनसकिएको बताए । ‘कार्यकर्तालार्य कार्यक्षेत्रमा प्रचारप्रचारमा जुट्न निर्देशन दिएका छौं,’ उनले भने ।
बल्ल उम्मेदवार छान्न तयारी
डोटी९ मुख्य प्रतिस्पर्धी एमालेले सम्भावित उम्मेदवारलाई मतदाता तहसम्म खटाइसक्दा कांग्रेस भने बल्ल उम्मेदवार छान्ने तयारी जुटेको छ । कांग्रेसले शनिबार पार्टी कार्यालयमा आकांक्षी भेला गरी अन्तरक्रिया गरेको छ । दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकामा उठ्ने आकांक्षा देखाएकाहरूले कार्यसमितिसंग आफ्ना धारणा र दाबी गर्नुपर्ने कारणहरू खुलाएका छन् । मेयर पदमा मात्रै दिपायल सिलगढी नगरपालिकामा १४ जना आकांक्षी देखिएका छन् । पार्टीले उनीहरूका धारणा बुझ्ने, आकांक्षिबिच सहमति जुटाउने, अन्य पद र जिम्मेवारी दिनेजस्ता सर्त राखेर मनाउने प्रयास गरिरहेको छ । ‘मेयर र उप९मेयर आकांक्षीका धारणा बुझ्यौ, कसैले पनि आफ्ना कुरा राख्न पाएन भनेर गुनासो नपोखुन् भनेर औपचारिक रुपमा सुरु गरेका हौं’ कांग्रस जिल्ला सभापति प्रदिप देउवाले भने, ‘केही दिनभित्रै जनप्रिय, लोकप्रिय र कार्यकर्ता रिझाउन सक्ने व्यक्ति टुंगो लगाउने छौं ।’
जिल्ला तहका नेताहरू एकचरणमा गाउमा भेटघाट कार्यक्रम गरेपछि उम्मेदवार छनोटमा केन्द्रित भएका हुन् । अहिले सबैजसो आकांक्षी घरदैलो र कार्यकर्ता भेटघाटमा एकमत भएर खटिए पनि टिकट वितरणपछि यस्तै वातावरण हुनेमा आशंका रहेकाले उम्मेदवार छनोट ढिलाइ गरेको स्रोतले जनायो । सहमतिका आधारमा केही गाउपालिकामा वडाअध्यक्षको टुंगो लागिसके पनि अरूको भने बाकी छ । एमालेले मतदान तथा सर्वसम्मतिबाट आकांक्षीको भिड व्यवस्थापन गर्दै प्रदेश कमिटिमा सिफारिस गरिसकेको छ । राष्ट्रिय जनमोर्चाले पनि गाउपालिका र नगरपालिकाका उम्मेदवार टुंगो लगाइसकेको छ ।
५६३ शिक्षक खटिने
दमक९ स्थानीय तह चुनावका लागि झापामा ५ सय ६३ शिक्षक खटिने भएका छन् । मतदाता शिक्षा कार्यक्रमका लागि उक्त संख्यामा शिक्षक तथा ९२ सामाजिक परिचालकलाई खटाउने तयारी गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यका अनुसार चुनावमा खटिने शिक्षकहरूलाई दुई चरणमा गरी तालिम दिने काम भइरहेको छ । जिल्लाका ८ नगरपालिका र ७ गाउँपालिकाका मतदाताहरूमा चुनावको जागरण ल्याउन तथा बदर मत संख्या घटाउन मतदाता शिक्षा कार्यक्रम सुरु गर्न लागेको आचार्यले बताए । मतदाता शिक्षा स्वयंसेवक शिक्षकहरूलाई पहिलो चरणमा चैत ३० र ३१ गते चन्द्रगढीमा तालिम दिइएको छ । दोस्रो चरणमा वैशाख २ र ३ गते बिर्तामोडमा तालिम सञ्चालन गरिनेछ ।पहिलो चरणमा तालिम लिएका स्वयंसेवक र निर्वाचन शिक्षा कार्यकर्ताहरू वैशाख २ देखि मतदाताको घर९घरमा खटिएका छन् । ३ गते तालिम सकिनेहरू वैशाख ४ देखि मतदातामाझ खटिनेछन् ।



