नाकबाट रगत बहने कारण समाधानका उपाय

प्रा डा लालकिशोर यादव नाक, कान, घाँटीरोग विशेषज्ञ
मानिसको नाकबाट कहिलेकाहीँ एक्कासि रगत बग्न थाल्छ । यसरी नाकबाट रगत आउनुका विभिन्न कारण हुन सक्छन् । गर्मी समयमा तातोपनाका कारण नाकमा रहेका रक्तनलीहरू फुल्छन् । यसरी कतिपय साना नलीहरू आफैँ फुट्न पुग्दा सोही स्थानबाट रगत आउँछ । सो रगत नाक हुँदै बाहिर निस्कन्छ ।
त्यसैगरी, कुनै पनि चिजले नाकमा ठोक्किएर चोटपटक लाग्यो भने पनि नाकबाट रगत आउँछ । रुघाखोकीलगायत अन्य रोगको संक्रमण भई घाउ हुँदा पनि रगत आउन सक्छ ।
नाकमा ट्युमर मासु पलाउने भएमा पनि नाकबाट रगत आउँछ । रगतमा हुनुपर्ने प्लेटलेटको कमी हँदा, रगत जम्न नदिने औषधि सेवन गरिरहेको अवस्थामा पनि नाकबाट रगत बहन सक्छ । त्यस्तै, रक्तजन्य रोगहरू हुँदा, होमोफेलिया भएको व्यक्ति, कलेजोको रोग भएका व्यक्तिको पनि नाकबाट बारम्बार रगत आउने हुन्छ । मिर्गौलामा समस्या भएकाहरूमा पनि नाकबाट रगत जाने समस्या हुन्छ ।
रोकथाम ,उपचार
नाकबाट रगत बहँदा तुरुन्तै गर्न सकिने उपचार भनेको बुढीऔँला र अर्को औँलाले बेस्सरी नाकलाई च्याप्ने हो । यसरी औँलाले नाक च्यापेर १० मिनेटसम्म अगाडिपट्टि निहुरिएर बस्नुपर्छ ।
नाक समातेर रगत रोक्ने प्रयास गर्दा मुखबाट श्वास फेर्नुपर्छ ।
यदि १० मिनेटसम्म थिच्दा पनि रगत आउन नछोडे तत्काल नजिकको स्वास्थ्य संस्थामा गई परीक्षण गराउनुपर्छ ।
नाकको अगाडिको भागमा नसा फुटेर रगत आएको समस्या औषधिबाट नै ठीक हुन्छ । तर, पछाडिपट्टि समस्या ए एक प्रकारको चक्कीले प्रेसर दिएर रगत रोकिन्छ ।
रगत आएका वेला नोजल ड्रप प्रयोग गर्नु उचित हुँदैन । यस्तो ड्रपले तत्काललाई नसा खुम्च्याएर रगत बन्द गरे पनि केही समयमा नै पुनः रगत आउन सक्छ ।
एकपटक नाकबाट रगत आइसकेको छ भने त्यस्ता व्यक्तिले घाममा निस्कँदा होस पुर्याउनुपर्छ ।
केटाकेटीलाई धेरै गर्मीमा खेल्न दिनु हुँदैन । केटाकेटीहरू घाममा धेरै खेल्दा र दौड“दा तापक्रम बढी भएर नाकमा रहेका रक्तनली फुट्ने सम्भावना बढी हुन्छ ।
रुघाखोकीले नाकमा संक्रमण गराउने हुँदा ख्याल गर्नुपर्छ ।








