खुसी हुन बहाना खोजौँ

विपुला श्रेष्ठ
मनोपरामर्शदाता,
होलिस्टिक माइन्ड्स
दैनिक जीवनयापनका क्रममा मनमा राम्रा तथा नराम्रा विचार आउनु स्वाभाविक हो । आफ्नो मनमा आएको विचारअनुसार नै जोकोहीले पनि भावना व्यक्त गर्ने या व्यवहार प्रस्तुत गर्ने गर्छन् । त्यसैले कस्तो वातावरण वा कस्तो अवस्था हो, त्यसको विश्लेषण गरेर मात्र व्यवहार गर्दा फाइदाजनक हुन्छ । विचारलाई राम्रोसँग निरीक्षण गर्दै व्यवहारमा उतार्नुपर्छ ।
परिवेश र वातावरणअनुसार सोच्ने तरिका फरक–फरक हुन्छ । त्यही सोचाइअनुसार नै जिउने बानीको विकास हुन्छ । त्यसैले सकेसम्म सकारात्मक मात्र सोच्ने बानी बसाल्नुुपर्छ । नकारात्मक सोचाइ आइहालेमा पनि तुरुन्त सकारात्मक शब्दले भर्ने बानीको विकास गर्न सकिन्छ । किनकि, हामी एउटै सोच जति दोहोर्याउँछौँ, त्यो त्यति नै गहिरो रूपमा हाम्रो मस्तिष्कमा बस्छ ।
हिजोआज प्रेमका नाममा धेरै पीडा पाएको पनि सुन्न पाइन्छ । हामीले प्रेम सबैभन्दा पहिला आफैँलाई गर्नुपर्छ । यसोभन्दा स्वार्थीजस्तो पनि लाग्न सक्छ । तर, जसले आफूलाई प्रेम गर्दैन, उसले अरूलाई पनि प्रेम गर्न सक्दैन । त्यसैले त हाम्रो चाहनाअनुसारको परिणाम नआउँदा दुःखी हुन्छौँ । आफूलाई नगरी अरूलाई गरेको प्रेममा स्वार्थ मिसिएको हुन्छ । हामी अनेक बहानामा दुःखी भइरहन्छौँ । यस्तो बानीले हरेक सकारात्मक कुरामा पनि नकारात्मकपन देख्न सक्छौँ । त्यसैले हरेक वातावरण तथा परिस्थितिमा पनि खुसी हुने मौका खोज्नुपर्छ, खुसी हुने बानी बसाल्नुपर्छ । सुरुसुरुमा अभिनय नै किन नहोस्, खुसी हुने गर्नुपर्छ । पछि यो नै बानीमा परिवर्तन हुन्छ । त्यसपछि हामी कुनै पनि अवस्थामा सहज रूपमा खुसी हुन सक्छौँ । कसैले गल्ती गरेको थाहा पाउनासाथ उसलाई नकारात्मक रूपमा हेरिहाल्छौँ । हामीले उक्त व्यक्तिलाई क्षमा दिन पनि सक्नुपर्छ ।
आफ्ना लागि गरिएका सानाभन्दा साना कामका लागि पनि धन्यवाद दिन जान्नुपर्छ । सानो कुरालाई बेवास्ता गर्ने धेरैको बानी हुन्छ । यस्तो बानीले पनि सकारात्मक ऊर्जा नै दिइरहेको हुन्छ । हरेक कुरामा कृतज्ञता प्रकट गर्ने बानी गरौँ, चाहे सकारात्मक होस् या थोरै नकारात्मक ।
नियमित योग र ध्यानले शरीर, मन, भावनामा भएको नकारात्मक ऊर्जाहरू हटेर सकारात्मक ऊर्जा बढ्न थाल्छ । जीवनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन थाल्छ । हरेक जीवनको उतारचढावलाई राम्रोसँग सामना गर्ने शक्ति बढ्छ ।








